
७ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा करिब १० प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६८ करोड ९९ लाख ८३ हजार रुपैयाँ छ । गत वर्षको यस अवधिमा बैंकको यस्तो नाफा ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ थियो ।
बैंकको संभावित लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफा घटेको देखिन्छ । गत वर्षको दोस्रो त्रैमाससम्म इम्पेरिमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ । बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी १ अर्ब ३२ करोड रुपैयाँ थियो ।
त्यस्तै बैंकको फी, कमिसन आम्दानी भने घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी १ करोड १५ लाख रुपैयाँ रहेकोमा अहिले सो अवधिमा ५६ लाख रुपैयाँमा झरेको छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा छ । एक वर्षको अवधिमा बैंकको कोष लागत ६.६८ बाट बढेर ७.६५ प्रतिशत पुगेको छ ।
बैंकको पुस मसान्तसम्म वितरणयोग्य नाफा ३५ करोड ४९ लाख रुपैयाँ बराबर छ । इक्विटीमा बैंकको प्रतिफल ५.७२ प्रतिशत छ । यस बैंकले ठूला पूर्वाधारका क्षेत्रहरुमा मात्रै ऋण लगानी गर्ने भएकाले निष्क्रिय कर्जा भने देखिँदैन ।
प्रतिक्रिया 4