
११ माघ, काठमाडौं। करिब ४ वर्षपछि केशरमहल पुनर्निर्माण सम्पन्न हुन लागेको छ । २०७६ मंसिरदेखि केशरमहलको पुनर्निर्माण सुरू गरिएको निर्माण कम्पनीले जनाएको छ ।
पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले माघ मसान्तभित्र निर्माण सकिने र फागुनको पहिलो वा हप्ताभित्र सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।
ढल व्यवस्थापन, रङ्गरोगन तथा सरसफाईको काम भइरहेको छ । २०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त बनेको हो । भ्याट बाहेक ५९ करोडमा पुनर्निर्माण भइरहेको केशरमहलमा लामो समय शिक्षा मन्त्रालय रहेको थियो ।
केशरमहलमा शिक्षा मन्त्रालय करिब ३९ वर्ष रहेको थियो । सिंहदरबारमा भएको शिक्षा मन्त्रालय वि.सं. २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि केशरमहलको केशर पुस्ताकालय भएको भवनमा सारिएको थियो ।
तर, २०६८ सालमा गएको भूकम्पले केशर महल चर्किएर जीर्ण भएपछि २०६९ साल भदौमा शिक्षा मन्त्रालय पुनः सिंहदरबार सारिएको थियो । तर, केशर पुस्तकालय र एनओसी शाखा भने केशरमहलमा नै रहेका थिए ।
२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त बनाएपनि केशर पुस्तकालय अस्थाइ टहरा बनाएर राखियो भने एनओसी भक्तपुर सानोठिमीमा सारिएको छ ।
६१ कोठा रहेको भवनमा अब के-के राख्ने भन्ने अहिलेसम्म निर्णय भइनसकेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । केशर पुस्तकालय बाहेक विद्यार्थीको सहजताको लागि एनओसी त्यही सार्नुपर्ने, छात्रवृत्ति प्रमाणीकरण, युनेस्कोको नेपाल निमित्त राष्ट्रिय आयोगको कार्यालय सार्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4