
१४ माघ, काठमाडौं । एकीकृत समाजवादीको राष्ट्रिय परिषदको बैठक आज काठमाडौंमा बस्दै छ । विधानको मस्यौदामा छलफल गर्न बोलाइएको बैठक काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे सुरु हुने छ । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।
उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदलले तयार पारेको विधान मस्यौदा बैठकमा पेस हुने छ । राष्ट्रिय परिषद् सदस्यबाट सुझाव लिएर विधानलाई पूर्णता दिइने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए । त्यसपछि सोही विधान अनुसार टेकेर आगामी जेठमा हुने महाधिवेशनबाट नेतृत्व चयन गर्ने उनले बताए ।
राष्ट्रिय परिषद् बैठकमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई–दुई जनाको प्रतिनिधित्व हुने छ । त्यसभन्दा माथि केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरू राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन्छन् । केही सदस्य मनोनीत पनि हुन्छन् ।
राष्ट्रिय परिषद् बैठकको सुझाव अनुसार प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पस्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने गरी विधानलाई अन्तिम रूप दिने चौधरीको भनाइ छ ।
प्रतिक्रिया 4