+
+

निष्कृय कर्जासँगै प्रोभिजन बढ्दा घट्यो एसविआई बैंकको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १०:१०

७ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नेपाल एसविआई बैंकको नाफामा गिरावट भएको छ । बैंकले बिहिबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ८४ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब १७ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा २८.६० प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा समान्य गिरावट र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा वृद्धि हुँदा बैंकको नाफा घटेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.५६ प्रतिशतले बढेर २ अर्ब ६५ करोड ८५ लाखमा पुगेको छ ।

यस्तै खुद फि तथा कमीसन आम्दानी ६० करोड १० लाखबाट ५७ करोड ६४ लाख पुगेको छ । आम्दानीमा संकुचन हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ३७ करोड १० लाख रुपैयाँबाट बढेर ७४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी घटेको र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन ह्वातै बढ्दा बैंकको सञ्चालन नाफासँगै नाफामा पनि घटेको छ ।

पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँबाट २८.९१ प्रतिशतले घटेर १ अर्ब १८ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

नाफासँगै बैंकको वितरणयोग्य मुनाफामा पनि दबाब देखिएको छ ।  गत आर्थिक वर्षको लाभांश वितरणछि करिब ३८ करोड सञ्चित नाफा रहेको बैंकको चालु आवको ६ महिनामा ११ करोड रुपैयाा वितरणयोग्य मुनाफा आर्जन गरेको छ । ३१ करोड ५ लाख रुपैयाँ ब्याज उठाउन नसक्दा पनि पुससम्म बैंकले वितरणयोग मुनाफा ४९ करोड ५७ लाख रुपैयाँ बाँकी रहेको छ ।

चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुबैमा सुधार भएको छ । असार मसान्तमा १ खर्ब ५० अर्ब ८२ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर १ खर्ब ६७ अर्ब ५५ करोड ८४ लाख पुगेको छ । यस्तै बैंकको कर्जा १ खर्ब १६ अर्ब ३० करोड २३ लाख रुपैयाँबाट १ खर्ब २१ अर्ब ८६ करोड ७१ लाख रुपैयाँमा पुगेको छ ।

नाफा घटेसँगै प्रतिसेयर आम्दानी २३ रुपैयाँ २६ पैसाबाट घटेर १६ रुपैयाँ ६१ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९२ पैसा र मूल्य आम्दनी अनुपात १८.६६ गुणा रहेको छ ।

यस्तै बैंकको पूँजीकोष १२.६६ प्रतिशतबाट १२.८१ प्रतिशतमा पुगेको छ । निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशतबाट २.२९ प्रतिशत पुगेको छ ।

पुसमा बैंकको सीडी रेसियो ७४.४७ प्रतिशत, आधार दर ९.६६ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?