+
+

चन्द्रागिरि सडकलाई चालु आवमै ६ करोड बजेट थप

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १७:४५

१४ माघ, काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ ।

गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो ।

अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी आगामी आर्थिक वर्ष (आव) का लागि सिर्जना हुने दायित्व बराबरको रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरेको हो ।

उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो ।

बजेट अभाव भन्दै कार्यालयले सडक सुधारको काम नगरेपछि सडकमार्गको थानकोट–चन्द्रागिरि खण्ड उच्च जोखिमयुक्त रहेको छ ।

थानकोटबाट चन्द्रागिरितर्फ उकालोमा ५ सय मिटर कालोपत्र गर्न सम्झौता भए पनि मागेको बजेटको १० प्रतिशतभन्दा कम आएपछि अन्य मर्मतका काम गर्न नसकिने कार्यालयले बताउँदै आएको छ ।

रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौं यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।

सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।

३ माघमा अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका थिए ।

नेकपा एमाले सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने माग गरेका थिए ।

बजेट भएपछि काम हुन्छ

डिभिजन सडक कार्यालय काठमाडौं प्रमुख नारायणदत्त भण्डारीले बजेट आएपछि मुख्य अप्ठ्यारो रहेको स्थानमा बाटो सुधार हुने बताए ।

‘थानकोटबाट चन्द्रागिरि जाने उकालोको चार किलोमिटर सडक मात्रै सुधार्दा पनि धेरै हदसम्म सडक राम्रो हुन्छ,’ उनले भने, ‘कम्तीमा दुर्घटनाको जोखिम कम हुन्छ, तर त्यतिका लागि पनि हामीसँग बजेट थिएन । बजेट आएपछि सजिलो हुने अपेक्षा गरेका छौं ।’

हुुनुपर्ने जति सडक विस्तार भइसकेको भन्दै प्रत्येक तीन महिनामा हेभी इक्विपमेन्टबाट आफैंले इन्धन हालेर मर्मतसम्भार गरेको उनी सुनाउँछन् ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो रहेकाले त्यसलाई सुधार गरेर कालोपत्र नगरेसम्म सधैं दुःख हुने उनको भनाइ छ ।

२८ पुसमा काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?