
काठमाडौं । नेपालमा क्यान्सर रोग भएका ७० प्रतिशत बालबालिका उपचारको पहुँचबाट टाढै रहेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले गरेको विशेषज्ञ चिकित्सक र पत्रकारहरुको अन्तरक्रियामा यस्तो बताइएको हो ।
कार्यक्रममा बाल क्यान्सररोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले वयस्कभन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुने बताए । उनले नेपाल क्यान्सर अस्पतालमा निको हुने दर ८५ प्रतिशतभन्दा बढी रहेको समेत बताए ।
बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डितले लगभग १४ सय बालबालिकामा बाल क्यान्सर रोग भएको अनुमान गरिएकोमा जम्मा ६०० देखि ७०० जति बालबालिका मात्र उपचारमा रहेको तथ्यांक रहेको भन्दै आधाभन्दा बढी बालबालिका उपचारको पहुँच बाहिर रहेको जानकारी दिइन् ।
अन्तरक्रिया कार्यक्रममा अस्पतालका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले सरकारले निको हुने क्यान्सरमा लगानी गर्नुपर्नेमा जोड दिए । ‘अहिले सरकारले सबै क्यान्सरलाई एउटै बास्केटमा राखेर एक लाख रुपैयाँ दिने गरेको छ,’ उनले भने, ‘निको नहुने क्यान्सरभन्दा पनि बच्चाहरू जस्तो निको हुने क्यान्सरको उपचारमा सरकारले पाँच लाखसम्म सहायता गरेमा धेरै बालबालिकालाई बचाउन सकिने थियो । उनीहरू राज्यको सम्पत्ति हुन् । उनीहरूले देशका लागि धेरै गर्न सक्छन् ।’
अस्पतालले बाल क्यान्सरसम्बन्धी जनचेतना फैलाउन आगामी शनिबार काठमाडौंको हार्डरक क्याफेमा सराइभर मिट र बाल क्यान्सर सचेतना सत्र समेत आयोजना गर्दैछ ।
तस्वीरहरु
प्रतिक्रिया 4