
२१ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएको खबर शनिबार एकाएक बाहिरियो ।
चन्दको एक्कासी राजीनामाले धेरैलाई आश्चर्यमा पार्यो । कतिपयले उनको राजीनामालाई विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच भएको विवादसँग जोडे भने कतिले अन्तर्यमा अरु नै कारण हुनसक्ने बताए ।
कतिपयले सुन समितिले गरिरहेको छानबिनसँग जोडेर पनि व्याख्या गर्ने कोशिस गरे । चन्द स्वयंले भने शनिबार अनलाइनखबरसँग कुरा गर्दै व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।
उनले आफूले राजीनामा दिइसकेको बताइसक्दा पनि प्रहरी प्रधान कार्यालय, नक्साल भने राजीनामाबारे बोलेको छैन ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल भन्छन्, ‘औपचारिक रुपमा पत्र आएको मलाई थाहा छैन, राजीनामा आउँदा उपत्यका प्रहरी कार्यालय हुँदै यहाँसम्म आउनुपर्ने हो ।’
तर, आइतबार उनको राजीनामाको पत्र प्रहरी प्रधान कार्यालयमा रहेको मानवस्रोत विभागमा पुगिसकेको छ ।
उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले चन्दको राजीनामाको कारणबारे आफूलाई थाहा नभएको बताए । तर, विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरुका अनुसार, विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच विवादको प्रतिवेदन बुझाएलगत्तै डीआईजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।
लगत्तै प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङले आएर उनको कठालो समातेका थिए । त्यसक्रममा कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । यो मामिलामा प्रहरीले आफ्नो ड्यूटी निभाएको भन्दै उनीहरुलाई पुरस्कृत गर्नुपर्ने डीआईजी चन्दले बताउँदै आएका थिए ।
तर, यसबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले त्यहाँ ड्यूटी अफिसर रहेका डीएसपी रेवतीरमण पोखरेलसहित असई तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतोलाई समेत कारबाही सिफारिस गर्यो ।
अध्यागमन अधिकृत मोक्तानलाई भने विमानस्थलबाट हटाएर गृह मन्त्रालयमा लैजाने सिफारिस मात्रै भयो ।
समितिले गृह मन्त्रालयमा यो प्रतिवेदन बुझाएलगत्तै चन्दले असन्तुष्टि जनाएको विमानस्थलमा कार्यरत प्रहरी अधिकृतहरु बताउँछन् । त्यही बेलादेखि उनले ‘यस्तो जागिर खाइँदैन’ भनेको विमानस्थलमा कार्यरत एक अधिकृतले अनलाइनखबरलाई बताए ।
त्यसपछि उनलाई परिवारका सदस्य र प्रहरी अधिकृतहरुले ‘त्यस्तो निर्णय नलिन’ पटकपटक सम्झाएको अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका पूर्वडीआईजी उत्तम कार्कीले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा लेख्दै ‘राजीनामा नदिई लडेको भए अझ राम्रो हुन्थ्यो कि ?’ भनेका छन् ।

यद्यपि, चन्दको राजीनामालाई कार्कीले ‘अन्यायको विरुद्धमा लडेको प्रमाणित भएको’ भनेका छन् ।
‘डीआईजी अर्जुन चन्द स्ट्रेट फरवार्ड अफिसर हो, राज्य यत्रोविधि विभेदकारी हुनु हुँदैनथ्यो’, पूर्वडीआईजी कार्कीले फेसबुकमा लेखेका छन्, ‘… जे होस् यो सरकारलाई ठूलो झट्का हो र अरु वहालवालाले सिकुन्– अन्याय विरुद्ध लड्न र अन्यायमा परेकालाई न्याय दिन ।’
एसएसपीमा बढुवामा नपरेपछि राज्यबाट अन्याय भएको भन्दै राजीनामा दिएका एसपी नरेन्द्र उप्रेतीले पनि ‘विभेद र दमनकाविरुद्ध चन्दले उठाएको कदम स्वागतयोग्य’ भएको बताएका छन् ।
‘क्षणिक पद र कुर्सीसँग इमान र स्वाभिमान साटेनौं, मुरी मुरी बधाई छ’, उनले भनेका छन्, ‘सत्य सेवा सुरक्षणम् पदका लोभीले बुझ्न चाहँदैनन् र सुन्दैनन्, निजी पदीय सुख, सुविधाका लागि विभिन्न अनैतिक जुवाको खाल खडा गरी आफू र पदीय मर्यादा नै दाउ लगाउँछन् ।’
प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, डीआईजी चन्दको राजीनामाको कारण यो प्रकरण मात्र भने होइन । पछिल्लो डीआईजी सरुवामा उनले प्रदेश प्रहरी कार्यालयको नेतृत्व खोजेका थिए ।
प्रहरी सेवामा खासै महत्वपूर्ण पोष्टिङ नपाएका उनी २४ पुसमा भएको डीआईजी सरुवा सूचीमा परेनन् । ‘त्यतिबेला पनि उहाँले असन्तुष्टि जनाउनुभएको थियो’, एक अधिकृतले भने ।
विमानस्थलमा खटिएका अर्का एक अधिकृतका अनुसार, भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणको अनुसन्धानको सुरुवात पनि विमानस्थल प्रहरीले १५ भदौदेखि २७ मंसिरसम्म १ हजार ५१३ शंकास्पद राहदानी उपत्यका अपराध अनुसन्धान कार्यालयलाई बुझाएपछि भएको थियो ।
यसमा विमानस्थल अध्यागमनका कर्मचारीहरुको एउटा समूह नै सेटिङमा संलग्न रहेको खुलेको थियो ।
अहिले यो मामिलामा अनुसन्धान सकिएर ९ कर्मचारीसहित २२ जनाविरुद्ध संगठित अपराधको कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
मानव तस्करीमा संलग्नहरुका लागि असुली गर्ने बाटो बनेको भिजिट भिसासम्बन्धी १६ बुँदे निर्देशिका यो अनुसन्धान सुरु भएपछि गृह मन्त्रालयले संशोधन गरेको थियो । अहिले ६ बुँदाको अर्को निर्देशिका छ ।
‘तर आफूलाई संगठनले हेपेको उहाँले महसुस गर्दै आउनुभएको थियो, पछिल्लो पटक आफ्नो जिम्मेवारी निभाउँदा डीएसपीदेखिकै कर्मचारी कारबाहीमा पर्दा उहाँले राजीनामा दिने बाटो रोज्नुभएको हो’, विमानस्थलका अर्का अधिकृत भन्छन् ।
डीआईजी चन्द स्वयंले भने राजीनामाको कारणबारे मुख खोलेका छैनन् । उनको राजीनामा पत्रमा पनि ‘घरायसी कारण’ले राजीनामा दिएको उल्लेख छ ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।
राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।
प्रतिक्रिया 4