+

कीर्तिपुरमा भिड्दैछन् नेपालका दुई सफल प्रशिक्षक

२०८० माघ  २४ गते २१:२६ २०८० माघ २४ गते २१:२६

त्रिवि क्रिकेट मैदानको डग आउट, पेभेलियन, भरिभराउ दर्शक र नेपाली खेलाडी पुबुदुको लागि नौलो होइन । रणनीति र भूमिका मात्रै फरक हुनेछ । नेपाली क्रिकेटमा जुन भूमिकामा पुबुदु थिए, यसपटक त्यहाँ मोन्टी देशाई हुनेछन् ।

कीर्तिपुरमा भिड्दैछन् नेपालका दुई सफल प्रशिक्षक

२४ माघ, काठमाडौं । नेपाली क्रिकेटमा सर्वाधिक सफल प्रशिक्षकको नाम लिँदा पुबुदु दसानायकेको नाम आउँछ । नेपाललाई डिभिजन फाइभदेखि डिभिजिन टु सम्म पुर्‍याउने र टी–२० विश्वकप खेलाउने पहिलो प्रशिक्षक उनी ।

सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका उनले सन् २०२१ मा पनि नेपाली क्रिकेट टिम सम्हाले ।

पहिलो कार्यकालमा वाहवाही पाएका उनी दोस्रो कार्यकालमा खराब प्रदर्शन, टी–२० विश्वकपमा पुग्न असफल र ओडीआई मान्यता जोखिममा रहेपछि एक वर्ष नपुग्दै बाहिरिएका थिए ।

नेपाल छाडेपछि पुबुदुले क्यानडालाई २०१४ पछि पहिलो पटक २०२३ मा ओडीआई मान्यता फिर्ता दिलाए । टी–२० विश्वकपमा पहिलो पटक पुर्‍याए ।

यसअघि हरेक खेलमा नेपालको जित चाहने पुबुदु बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालको हार चाहनेछन् ।

त्रिवि क्रिकेट मैदानको डग आउट, पेभेलियन, भरिभराउ दर्शक र नेपाली खेलाडी पुबुदुको लागि नौलो होइन । रणनीति र भूमिका मात्रै फरक हुनेछ ।

नेपाली क्रिकेटमा जुन भूमिकामा पुबुदु थिए, यसपटक त्यहाँ मोन्टी देशाई हुनेछन् । उनको प्रशिक्षणमा नेपालले एक वर्षमा आईसीसी विश्वकप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जित्दै ओडीआई मान्यता निरन्तरता, एसीसी प्रिमियर कपको उपाधि, पहिलो पटक एसिया कपमा सहभागी र पुनः टी–२० विश्वकपमा सहभागिताजस्ता लोभलाग्दा सफलता दिलाएका छन् । त्यतिमात्रै होइन नेपालको ब्याटिङ, टिम सन्तुलन र आत्मविश्वास बढाएका छन् ।

त्यसैले यस सिरिजलाई नेपालका दुई सर्वाधिक सफल प्रशिक्षकबीचको भिडन्तको रुपमा हेरिएको छ । २०२२ मा नेपालको ओडीआई मान्यता गुम्ने लगभग पक्का भएको अवस्थामा पुबुदुले राजीनामा दिएर क्यानडा लागेका थिए । तर धेरैले आशा मारेको अवस्थामा मोन्टी नेपाल आएका थिए ।

मोन्टी २०१९ मा क्यानडाको मुख्य प्रशिक्षक थिए । त्यसअघि ब्याटिङ सल्लाहकारको रुपमा पनि क्यानडाको टोली हेरेका थिए । मोन्टी र पुबुदु दुबैले एक अर्काको टोली सम्हाल्लेका छन् । खेलाडी, कन्डिसन र कमजोरी दुबैलाई राम्रो ज्ञान छ ।

रणनीति बनाउन दुबै प्रशिक्षक माहिर छन् । दुबै सहजै हार मान्ने प्रशिक्षक पनि होइनन् । क्यानडा हङकङ र मलेसियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर नेपाल आएको छ । यता नेपाली खेलाडीले पनि प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामार्फत राम्रो तयारी गरेका छन् ।

‘१२–१३ वर्षअघि क्यानडाको टोली विश्वमा १२ औं नम्बरमा थियो । त्यसपछि ओडीआई मान्यता गुमायो । हाम्रो धेरै राम्रो टिम छ । आईसीसी विश्वकप लिग २ खेल्न युएई जानुभन्दा अघि यो सबैभन्दा उत्कृष्ट तयारी पनि । नेपालको वातावरण र समर्थकबारे मलाई राम्रो जानकारी छ’, पुबुदुले भने ।

ओडीआई मान्यता पाएका २० टोलीमध्ये क्यानडा अहिलेसम्म पुछारमा छ । नेपाल ओडीआई मान्यता पाएका देशहरुको सूचिको १५ औं स्थानमा छ ।

पुबुदु नेपालको सफलतामा सधैं खुसी लाग्ने बताउँछन् । ‘म नेपाल फर्किनु सधैं विशेष हुन्छ । नेपालको खेल हेर्दा आनन्द लाग्छ । गत वर्ष नेपालको यात्रा मैले हेरेको थिएँ । नेपालको प्रगति देख्दा मलाई खुसी लाग्छ’, उनले भने ।

मोन्टी भने आफूहरुको ब्याटल जहिल्यै राम्रो क्रिकेटका लागि हुने बताउँछन् । ‘खेलाडी प्रदर्शन गर्न उत्साहित छन् । पुबुदुको प्रयासमा क्यानडाको ओडीआई मान्यता फर्किएको छ । यो सिरिजमा नयाँ अनुहारलाई हेर्ने छौं’, मोन्टीले भने ।

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल पुबुदुप्रति सधैं आफ्नो उच्च सम्मान रहने बताउँछन् । ‘पुबुदु सरप्रति मेरो एकदमै सम्मान छ । किनभने नेपालले २०१४ को टी–२० विश्वकप खेल्दा उहाँको एकदमै ठूलो योगदान थियो । त्यहाँबाट धेरै जसो क्रिकेटरले क्रिकेट खेल्न सुरु गर्‍यौं’, रोहित भन्छन् ।

नेपालले क्यानडासँग त्रिवि क्रिकेट मैदानमा बिहीबार, शनिबार र सोमबार तीन खेलको सिरिज खेल्नेछ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि क्यानडासँग तयारीको लागि खेलेको हो । नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले फागुन ३ देखि १३ सम्म हुनेछ ।

क्यानडाको सिरिजमा करण केसी र गल्सन झालाई नेपालले विश्राम दिएको छ । रिजन ढकाल, हेमन्त धामी र आकाश चन्द पहिलो पटक नेपालको टोलीमा परेका तीव्र गतिका बलर हुन् । त्यस्तै सूर्य तामाङ पनि डेब्यूको पर्खाइमा छन् । अनिलकुमार शाह र पवन सरार्फ पनि राम्रो पुनरागन गर्न चाहन्छन् ।

पुबुदु दसानायके मोन्टी देसाई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय