+
+

बजेट छुट्ट्याएपछि चन्द्रागिरि सडक पुगे भौतिकमन्त्री ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते २०:०४

१७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला गणेशमान सिंह मार्ग (थानकोट–चन्द्रागिरि– चित्लाङ) सडक अवलोकन गर्न पुगेका छन् ।

बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला उक्त सडक अवलोकन गर्न पुगेका हुन् ।

बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ १२ माघमा अर्थ मन्त्रालयले दिने तय भएपछि मन्त्री ज्वाला अनुगमनमा पुगेका हुन् ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी आगामी आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबर रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरिसकेको छ ।

उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो ।

अनुगमन र निरीक्षणपछि मन्त्री ज्वालाले बजेटको सुनिश्चितता भइसकेपछि स्तरोन्नतिले तीव्रता पाउनुपर्ने बताए ।

रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौं यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।

सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीयले विरोध गर्दै आएका थिए ।

३ माघमा अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका थिए ।

डिभिजन सडक कार्यालय काठमाडौं प्रमुख नारायणदत्त भण्डारीका अनुसार थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो छ ।

२८ पुसमा काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?