+

क्यान्सर भए नभएको पत्ता लगाउने बायोप्सी के हो ?

२०८० माघ  २१ गते १४:४३ २०८० माघ २१ गते १४:४३
क्यान्सर भए नभएको पत्ता लगाउने बायोप्सी के हो ?

क्यान्सरको शंका लागे चिकित्सकले बायोप्सी गर्न सल्लाह दिन्छन् । यो सुन्दै धेरै जना डराउँछन् र दिमागमा अनेकथरी कुरा खेलाउँछन् । विज्ञको परामर्श लिनुको साटो आफन्त र साथीभाइको सल्लाह मानेर अस्पताल ढिला पुग्छन् । जुन सरासर गलत हो ।

बायोप्सी गर्दैमा क्यान्सर हुँदैन । यो क्यान्सर हो कि होइन भनेर पत्ता लगाउने एउटा विधि मात्र हो । यसको मद्दतले क्यान्सर छिटो पत्ता लागे पूर्ण निको हुन्छ ।

के हो बायोप्सी ?

मुख वा शरीरको अन्य ठाँउमा घाउ, गाठाँगुठी आएमा यो साधारण हो कि क्यान्सर भनेर परीक्षण गर्ने विधि बायोप्सी हो । बायोप्सीमा शंकास्पद अंगको छोटो टुक्रा लिइन्छ । त्यसपछि नमुनाको परीक्षण गरिन्छ । बायोप्सीबाट कैयौं रोगबारे पनि पत्ता लगाउन सकिन्छ । इन्डोस्कोपी परीक्षणको प्रक्रियामा क्यामरा हालेर पनि शरीरभित्रको रोग पत्ता लगाउन सकिन्छ ।

सामान्यतया बायोप्सी पाँच प्रकारका हुन्छन् ।

बोनम्यारो बायोप्सी : यो शरीरको कुनै पनि हड्डीमा गरिन्छ । रगतमा समस्या भएमा हड्डीमा फैलिन सक्छ । यस्तोमा बोनम्यारो बायोप्सी सिफारिस गरिन्छ ।

इन्डोस्कोपी सर्जरी : बायोप्सीको अर्को प्रकार इन्डोस्कोपी सर्जरी हो, जसबाट मानव शरीरको कुनै पनि तन्तुको अवस्था पत्ता लगाउन गरिन्छ । यस प्रक्रियामा इन्डोस्कोप नामक उपकरण प्रयोग हुने भएकाले यसलाई इन्डोस्कोपी सर्जरी भनिन्छ ।

निडल बायोप्सी : यो छालाको तन्तुको नमुना लिएर गरिने बायोप्सी हो । निडल बायोप्सी स्तनको गाँठो पत्ता लगाउने सबैभन्दा प्रभावकारी विधि हो ।

छालाको बायोप्सी : छालामा रातो दाग वा चिलाउने समस्या भइरहेमा क्यान्सरको आशंकामा बायोप्सी गर्न सल्लाह दिइन्छ । छालाको बायोप्सी एनेस्थेसिया अन्तर्गत वा छालाको क्षेत्रको भाग थोरै काटेर गरिन्छ । यसरी छाला बायोप्सी गर्ने व्यक्तिको लागि एक सरल प्रक्रिया हो ।

सर्जिकल बायोप्सी : बायोप्सीको कुनै पनि विधिबाट बिरामीलाई राहत नभएमा चिकित्सकले सर्जिकल बायोप्सी गराउँछन् ।

कस्तो अवस्थामा गरिन्छ बायोप्सी ?

शरीरमा केही शंकास्पद देखेपछि बायोप्सी गर्न सिफारिस गरिन्छ ।

क्यान्सरको निदान : यसले क्यान्सर हो कि होइन भन्ने पत्ता लाग्छ । बायोप्सीले क्यान्सरको बारेमा सुचित मात्र गर्दैन । यसको चरणको पत्ता लगाउँछ । जसले क्यान्सरको उपचार कसरी गर्न सकिन्छ भन्ने बाटो देखाउँछ ।

संक्रमणको पहिचान : ब्याक्टेरियल वा फगंल संक्रमणलाई पहिचान गर्न मद्दत गर्छ ।

अटोइम्युन डिसअर्डर : शरीरको कोषिका कमजोर भई शरीरभित्रको कोषिका र बाहिरको जीवाणु पहिचान गर्न नसकी आफ्नै आक्रमण गर्छ, यो अवस्थालाई अटोइम्युन भनिन्छ । लुपस र बाथको रोगमा बायोप्सी गरिन्छ ।

शरीरको असामानता : यदि स्वास्थ्य परीक्षण गराउँदा सिटिस्कयानमा गाँठागुठी देखिएमा बायोप्सी गरिन्छ । शरीरमा देखिने गाँठागुठीको सहीरुपमा पहिचान गर्ने विधि बायोप्सी हो । यदि सिटिस्क्यान वा एक्सरेमा सिस्ट देखियो भने क्यान्सर नै हो भनेर पत्ता लगाउन सकिने विधि बायोस्पी हो । एक्सरे र सिटी स्क्यानले क्यान्सर हो कि होइन छुट्टयाउन सक्दैन ।

यी लक्षण देखिए पनि सिफारिस हुनसक्छ

-स्तनमा कुनै प्रकारको गाँठो भएमा

-कुनै पनि अंगमा ट्युमर पलाएमा

-सिटिस्क्यान जस्ता परीक्षण वा विधिबाट रोग पत्ता लगाउन नसक्दा

-कलेजोसम्बन्धी कुनै समस्या भएमा

-लामो समयसम्म अल्सर भएमा

-समस्या महसुस हुने तर कुनै लक्षण नदेखिएको अवस्थामा

-ब्लड क्यान्सर परीक्षण गर्न

बायोप्सीपछि के गर्नुपर्छ ?

बायोप्सी गरेपछि केही समय आराम गर्न लगाइन्छ । बायोप्सी गरिएको भाग वरपर केही दुखाइ हुनसक्छ तर केही समयपछि सहज हुन्छ ।

दुखाइ कम गर्ने औषधि दिइन्छ । नर्सहरूले केही घण्टासम्म निगरानी गर्छन् र बायोप्सी गरेको क्षेत्रमा रक्तस्राव भए नभएको जाँच गर्छन् ।

बायोप्सीपछि संक्रमण र रक्तस्राव भएमा केही जटिलता पनि हुनसक्छ ।

नतिजा कहिले आउँछ ?

बायोप्सीको परिणाम एकदेखि दुई दिनमा आउँछ । सर्जिकल प्रक्रियामा गरिएका विशेष बायोप्सी १०-१५ मिनेटसम्म लिन सक्छ ।

बायोप्सीबाट संक्रमणको कुनै पनि संकेत अनुभव जस्तै लामो समयसम्म दुखाइ,  रातो हुनु वा बायोप्सी गरिएको ठाँउ सुन्निएमा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

बायोप्सी नतिजाको अर्थ के हो ?

बायोप्सी नमुनाको नतिजाले कोषिकाहरू क्यान्सरग्रस्त छन् कि छैनन् भनी निर्धारण गर्न मद्दत गर्छ । यदि कोषिकाहरूमा क्यान्सर भएको पाइएमा बायोप्सीको नतिजाले पनि क्यान्सर कोषिकाहरू कहाँबाट उत्पत्ति भएको र यो कस्तो प्रकारको क्यान्सर हो भन्ने देखाउँछ ।

बायोप्सीले क्यान्सर कति आक्रामक छ र कुन चरणको हो भनेर निर्धारण गर्न मद्दत गर्छ । यो ग्रेड एकदेखि चार स्केलमा गरिन्छ ।

बायोस्पी सेवा अहिले धेरैजसो सरकारी तथा निजी अस्पतालमा उपलब्ध छ ।

क्यान्सर डा. कपेन्द्रशेखर अमात्य बायोप्सी
डा. कपेन्द्रशेखर अमात्य
लेखक
डा. कपेन्द्रशेखर अमात्य
वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २९०२ अध्ययन : एमबीबीएस, एमएस हाल ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको सर्जिकल अन्कोलोजी विभाग प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय