+
+
ब्लग :

रास्वपामा नमिलेको नीति र नियत

एकातिर सदस्यता र नेतृत्वमा मापदण्ड नबनाउने अर्कोतिर कर्मचारी नियुक्ति गरे झैं अनुशासन आयोगको नियुक्ति गर्ने हो भने घात, अन्तर्घात, गुट, फुट सबैखाले अनुशासनहीनताले अरुमा भन्दा बढी दण्डहीनता बढाउँछ र त्यही नै पछि सरकार सञ्चालनमा प्रतिबिम्बित हुनेछ। 

शम्भु सुस्केरा शम्भु सुस्केरा
२०८० पुष २६ गते १४:०२

झापा शिवसताक्षीको एक गाउँबाट ७९ वर्षीय बुवाले मलाई भेट्न बोलाउनुभयो। भेटमा उहाँले भन्नुभयो, ‘म आफूले जान्दादेखि एउटै दलको राजनीति गरेथें, आज यो उमेरमा आएर पार्टी परिवर्तन गर्न खोज्दैछु। एकातिर पीडा छ; अर्कोतिर उत्साह र भरोसा, तिमीहरूले मेरो उत्साह र भरोसा तोड्न पाउँदैनौ!’

उहाँका कुराले भावुक मात्रै बनाएन, डर पनि थप्यो कि कुनै दिन उहाँको यो उत्साह र भरोसा नतोडियोस्।

त्यही गाउँमा आफन्तको घरमा पुराणमा गएको थिएँ। एकजना छिमेकी बुवाले आफ्नो घरमा लिएर जानुभयो र भन्नुभयो, ‘म अहिल्यै आफ्नो पार्टी छाडेर तपाईंहरुकोमा आउँदिनँ तर केही कुरा गर्न खोजेको हुँ।’ उहाँको कुरा चासोपूर्वक सुनें।

तपाईं पनि थाहा पाउनुहोला रविलाई पनि भन्नुहोला हरेक नयाँ पार्टीमा तीन थरी मान्छे छिर्छन्। तपाईंहरुकोमा पनि त्यसैगरी मान्छे छिरेको देखेर भन्दैछु। मान्छे सच्चा कि कच्चा हो चिनेनौ भने फेरि देश र जनताले धोका खानेछ।

पहिलो थरीनेता र पार्टीमाथि विश्वास गरेरमन पराएर आफूले पनि देशका लागि केही गर्न सकियोस् भनेर छिर्छन्।

दोस्रो थरीनयाँ पार्टीमा पद पाइन्छ र छिटै माथि पुगिन्छचुनावमा टिकट पाइन्छ र जितेपछि मोज गरिन्छ भनेर छिर्छन्।

तेस्रो थरीअरुको इशारामा छिर्छन्सबै अवसर आफूले लिन्छन्अवसर पाए पनि नपाए पनि गुट र लुटको रणनीतिले पार्टी र देशलाई तलदेखि माथिसम्म चिरा पार्छन्असल मानिसलाई माथि उठ्न दिंदैनन्। पहिलो थरीले अवसर सिर्जना गर्छन् भने यिनले अवसर छोप्ने काम गर्छन्।

२०४७ सालदेखिको राजनीतिक इतिहास हेरेकै होला। पञ्चहरु कता छिरे र के गरेत्यसपछि माओवादीको हालत हेरलडाइँका बेला आफ्नै भन्नेले धोका दिएर कति ठाउँमा क्षति गराए। उसबेला रगत बगाएकाहरु विदेशीको मजदुरीमा छन्। नेताका छोरा–नाति र शान्ति प्रक्रियापछि छिरेकाहरु भ्रष्टाचारले डुङडुङ्ती गन्हाउँदै मोज गरिरहेका छन्। यिनले पार्टीलाई गुट र समूहमा चिरा पारेर सरकारलाई समेत कमजोर बनाइरहेका छन् उहाँले उदाहरण पेश गर्नुभयो।

हुन पनि राजनीतिको विकृत मलिलोमा जन्मेको रास्वपा सुन्दर फूल हो। यसले वासना मात्र फैलाउँदैन फूलको रसबाट मह उत्पादन गर्छ र सबै नेपालीलाई चटाउँछ। परागसेचन गर्छ र उस्तै वासनादार सांगठनिक फूलबारी बनाउँछ र नेतृत्वका फूलहरु देशभरि फुलाउँछ। यत्ति हो पार्टी स्थापनाको आवश्यकता, उद्देश्य र जनअपेक्षा।

त्यो उद्देश्य, आवश्यकता र जनअपेक्षा अनुसार संगठन निर्माणको दिशामा पार्टी गएको छ त ? भोलिको जवाफ निर्माण गर्ने आजको मूल प्रश्न यत्ति हो।

यतिखेर रास्वपाको वडा अधिवेशन चलिरहेको छ। ढल नमिसिएको सङ्लो राजनीतिक जल निर्माण गर्ने हो भने बुवाका अनुभवी कुरा नै मूलमन्त्र हुनुपर्छ।

चाहना गर्ने सबैलाई समेटेर पार्टी निर्माण गर्न खोज्नु आफैंमा पवित्र नियत हो। तर नैतिकता र इमानदारीको लक्ष्मणरेखा खडा गर्ने नीति नबनाई परम्परागत राजनीतिकै लिकमा हिंड्दा आजसम्म अरु जहाँ पुगे त्यहीं मात्र पुगिन्छ।

गन्तव्य फेर्ने हो भने नियत राम्रो भएर मात्र पुग्दैन स्पष्ट र इतिहासका गल्तीबाट सिक्न सक्ने कठोर नीति लिनुपर्छ। नत्र अर्को युग खेर जानेछ।

मंसिर २, ३ र ४ गतेको घरदैलो कार्यक्रमले केही सिक्ने र सोच्ने अवसर दिएको छ। अबको विकल्प घण्टी, र घण्टीका सारथि रवि हो भनेर जुन व्यक्तिले चुनावका बेला गर्वका साथ भनेका थिए तिनैले आज असन्तुष्टि पोखेका छन्– अरुतिरका अवसरवादी र भ्रष्टहरुले पार्टी भरेपछि, टिकट पाउने तिनै, चुनाव जित्ने तिनै, अनि के गर्छ एक्लो नेताले ?

कन्काई नगरपालिकाका मतदाताले घण्टीलाई अग्रता दिलाएर ३२ वर्षे इतिहास भत्काउँदै नयाँ इतिहास रचेका थिए। शिवसताक्षी नगर र गौरादहको ९ नं. वडाले सम्मानजनक मत दिए। तर झापा गाउँपालिकाको मनोविज्ञान फरक भइदिंदा झापा ४ को निर्वाचनमा पछि परियो।

चुनावपछि संगठन निर्माणका लागि त्यहाँ पुग्दा केही स्थानीय युवाले गुनासो गरे— दाइ ! जोसँग हामी आजित छौं तिनै पुरानालाई साथ लिएर हिंड्नुभएको छ। तपाईंहरुलाई कसरी विश्वास गर्ने ?

मान्छे पुरानो कि नयाँ भन्दा पनि असल कि खराब ? हेरौं। र असल मान्छेहरु रमिते मात्रै बन्यौं भने खराबहरु अघि सर्छन् नै। तसर्थ एकजना खराबलाई रोक्न तपाईं पनि राजनीतिमा आउनुपर्छ। मेरो कुरालाई गम्भीरतापूर्वक लिएका उनी अहिले रास्वपामा सक्रिय छन्।

वडा अधिवेशनको छलफलका क्रममा कन्काईका एकजना मित्रले खुसुक्क सुनाए- चुनावताका तिमीलाई भोट माग्न जाँदा रवि धोका हो भाइ, तिनलाई भोट हाल्नुभन्दा त फलानोको पछि हिंडिन्छ, गोजी तताउन त पाइन्छ भन्ने मान्छे अहिले त रास्वपाबाट वडाध्यक्षको उम्मेदवार हुँ भन्छन् त के हो कुरो ?

ती बुवाहरु र तन्नेरीहरु सबैको चिन्ता एउटै छ। फेरि पनि उनै र उस्तै प्रवृत्ति हावी भयो भने अझै देश नबन्ने पो हो कि !

कुनै पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिहरुबाट मात्रै वडा तहसम्म पार्टी विस्तार नहुन सक्छ। वरपर लम्किनैपर्ला। तर साँच्चै विकल्प बन्छु भनेर आएको दलले संगठन निर्माण गर्दा परम्परागत शैली त्यागेर नयाँ प्रयोग गर्न अलमलियो भने गन्तव्य पनि अल्मलिने निश्चित छ।

ढिलो जन्मिनु र नेता तन्नेरी हुनु मात्रै नयाँ र विकल्प होइन। विश्वासको आधार पनि चाहिन्छ। रावण आफैंमा अधिक शक्तिशाली भएर पनि आफ्नै भाइको साथ नपाएर पराजित भए। नेपाली राजनीतिको वर्तमान हेर्ने हो भने पनि गिरिजाप्रसाद कोइरालाले देउवा, ओलीले माधव र प्रचण्डले विप्लवहरुलाई विभीषण बन्न बाध्य पारे।

यो सत्यबाट सिकौं पार्टी स्थापनाताका कुनै सम्भावना नहुँदा पनि अरुको खिसिटिउरी र धम्की सहँदै, घण्टी बजाउँदै पार्टी चिनाउँदै चुनावमा होमिएका उम्मेदवार र अगुवाहरू अनि रास्वपालाई मतदान गर्नेहरू रास्वपाको मूल खाँबो हुन्।

अभाव र संकटमा निस्वार्थ साथ दिनेहरू कहिल्यै बेइमान हुनसक्दैनन्। दाजुको धाप नपाए विभीषण बन्ने सम्भावना सदैव रहन्छ। बरु तिनकै अगुवाइमा झिंगा र माहुरी चरित्र पहिचान गर्न सक्ने निश्चित मापदण्डको अधीनमा रही संगठन विस्तार गर्नु नै विश्वासको मुख्य आधार हो।

राजनीतिलाई फोहोरी खेल ठानेर राजनीतिबाट टाढा रहेका युवा, नैतिकता र इमानदारीपूर्वक जुनसुकै सरकारी सेवाबाट निवृत्त सेना, प्रहरी, कर्मचारी वा शिक्षकलाई प्लान ए अन्तर्गत समेट्नुपर्छ।

प्लान बीमा आफू आबद्ध दलबाट भरोसा टुटेर निष्क्रिय रहेका अरु दलका नेता वा कार्यकर्तालाई राख्नुपर्छ। र, प्लान सीमा अन्य दलमा रहेर नैतिकताको राजनीति गरिरहेका तर अवसर नपाएका इमानदार नेता वा कार्यकर्तालाई समेट्नुपर्छ। तर यी तीन तहका माहुरीहरूभन्दा पहिल्यै झिंगाहरु छिर्छन् र माहुरीहरुका लागि ढोका बन्द गर्छन् भन्ने रास्वपाले ध्यान दिएको छैन।

तसर्थ साधु र चोरलाई एकै चश्माले हेर्ने, व्यक्तिको आचरणगत मूल्याङ्कन नगर्ने हो भने नैतिकताको कठिन बाटो किन हिंड्छ मान्छे ? यो कुरा सोच्न फेरि अर्को पात्रको खोजी नहोस्। सरकारी वा अन्य सार्वजनिक सेवामा रहँदा राज्य र नागरिकलाई दोहन मात्रै गरिरहेको थियो कि ? दोहन नगरे पनि आफ्नो पदीय जिम्मेवारीमा खरो उत्रिन नसकेको वा कामचोर थियो कि ? अरु पार्टीमा रहनेहरुको स्वभाव र आचरण कस्तो थियो ? चाकडी, चाप्लुसीलाई संस्कार बनाएर अवसर लिनेवाला हो कि ? कर्ममा विश्वास गरेर पार्टीप्रति इमानदार र बफादार थियो ?

जनप्रतिनिधि भएको भए उसको कार्यसम्पादन, आर्थिक र नैतिक अनुशासन, नागरिकलाई गर्ने न्यायमा निष्पक्षता कति थियो ? यत्ति अध्ययन नगरी उसलाई देश निर्माणको महान् जिम्मेवारी दिंदा सबैभन्दा बढी भ्रष्ट भोलिको स्थानीय तह हुनेछ।

यस्तो दावी गर्ने आधार के हो भने राजनीतिमा आउनु नै व्यक्तिगत स्वार्थका लागि हो। अलिअलि जालझेल, छलछाम, अनैतिकता प्रदर्शन सामान्य हो पचाउनुपर्छ, मह काढ्नेले हात चाट्छ, भन्ने संस्कार व्याप्त छ।

पार्टी र नेतालाई अनुसरण गर्नु भनेको कुनै दिन केवल आफ्नो हितमा काम गराउनु हो भन्ने कुसंस्कार बलियो गरी निर्माण भएका छन् गाउँघरमा। नयाँ पार्टीमा व्यक्तिसँगै यिनै कुरीति भित्रिन थालेका छन्। यसलाई नभत्काएसम्म देशले चाहेको परिवर्तन सम्भव होला ?

व्यक्तिभित्रका यी कुविचार भत्काउन वा नयाँ विचारलाई समेट्नु कुन सहज हुन्छ ? छनोट गरेर व्यक्तिको चरित्र, क्षमता र व्यक्तित्व निर्माणलाई प्राथमिकतामा राखी तिनैलाई पार्टी र देशको जिम्मेवारी नदिने हो भने हात्ती आयो हात्ती आयो फुस्सा शिवाय अरु केही हुन्छ भने पुरानै हुन्छ, नयाँ हुँदैन।

संगठन निर्माणको एकवर्षे निरन्तरताले निकै सिकाएको छ। पार्टी स्थापनादेखि नै जोडिएका शुभेक्छुक तथा मतादाता, २०७९ को चुनावपछि जोडिएका, उपनिर्वाचनको परिणामपछि जोडिएका, रास्वपामा जाउँ कि नजाउँ दोधारमा रहेका, समय, सम्भावना र पार्टीको दस्तावेजको पर्खाइमा बसेकाहरू सबैको सामान्य मनोविज्ञान पढ्न सकिएको छ।

अनुकरणीय चरित्रको पार्टी निर्माण गर्ने हो भने अरु पार्टीको अध्ययन गरौं, कस्तो सोच, स्वभाव, शैली र चरित्रका मान्छेहरू भ्रष्टाचारमा लिप्त भए, कस्ताहरुले पार्टी फुटाउन योगदान गरे, देश र जनताका पक्षमा निर्णय गर्न कस्ता मनिस बाधक भएका हुन्।

व्यवस्था बदलिने बित्तिकै टाँसिन आउनेहरू, पार्टी चलाउन दान दिनेहरू, आफ्नो दलले टिकट नदिएकै झोंकमा बदलिनेहरु, आफ्नो दलप्रतिको विश्वास र भरोसा टुटेर अन्यत्र जानेहरू वा विद्यार्थी कालदेखि एउटै दलमा रहेर राजनीति गरेकाहरू ? कोचाहिं बढी गैरजिम्मेवारी र बेइमान भए ?

जुन पात्र र प्रवृत्तिका विरुद्ध नयाँ पार्टी बन्यो, मिहिन ढंगले अध्ययन नगरी तिनै र त्यस्तैको झुण्ड तयार पारेर मिसन–८४ को गन्तव्य भेट्न सकिंदैन। अरुको गल्तीबाट सिकौं, आफ्नै गल्तीबाट सिक्न सकिन्न ढिलो भइसकेको हुनेछ।

सुनसरी जिल्ला बस्ने मेरो एक जना बहिनीले भनिन्- दाइ फलानो मान्छे पनि तपाईंहरुको पार्टीमा आएछ त! त्यो मान्छे हाम्रो पार्टीमा आउनुहुँदैन र ? मैले प्रतिक्रिया दिएँ।

भ्रष्टाचारको जरो उखेल्न सबैभन्दा बढी भ्रष्ट मान्छे चाहिने हो दाइ ? उसले खिसीभावमा प्रतिप्रश्न गरी।

उसको तर्क स्वाभाविक थियो- त्यो व्यक्तिलाई घु; खुवाएका र उसँग एकै कार्यालयमा भ्रष्टाचारको लाचार रमिते बनेर काम गरेकाहरुले के सोचिरहेका होलान् ? कुनैदिन त्यही घुसखोर आफैं उम्मेदवार बन्यो वा उम्मेदवारको अघिपछि चुरीफुरी गरेको देख्दा मतदाताले आँखा चिम्लेलान् कि विवेकको बिर्को उघार्लान् ?

पार्टीका संस्थापकहरु नेतृत्व उत्पादनका जननी हुन्। पात्र र प्रवृत्ति पहिचान गरेर संगठन निर्माण गर्न सकिएन भने थप तोसिमा र सोविताहरू जन्मिने छैनन्, बरु संस्कारी राजनीति र नेतृत्वको भ्रूण तुहिनेछ।

शिक्षक र कर्मचारीलाई सदस्यता नदिऔं, भ्रातृ संगठन नबनाऔं, सानो र छरितो समिति बनाउँ, कार्यकर्ता होइन मतदातामा आधारित पार्टी बनाऔं, स्वास्थ्य, शिक्षा लगायत सामाजिक संघसंस्थामा राजनीति नगरौं, दश वर्ष कुनै दलमा नलागेको स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाऔं। पार्टीका यी सुन्दर प्रयोगलाई पार्टीका विभिन्न तहका नेता र सदस्यहरुले स्वीकार गरेको देखिंदैन।

पार्टी, नेता र त्यसको चुनाव चिह्न नयाँ भएर मात्रै हुन्छ ? वा आफ्नो सोच र शैलीमा परिवर्तन चाहिन्छ ? जसरी उत्पादन, उपभोग र बजार बीचमा बिचौलियाको प्रवेशले तीनवटै पक्षलाई ध्वस्त पारिरहेको हुन्छ त्यसैगरी राजनीतिमा कार्यकर्ता नामका विभिन्न तहका बिचौलियाले राजनीति, जनता र विकासलाई ध्वस्त बनाएर आफूले मात्र लाभ हासिल गरिरहेको हुन्छ। यही कारण रास्वपाले भनेको हो, ‘नो क्याडर बेस्ड गो मास बेस्ड।’

जब कसैलाई विचार र नेतृत्व दुवै वा कुनै एक मन पर्दैन भने अनेकता निश्चित छ। फरक मत हुनु, कर्म फरक हुनु हो, कर्म फरक हुनु नतिजा फरक हुनु हो। नतिजा फरक दिनेहरू एउटै गन्तव्यमा पुग्न सक्दैनन्। यहींबाट सुरु हुने होइन र गुट र समूह ? यसैबाट थाकेको होइन र देश ? यसरी त फेरि देशलाई धोका हुँदैन र ?

आफूसँग लामो राजनीतिक अनुभव भएको त्यही अनुभवलाई अनुसरण गरिदिउन् भन्ने भ्रमले गाँजिरहेको देखिन्छ धेरैलाई। त्यो राजनीतिक अनुभव असफल भएकाले नयाँ दल आएको हो र म त्यो दलको सदस्य वा नेता भइसकें भन्नेसम्म हेक्का रहेको देखिंदैन कतिपयमा।

प्रशिक्षणले यस्ता भ्रमलाई परिवर्तन ल्याउन सक्छ। गहन प्रशिक्षण गराएर मात्र सदस्यता र जिम्मेवारी दिनुपर्दछ।

जुन स्कुल, कलेजले विद्यार्थी भर्ना लिनु अघि कडाइका साथ इन्ट्रान्स परीक्षा लिन्छ त्यहीं नै विद्यार्थीको भिड र अभिभावकको लगानी खनिन्छ।

त्यसैगरी पार्टीको सदस्यता र नेतृत्व दिनका लागि बनाएको मापदण्डले मानिसमा विश्वास र रुचि बढ्छ। संगठन निर्माणमा मापदण्ड बाधा बन्छ कि भन्ने मनोवैज्ञानिक त्रास लिनु भूल हो।

माओवादीले बगाएको रगतको खोलो खेलाँची थियो ? गरिब नेपालीका सपना आज किन त्यही रगतसँगै बगिरहेका छन् ? उसबेला लागेको घाउ किन चहराइरहेको छ अझै ? किन पुछिएको छैन दुई दशकअघिका विभिन्न रङका आँसुहरु ?!

चुनावमा भोटको भाउ मोलतोल गरी खाइजीविका गर्नेहरुको भीड जम्मा गरेर अधोगति हुनेहरुको सिको गर्दा उनीहरु जस्तै नै बन्ने हो। सुन्दर बनिएछ भने पनि मजदुर किसान पार्टी बनिएला। देश बनाउने हैसियतमा पुगिंदैन। यसर्थ जतिसुकै राजनीतिक अपराध गरे पनि संरक्षण पाइन्छ, नभए अर्को दलमा गइन्छ भन्ने मानसिकतालाई निर्ममतापूर्वक बहिष्कार गर्नुपर्छ।

समग्र राष्ट्रिय राजनीति नसुधारी कुनै एकदल पवित्र बन्न सक्दैन भन्ने उदाहरण छताछुल्ल छ। राजनीतिलाई फोहोरी खेलको परिभाषा बनाउनेहरुलाई वडादेखि केन्द्रसम्म ‘अरू दलले त्याग्ने रास्वपाले छेक्ने’ गर्नसके त्यस्ता प्रवृत्तिहरू या त सुध्रिन्छन् या पलायन हुन्छन्। नत्र असल बिलाउने, फटाहा मौलाउने दोहोरिइरहन्छ।

आफूलाई अवसर र सम्पत्तिमा बेच्नेहरूले भनिरहेका छन् असल र खराब कसरी मापन गर्ने ? राजनीतिक दलमा जसले पनि प्रवेश पाउनुपर्छ। हामी पनि तिनकै कुरा मानिरहेका छौं।

मानिसको चरित्र पहिचान गर्न गहिरो अनुसन्धानको आवश्यक पर्दैन। एउटै चुनावपछि आफ्नो छिमेकीको बारेमा हरेकले जानिसक्छ।

आफूले काम नगर्नु र अरुलाई काम गर्न नदिनु अवसरवादी र राजनीतिक अपराधीहरुको मूल चरित्र हो। हरहालतमा पार्टीलाई अनुशासित र नैतिकवान् बनाउन सदस्य वा पदाधिकारीलाई निलम्बन र निष्काशनको अधिकार सहित पालिकास्तरसम्म एउटा अनुशासन समिति चाहिन्छ।

यस्तो समिति वा आयोग बनाउँदा पार्टीको भावना बुझेको, पार्टीमा योगदान गरेको वा गर्न चाहने, उच्च नैतिक आचरण भएको, निष्पक्ष, निडर, तार्किक व्यक्तिबारे गहिरो सामाजिक सर्वेक्षण गरेर मात्र चयन गर्नुपर्छ। बरु सम्भावित आग्रह र पूर्वाग्रहलाई नियमन गर्ने पुनरावेदनको भरपर्दो व्यवस्था गर्नुपर्छ।

तर रिटायर्ड कर्मचारी, अधिवक्ता वा अनुभवी मात्र खोजेर प्राइभेट सुरक्षाकर्मी नियुक्त गरेझैं पार्टीको न्याय विभागलाई हल्का ढंगले लिने हो भने संगठनको शुद्धता कायम हुँदैन। कुनै पनि सेवामा रहेर वा नरहेर जीवनभर गल्तीलाई संस्कार बनाएको मानिसले सबैलाई आफैं जस्तो देख्छ। अरुको गल्तीमा कठोर र निष्पक्ष निर्णय गर्न सक्दैन।

एकातिर सदस्यता र नेतृत्वमा मापदण्ड नबनाउने अर्कोतिर कर्मचारी नियुक्ति गरे झैं अनुशासन आयोगको नियुक्ति गर्ने हो भने घात, अन्तर्घात, गुट, फुट सबैखाले अनुशासनहीनताले अरुमा भन्दा बढी दण्डहीनता बढाउँछ र त्यही नै पछि सरकार सञ्चालनमा प्रतिबिम्बित हुनेछ।

लेखक राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?