+
+

बम्जन आश्रमबाट बेपत्ता किशोरीका बुबाको दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १०:३३

१० माघ, काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले अनलाइनखबरलाई बताए ।

‘उहाँ जाहेरीकर्ताको बुबा हुनुहुन्थ्यो भन्ने खबर आएको छ, त्यसलाई भेरिफाइ गरिरहेका छौं’, सिलवालले भने, ‘उहाँको भाइलाई बेलाएको छु, आउनुभएपछि थाहा होला ।’

त्यसक्रममा आश्रमबाट बेपत्ता किशोरीको बुबाको मृत्यु भएको पुष्टि भएको एसपी सिलवालले बताए । प्रहरीका अनुसार, उनले पछिल्लो समय बम्जनको पक्षमा सार्वजनिक अभिव्यक्तिहरु दिँदै आएका थिए ।

प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ ।

‘अहिलेसम्म शंकास्पद विषयहरु देखिएका छैनन्, यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’, उनले भने ।

५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।*

*यसअघि प्रहरीले बम्जनविरूद्ध जाहेरी दिने किशोरीको बुबाको मृत्यु भएको भनेपनि पीडित आश्रमबाट बेपत्ता भएको भन्ने खुलेपछि शीर्षक सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?