
तिमी जस्तै न्यानो
तिमी जस्तै शीतल
ऊनको स्वीटर
६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको शीर्ष गीतको छोटो अंश धेरैको मनमा बसेको थियो । हर्क साउदको शब्द र सुजन चापागाईंको स्वर तथा संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो– ‘फुल गीत चाहिं कहिले आउँछ ?’
निर्माता कम्पनी आर्टमाण्डुले गीतको पूरा अंश ‘फूल’ शीर्षकमा सार्वजनिक गरेको छ । गीतमा हर्क साउदका शब्दहरु सुजनका लयमा यसरी गुन्जिन्छन् ।
जुन हेर्नु तिमी माथि माथि सगरको
म हेर्छु मेरो जुन तिम्रो नजरको
फूलहरू मुस्कुराउँछन् तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र
गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत प्रस्तुत गरिएको छ । मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ । विपिन र मिरुनाको प्रेमिल भाव सुन्दर तरिकाले गीतमा चित्रण गरिएको छ ।
भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छन् । लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो । भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन् ।
म्युजिकल फिल्मबाट दर्शकको मन जितेका निर्देशक नवीन चौहानको ‘ऊनको स्वीटर’ पहिलो फिचर फिल्म हो । केही दिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो ।
फिल्ममा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
फिल्ममा सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत दिनेछन् भने हर्क साउद र झुमा लिम्बूको शब्द रचना रहनेछ । अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन् । फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् ।
फिल्मको छायांकन वैशाखबाट सुरु हुने जनाइएको छ । आर्टमाण्डुका अनुसार फिल्मलाई पाँचथरमा खिचिनेछ भने दशैं छेकोमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4