+
+
ब्लग :

मनीषा र हिमानीले सिकाएको महिलावाद

प्रतिशोधको प्रतिस्पर्धा र साँघुरो औसत सोचाइ भन्दा माथि उठेर प्रस्तुत भएका हिमानी र मनीषाबाट फेमिनिष्टहरूले पनि केही सिक्न सक्छन् । यसलाई फेमिनिज्मको एउटा नयाँ अध्यायका रूपमा पनि लिन सकिन्छ ।

निमा काफ्ले निमा काफ्ले
२०८० माघ २२ गते १४:३७

सामाजिक सञ्जालमा केही दिनअघि प्रोमो आयो अभिनेत्री मनीषा कोइराला र पूर्व युवराज्ञी हिमानी शाहबीचको वार्तालापको । समाजमा चर्चित बनेको यो कार्यक्रम हेरिसकेपछि दुवै महिलाप्रतिको मेरो सम्मान अझ बढेको छ । कार्यक्रम प्रसारणपछि सामाजिक सञ्जालको प्रतिक्रिया हेर्ने हो भने धेरै सकारात्मक प्रतिक्रियाहरू छन् ।

ती प्रतिक्रियाहरूमा कसैले दुवै महिलालाई शालीनताको उपमा दिएका छन् भने कसैले बोली त कसैले लबजको सराहना गर्दै उनीहरूको बौद्धिकताको तारिफ गरेका छन् । दुवै महिलाको यो अन्तर्वार्ता कस्तो होला भन्ने कौतूहल थियो नै । अपेक्षा अनुसार अभिनयको क्षेत्रबाट आएकी मनीषा र राजपरिवारको विरासत बीच विकास भएको हिमानीको व्यक्तित्वलाई अन्तर्वार्तामा अनुभूत गर्न सकिन्थ्यो ।

कठिन र चुनौतीपूर्ण जीवन र अवस्था व्यहोरेका दुई पात्रबाट जीवन जिउने कलादेखि समाज र समयप्रतिको दृष्टिकोण र संघर्षका सिकाइहरूमा प्रशस्तै नयाँ कुरा सिक्न सकिन्थ्यो । असन्तुष्टि, आक्रोश र आरोपलाई केन्द्र बनाएर हुने बहस र प्रतिस्पर्धा भन्दा भिन्न विकल्पहरू दिंदै सौम्य र शालीनताका साथ आफ्ना विचार राख्ने शैलीलाई समेत यी दुई नारी पात्रले सशक्त रूपमा अन्तर्वार्ता मार्फत स्थापित गरेका छन् ।

निमा काफ्ले

अर्को प्रसंग केही दिन अगाडि मेरो कार्यक्रम ‘द मर्निङ शो’ मा अतिथिको रूपमा कृष्ण पहाडीसँग कुराकानी भएको थियो । समकालीन राजनीति, नागरिक समाज, धर्म र राजसंस्था लगायत विषयवस्तुमा हाम्रो कुराकानी केन्द्रित थियो । २० वर्ष अगाडि तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासन व्यवस्था विरुद्धमा सडकमा उत्रिएका पहाडी २०६२/६३ को जनआन्दोलनको केन्द्रमा थिए ।

तर यतिबेला पहाडी नेपाली मिडियाको केन्द्रमा छैनन् । उक्त अन्तर्वार्तामा पहाडीले परम्परागत राजनीतिलाई कुरुप ढंगले प्रस्तुत मात्रै गरेनन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई केही आशालाग्दो नेताका रूपमा चित्रण समेत गरे । २० वर्षअघि जनआन्दोलन वा जनक्रान्तिका लागि उत्रिएका नागरिकको भावना अनुसार देशमा शासन भइरहेको छैन भन्ने पहाडीको यो आक्रोशले देखाउँथ्यो ।

पहाडीको यो आक्रोश मुलुकलाई नयाँ रोडम्याप दिनुपर्छ भनेर आन्दोलन गर्ने अगुवाहरू, महिला, पछाडि पारिएको वर्ग, देशभित्र सम्भावना खोजिरहेको युवा जमात, सीपयुक्त जनशक्ति र रैथाने चिन्ता बोकिरहेका किसानहरू सबैमा बढिरहेको असन्तुष्टिको बिम्व थियो ।

यी सन्दर्भहरू उठाएर केन्द्र भागमा स्थापित गराउन खोजिएको सन्दर्भ चाहिं देश किन बनेन ? कसरी अगाडि बढ्नुपर्छ भन्ने नै हो । राजपरिवारको सदस्यको दृष्टिकोणदेखि विद्यमान व्यवस्थाको नेतृत्वकर्ताहरूको संस्थागत पहल र नागरिक समुदायका प्रतिनिधिहरूको दृष्टिकोणको मिलनविन्दु नै यो अवस्थाको विकल्प बन्न सक्छ ।

विधायिकी अधिकार लिएर जनताको नासो जिम्मा लिइरहेकाहरूले यो व्यवस्था प्राप्तिका लागि बलिदान दिन तयार भएर आन्दोलनमा निस्किएका क्रान्तिकारी नागरिकको अपेक्षादेखि सदियौंदेखिको विरासतलाई सहजै हस्तान्तरण गरेर हिंड्नेहरूका भाव समेतलाई प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता देखिन्छ ।

यसका लागि नागरिकमा देखिएको असन्तुष्टिको सम्बोधन वा सुनाइ र भावनाको प्रतिनिधित्वको माध्यम बन्नुपर्ने ठानिएका निकायहरू जिम्मेवार बन्नुपर्छ । उल्लिखित सन्दर्भहरूमा भिन्न कोणबाट यिनै विषयहरू उठेका छन् ।

दिगो विकासको विकल्पको रूपमा ग्रामीण भेकका नागरिक, महिला, सीपयुक्त जनशक्तिको भावनालाई बलियो विकल्पको रूपमा लिइएन भने हाम्रा क्रान्तिका नारा र सरकारका कार्यक्रम, दिगो विकास लक्ष्यप्रतिको प्रतिबद्धताहरू सबै बेकामे हुन जान्छन् ।

रेमिट्यान्समा धानिनुपर्ने आजको अवस्था र खस्किंदो आत्मनिर्भरताको त्रासले भट्किइरहेको समाजलाई कसले आशाको त्यान्द्रो दिएर उठाउने ? आरोप–प्रत्यारोपकै प्रतिस्पर्धा हुने अवस्थाबाट जिम्मेवारी लिने संस्कारको सुरुवात पनि त कहीं कतैबाट हुनुपर्छ होला नि !

परिवर्तनका लागि भएका हरेक आन्दोलन वा क्रान्तिहरूको नेतृत्व गर्नेदेखि त्यसमा सहभागी हुने महिलाहरूको भावना क्रान्ति वा परिवर्तनपश्चात् कसरी संस्थागत भइरहेको छ ? नवीन योजना निर्माण र कार्यान्वयनमा ती महिलाहरू केन्द्रमा छन् या छैनन् ? यो अहिलेको अहम् प्रश्न हो ।

क्रान्ति वा परिवर्तन पश्चात् निर्माण भएको सत्ता वा सरकारले महिलाकेन्द्रित योजना निर्माण गर्ने कुरालाई कति जिम्मेवार, परिपक्व र दायित्व बोध भएर गरेको छ ? भन्ने प्रश्न पनि हर क्षेत्रमा उठिरहेको ज्वलन्त प्रश्न हो ।

अर्को महत्वपूर्ण कुरा माथि उल्लिखित अन्तर्वार्तामा प्रस्तुत भएको विचार र शैलीबाट सिकिने सिकाइ हो । संस्कार र अभ्यासबाट निर्माण भएको साहस, शील र सोचले भिन्न ढंगबाट सकारात्मकता निर्माण गर्न सकिने विश्वास निर्माण गर्न र आशा जगाउन सकिने सम्भावनाको पक्ष पनि हो ।

थोरै ‘फ्ल्यास ब्याक’ मा जाउँ, १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्र शाहले देशका प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाई प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन । यसले २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनबाट चुनिएको सरकार अपदस्थ मात्रै भएन, राजनीतिज्ञहरूले जेलनेलको सामना गर्नु प¥यो, जसमा बीपी पनि लामो समय काराबासमा परे ।

विस्तारै पञ्चायत विरुद्ध राजनीतिक दलहरूले आवाज उठाउन थाले र अभिव्यक्ति स्वतन्त्रताको लागि लडे । फलस्वरुप २०४६ को आन्दोलनपछि मुलुकमा संवैधानिक राजा सहितको प्रजातन्त्र स्थापना भयो । देश अहिले गणतान्त्रिक मुलुकमा रूपान्तरण भएको छ, यो रूपान्तरणसँगै समाज खुल्ला भएको पनि पक्कै हो ।

राजपरिवारको सदस्यको लिगेसी बोकेकी हिमानी र प्रजातन्त्रको लिगेसी बोकेका परिवारको एक सदस्य मनीषा बीचको अन्तरसंवादबाट महिलाको क्षमता विकास हुँदा समाजमा विकास हुने आशा, सिर्जनात्मकता, सकारात्मकता र दृढताको पक्षलाई देखाउँछ ।

नेपालको राजनीतिक तथा सामाजिक विकासका क्रमहरूसँगै महिलाको नेतृत्व क्षमता, सोचाइ र वैयक्तिक विकासका विभिन्न आयामबाट भएका विकासहरूलाई समेत उल्लिखित सन्दर्भहरूले उजागर गरेका छन् ।

प्रतिशोधलाई पुस्तौंसम्म राख्ने, विचारका बहसले अवरोधहरू मात्रै सिर्जना गर्ने अभ्यासहरूलाई समेत सिकाउने शैलीमा दई महिलाको अन्तरसंवाद कार्यक्रमले राजनीतिलाई समेत भिन्न शैलीबाट हिंड्न सिकाएको अनुभूत गर्न सकिन्छ ।

सामाजिक सन्तुष्टिको मापन, खुसी वा समुन्नतिलाई क्रान्ति, परिवर्तनदेखि विकासको युगसम्म पनि लैंगिक हित र समुन्नतिमा केन्द्रित बनाउन आवश्यक छ । परिवर्तनको आन्दोलनमा नेतृत्व गर्नेहरूले दिएका सुझाव दिगो विकासका लागि एजेण्डा र कार्यक्रम निर्धारण गर्ने सवालमा समेत महिलाको समग्र क्षमता विकासको विषयलाई केन्द्रमा राख्न सक्दा आत्मविश्वासी, दृढ र क्षमतावान् महिलाहरूको सामाजिक स्थान सुनिश्चित हुने गर्छ ।

यसो भएमा खुसी र समृद्धिको नयाँ मानक बन्न सक्छ । महिला क्षमता विकास हुँदा विस्तार हुने सिर्जनात्मकता र सकारात्मकताको उदाहरण बन्न सक्छ । प्रतिशोधको प्रतिस्पर्धा र साँघुरो औसत सामाजिक सोचाइ भन्दा माथि उठेर प्रस्तुत भएका हिमानी र मनीषाबाट सिक्नुपर्ने विषयमा फेमिनिष्टहरूको पनि ध्यान जानुपर्ने देखिन्छ । फेमिनिज्मको एउटा नयाँ कोर्सको रूपमा पनि लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?