+
+

‘बेस इफेक्ट’ ले घटेको महँगी मंसिरभन्दा बढ्यो पुसमा

असोजमा ७.५ प्रतिशत रहेको महँगी कात्तिकमा घटेर ५.३८ हुँदै मंसिरमा ४.९५ प्रतिशतमा झरेको थियो । तर, पुसमा पुनः बढेर ५.२६ प्रतिशत पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:४१

२३ माघ, काठमाडौं । लगातारको उच्च मूल्यवृद्धि मंसिरमा आएर सुधार देखिए पनि पुसमा बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा लगातार ७ प्रतिशतभन्दा माथिको मूल्यवृद्धि झेल्दै आएको सर्वसाधारणलाई मंसिरमा घटेको मूल्यवृद्धि दरले केही राहत महसुस भए पनि पुसमा पुनः बढेको छ ।

यद्यपि, राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको लक्ष्यभन्दा मुद्रास्फीति कम नै रहेको जनाएको छ ।
असोजमा ७.५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिकमा घटेर ५.३८ प्रतिशत र मंसिरमा थप घटेर ४.९५ प्रतिशतमा आएको थियो ।

तर, पुसमा पुनः बढेर वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष देखिएको उच्च मुद्रास्फीतिको ‘बेस इफेक्ट’ ले असोजको तुलनामा कात्तिकमा महँगी घटेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० पुसमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.२६ प्रतिशत थियो । गैरखाद्य तथा सेवा क्षेत्रभन्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुसमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० पुसमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क घटेको राष्ट्र बैंकले जनाएको छ ।

मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्‍कमा समेत क्रमशः कमी आइरहेको अवस्था जनाएको छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्‍क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्‍कको वृद्धि दरमा समेत कमी आएको छ ।

फलस्वरूप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रूपमा कम दबाब पर्न गएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ ।

मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ११.३८ प्रतिशत, दाल तथा गेडागुडी ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डा १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क १२.८४, विविध वस्तु तथा सेवा ९.७३, शिक्षा ८.९२, फर्निसिङ तथा घरायसी उपकरण ५.१८ र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

२०८० पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत, तराई ४.७८, पहाड ५.४० र हिमालको ६.५७ प्रतिशत छ ।

गत आव सोही अवधिमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ६.९३, ७.४९, ७.३० र ६.६९ प्रतिशत थियो ।

२०८० पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत थियो ।

पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१६ प्रतिशत, मध्यवर्ती वस्तु १.९९ र पुँजीगत वस्तुको २.७१ प्रतिशत छ ।

पुसमा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।

तलबभन्दा ज्याला दर बढ्यो

२०८० पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्‍क ५.५६ प्रतिशतले बढेको छ । गत आव पुसमा १०.२७ प्रतिशतले बढेको तलब तथा ज्यालादर सूचकाङ्‍क चालु आवमा भने वृद्धिदर घटेको छ ।

पुसमा तलब सूचकाङ्‍क १.०५ प्रतिशतले मात्रै बढ्दा ज्यालादर सूचकाङ्‍क ६.९२ प्रतिशतले बढेको राष्ट्र बैैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?