
१ फागुन, काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गर्न मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सक्ने गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यसाथ सबस्टेसनका उपकरण जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सबस्टेसन मार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने जनाइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ ।
निर्माण अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय सबस्टेसनको काम सन्तोषजनक देखिएको बताए ।
कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । घिसिङले एक महिनाभित्र सबस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिए ।
सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौंडा सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता ९४५ एमभीए छ ।
धनुषा ढल्केबर र अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट नुवाकोट रातमाटेमा निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारणलाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००/२२० केभीका सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौंडा र इनरुवा सबस्टेसन निर्माणका लागि पुस २०७५ मा ठेक्का सम्झौता भएको थियो ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीच विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत् हेटौंडा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसनमा १६०/१६० एमभीएका दुइटा पावर ट्रान्सफर्मर छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी काम गर्न पुस २०७५ मा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो ।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौंडा सबस्टेसन निर्माण गरिएको हो । यो सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।
प्रतिक्रिया 4