+
+

पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १९:०२

२५ पुस, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।

उनीबाट १६ लाख ६९ हजार रुपैंयाँ विगो र त्यति नै जरिवाना समेत भराउन पनि विदेश अदालतले आदेश दिएको छ । विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्र प्रसाद पनेरुलाई पनि शाहलाई बराबर कैद, बिगो र जरिवानाको फैसला गरेको छ । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ ।

उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।

अख्तियारले २० फागुन २०७६ मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्र प्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

२०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको भर्ना खोलिएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाउँबाट तलब भत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

२०४६ माघमा प्रहरी सेवामा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?