
१९ माघ, काठमाडौं । हिउँ प्रेमीबीच लोकप्रिय नेपालका आकर्षक पर्यटकीय ‘हिल स्टेसन’ सेताम्य बनेका छन् । यो साता देशका अधिकांश स्थानमा भएको वर्षा र घट्दो तापक्रमसँगै अधिकांश हिल स्टेसनमा हिउँ परेको छ ।
काठमाडौं आसपास चुचुरोमा समेत बिहीबार केही बेर हिउँ परेको थियो । यसबाहेक मकवानपुर दामन–सिमभञ्ज्याङ क्षेत्रमा सामान्य हिमपात भएको छ । दोलखा सैलुङ, कालिञ्चोक डाँडामा गत साता नै हिउँदे वर्षासँगै हिउँ परेको थियो ।
पूर्वी नेपालको पाथीभरा क्षेत्र समेत अघिल्लो साता नै सेताम्य बनेको थियो । बिहीबार कर्णाली र सुदूरपश्चिमका गन्तव्य हिउँले ढाकिए । जुम्ला, सिमकोट, रारादेखि खप्तडसम्म यतिबेला हिउँका कारण सेताम्य देखिएका छन् ।
रारामा काठमाडौं सहित देशका विभिन्न गन्तव्यबाट ‘प्याकेज’ बिक्री गरिरहेका रारा एडभेन्चर टुर्स एन्ड ट्रेक्सका सञ्चालक देवीकृष्ण रोकायाका अनुसार अहिले पनि हिउँ नै खेल्न रारा जानेको आकर्षण उत्तिकै छ ।

पछिल्लो समय सहज यातायातले पर्यटक आवागमन सहज बनाएको उनी बताउँछन् । नेपालको पर्यटनमा हिउँद ‘अफ सिजन’ मानिन्छ । यसको मतलब विदेशी पर्यटकको घुइँचो कम हुन्छ । यस्तो बेला घुमफिरमा निस्किंदा नेपाली पर्यटकले सस्तो मूल्यमा आकर्षक सेवा पाउने उनी बताउँछन् । ‘नेपालीका लागि यो सिजन निकै आकर्षक हो’, उनी भन्छन् ।
सुविधाले सहज बनाउँदै घुमफिर
पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका सबैजसो आकर्षक हिलस्टेसन हिउँले ढाकिएका छन् । सबैजसो गन्तव्यमा अहिले पर्यटकलाई पर्याप्त सुविधा पुगेका कारण घुमफिरका लागि उपयुक्त रहेको पर्यटन व्यवसायी राजेन्द्र सापकोटा बताउँछन् ।
‘तपाईं पाथीभरा पुग्नुस् वा खप्तड, खान–बस्न र यातायातको असुविधा छैन’ उनी भन्छन्, ‘यो पर्यटकका लागि ठूलो अवसर पनि हो ।’
हिमपात सुरु भएसँगै काठमाडौंबाट एक रात दुई दिनको भ्रमण योजनामा पुगिने कालिञ्चोकस्थित होटल–रिसोर्टले विभिन्न प्याकेज सार्वजनिक गरेका छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज आसपास सञ्चालित होमस्टेले भ्रमणका लागि निम्ता दिएका छन् । रारामा काठमाडौंबाट प्रतिदिन/प्रतिव्यक्ति ३३ हजार रुपैयाँका प्याकेज बिक्री भइरहेको रारा एड्भेन्चर सञ्चालक रोकाया बताउँछन् ।
‘विगतमा दुःख पाइए जस्तै कोठा, गाडी, प्लेन नपाइएला कि भन्ने चिन्ता थियो’ उनी भन्छन्, ‘अब त्यो समस्या छैन, ढुक्कले यात्रा गर्न सकिन्छ ।’
तर, भएन पर्याप्त हिमपात
विगतमा यो सिजन नगरकोटदेखि दामनसम्म पर्याप्त हिउँ पर्ने गर्थ्यो । यसपालि ढिलासम्म पनि हिउँ परेन । यसले चिन्ता थपेको मकवानपुर दामनका स्थानीय सुरज खड्का बताउँछन् ।
‘यो बेला दामनमा त थामिनसक्नु हिउँ पर्ने समय हो’ उनी भन्छन्, ‘हिजो हल्का त पर्यो, फागुनसम्म अझ पर्छ कि हेरौं ।’
पर्यटन व्यवसायी सापकोटाका अनुसार विगतमा नगरकोटको पहिचान हिउँ खेल्ने हिल स्टेसनकै रूपमा थियो । सँगै हिमाली दृश्यावलोकनका लागि समेत यो डाँडो लोकप्रिय थियो ।
तर, अहिले ‘क्लाइमेट चेन्ज’ ले विगतमा जस्तो हिमपात हुन नसकेको उनी बताउँछन् । ‘यो वर्ष एक त पानी नै परेन’ उनले भने, ‘अर्को, विगतमा जुन–जुन डाँडोमा हिउँ पर्ने गर्थ्यो, त्यो पनि कम हुँदै गएको देखिएको छ ।’
थप हिमपातको सम्भावना छ ?
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना छ ।
शनिबार राति भने सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका हिल स्टेसनमा हिमपातको सम्भावना छ । आइतबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा हिमपातको सम्भावना छ ।
आइतबार राति अधिकांश उच्च भेगमा हिमपात हुनसक्ने अनुमान विभागको छ । विभागले उच्च पहाडी र हिमाली भेगमा हुने हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सचेत रहन आह्वान गरेको छ ।
प्रतिक्रिया 4