
२५ पुस, विराटनगर । बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको आरोपमा प्रहरीले जहदा-१ का २० वर्षीय अभिषेक यादव,१९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो ।
जहदा-१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।
सुरुमा प्रहरीले अभिषेकलाई नियन्त्रणमा लिएको थियो । प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालकलाई विराटनगर–१८ बाट सकुशल उद्धार गरेको छ । डीएसपी दाहालका अनुसार जहदा-१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए ।
विद्यालयबाट आएर घरनजिकको मन्दिरमा साथीहरुसँग खेलिरहेका बेला अपहरण गरेर लगिएको उनले बताए । दाहालका अनुसार स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ भनेर ३ जना युवाहरुले ललाईफकाई साइकलमा राखेर लगेको पाइएको छ ।
भाथीगछ-हरिनगराको गुरुङ टोलमा पुर्याएपछि साइकलदेखि ओरालेर मोटरसाइकलमा राखी विभिन्न स्थान हुँदै बालकलाई विराटनगर महानगरपालिका-१५ स्थित खाकीबाबा मन्दिर नजिकको घरमा लगेर राख्न खोजेको देखिएको प्रहरीले बताएको छ । सो घरबाट कहाँ लैजान्ने भन्ने अपहरणकारीबीच नै विवाद देखिएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
बालकका बुवा एवं जहदा-१ का वडाध्यक्ष बाबुरामले छोराको अपहरणमा संलग्नलाई कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् ।
बालकलाई भारत पुर्याएर बन्धक बनाउने र फिरौती लिने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । अपहरणको मुख्य योजनाकार नै भारतीय नागरिक हुन सक्ने आशंका प्रहरीको छ ।
प्रतिक्रिया 4