
३ फागुन, काठमाडौं । रातोपुलस्थित धोबीखोला करिडोर छेउ बसिरहेका भुपेन्दर सिंह (३४) को कोठामा बुधबार एक्कासी चार/पाँच जनाको समूह प्रवेश गर्यो । पञ्जाबका सिंहलाई लाग्यो, ‘फेरि तस्करहरुले नयाँ चाल गरिरहेका छन् । उनीहरुको अब निस्किने योजना मात्र होला ।’
‘क्यू आए हो इदर ? कितना दिन हुआ इदर ? (यहाँ किन आएको ? कति दिन भयो)’, कोठामा प्रवेश गरेकामध्ये एक जनाले सोधे । भुपेन्दरका एक जना साथीले जवाफ फर्काए, ‘काम के चक्कर मे… कम्मलो का (सिरक ढसनासम्बन्धी काम गर्नलाई) ।’
भुपेन्दरका अनुसार, उनीहरुलाई कोही नयाँ मान्छे आए काम गर्न आएको भन्नु भनिएको थियो ।
त्यहीअनुसार, उनीहरुले अमेरिका जान हिँडेको भनेर बताएनन् । ‘तर मलाई कताकता शंका पनि लाग्यो, किनभने हामीलाई राख्ने मान्छेहरुमध्ये दुईजना अलिपछाडि चुपचाप बसेका थिए’, भुपेन्दरले सुनाए, ‘त्यसपछि मैले हात जोडेँ, मलाई छुट्टै बोलाए ।’
बाहिर आएपछि बर्दीमा प्रहरी देखेको र आफूहरु अपहरणमा परेको सुनाएको भुपेन्दरले सुनाए ।
लकडाउनमा मोबाइल पसल बेच्नु परेपछि उनले विभिन्न मुलुक जान प्रयास गरिरहेका थिए । त्यहीक्रममा दलालको विश्वासमा परेर उनले भारु ४५ लाख रुपैयाँ बुझाएका थिए ।
यसपछि पञ्जाबको हन्डेसरास्थित घरबाट निस्किदा श्रीमती र छोराले अमेरिकाका लागि विदाइ गरेका थिए । ‘१० देखि १२ दिनको प्रोसेस हो । मेक्सिको पुगेर दुई वर्षको वर्क पर्मिट लिएर सिधैँ अमेरिका छिर्ने भनेको थियो’, उनले सुनाए, ‘अमेरिका जान पाउने भएपछि जमिन बेचेर पैसा बुझाएको थिएँ ।’
भुपेन्दरका अनुसार, उनलाई काठमाडौंबाट यूएई–ब्राजिल हुँदै मेक्सिको लाने भनिएको थियो । सबै यात्रा हवाई उडानमार्फत हुने र मेक्सिकोमा ‘वर्क परमिट’ बनाएर अमेरिका प्रवेश गराउने बताइएको थियो ।
तर ८ फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगतै मानव तस्करी गर्ने गिरोहले बन्धक बनायो ।
‘यो बीचमा उनीहरुलाई आवश्यता पर्दा पैसा माग्न घरमा सम्पर्क गराउँथे, म अमेरिका जाँदैछु भन्ने विश्वास दिलाउन हरियो पर्दामा खिचेको फोटो एडिट गरेर घरमा सेन्ड गर्थे’, उनले सुनाए, ‘२/३ दिनअघि फोनमा बोल्दा एजेन्टलाई हल्का हिन्ट दिने कोशिश गरेँ, त्यतिबेला झन्डै मारिएँ ।’
भुपेन्दरका अनुसार, एजेन्टसँग कुरा गर्दा उनले अरु दिन जसरी सरासर बोलेनन् । उनले बुझ्लान् कि भनेर रोकिँदै रोकिँदै बोलेका थिए । ‘टोनी सर भन्ने एजेन्ट थियो, उसले बुझ्ला कि भनेर भनेको थिएँ । तर उसले बुझ्दै बुझेनन्’, उनले भने, ‘बरु यिनीहरुलाई शंका भयो, त्यसपछि दुई थप्पड हान्यो ।’
भुपेन्दरको घाँटीमा ‘पेपर कटर’ राखियो । ‘तेरो गर्दन काटेर, बोह्रामा राखेर नहरमा फ्याल्दिनू मेरो लागि ठूलो कुरा होइन’, आफूलाई बन्धक बनाउनेले भनेको कुरा उनले अनलाइनखबरसँग सम्झिए, ‘घरकालाई तँ मेक्सिको पुगिसकिन् भन्ने प्रमाण पुगिसकेको छ, तँ ठिक होस् कि नहोस्, हामीलाई मतलब हुँदैन ।’
त्यसपछि उनी चुपचाप बस्न बाध्य भए । ‘मलाई त हामीलाई मार्ने योजना नै थियो होला भन्ने लाग्छ, किनभने, उनीहरुसँग कुनै पनि सक्कली कागजात थिएन’, उनले थपे, ‘पुलिसले कसरी थाहा पायो, तर मैले दोस्रो जन्म पाएँ ।’
उनीसँगै ११ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार उद्दार गरेको छ । उद्दार गरिएकामध्ये उनका साथी राजपुरा, पञ्जाबका सुभास कुमारको छोराको बुधबार नै जन्मदिन थियो । ‘छोराको बर्थ डे गिफ्ट जस्तै भयो’, उनी भावुक भए, ‘तर अमेरिका जान खोज्दा सबथोक सकियो, घर गएर कसरी फेस गर्ने थाहा छैन ।’
भुपेन्दर पनि चिन्ता गर्छन्, ‘बचेको के छ र ! न पैसा रह्यो, न इज्जत । घरमा पनि सबै तनावमा छन् ।’
पञ्जाबको नडलाका जगदिप सिंह (२५) ले पनि आफू काठमाडौंमा बन्धक बनेको अहिलेसम्म आमालाई भन्न सकेको छैनन् । ‘आमाले त विदेश जान पनि दिनुभएको थिएन, मैले नै जिद्दी गरेको हो’, उनले सुनाए, ‘भाइ र दिदीलाई यस्तो भयो भनेको छु, तर ममीपापालाई म फर्किँदैछु मात्र भन्नु भनेको छु ।’
जगदिपका अनुसार, उनका आमाबुबालाई कागजात पूरा नभएको कारण फर्किनु परेको भाइहरुले जानकारी गराएका छन् ।
‘उहाँहरुलाई म मेक्सिको पुगेर फर्किँदैछु भन्ने छ, काठमाडौंमै बन्धक बनाइएको थिएँ भन्ने थाहा पाउनुभयो भने ममी पापालाई कस्तो होला !’, जगदिप भावुक बने, ‘हात बाँधेको थियो, उनीहरुले जे–जे भन्नु भन्यो, त्यो नभने गाह्रो हुन्थ्यो । सबै कुरा घर पुगेरै भन्छु ।’

उनका बुबाले केही महिना अघि मात्रै भारतीय सेनाबाट अवकाश पाएका थिए । ‘घरमा जम्मा भएको पैसा र केही ऋण गरेर ४५ लाख भारु बुझाएका थियौं, आउँदा ३००० अमेरिकी डलर पनि ल्याएको थिएँ’, जगदिपले भने, ‘डलर पनि लग्यो, भएको भारु र एयरपोर्टमा लिएको नेपाली रुपैयाँ पनि लगे ।’
७ फेब्रुअरीमा काठमाडौको विमानस्थलमा ओर्लिएपछि उनलाई दुई दिन छुट्टै होटलमा राखिएको थियो । ‘राति २ बजे फ्लाइट छ भन्दै लाँदै ल्याउँदै गर्थे, दोस्रो दिन यो घरमा ल्याएपछि चाहिँ मसँग भएको सबै कुरा खोसे’, उनले भने, ‘त्यतिबेला नै मेरो पासपोर्ट र अरु कागजातहरु उनीहरुले लगेका थिए ।’
जगदिपको गाउँबाट धेरै जसो क्यानडा गएका छन् । उनले पनि ‘स्टुडेन्ट भिसा’का लागि प्रयास गरेका थिए, तर सफल भएनन् । त्यसपछि घरमै बसिरहेका उनी अमेरिका सजिलै पुगिन्छ भनेपछि लहडमा लागे भन्छन्, ‘सबैले भनेपछि लौ न त जाउँ भनेको थिएँ, बर्बाद भयो ।’
राजपुरा, पञ्जाबका १९ वर्षीय गुरुप्रित सिंह पनि उनीसँगै बन्धक बनाइएका थिए ।
‘प्लस टु सकेर बसिरहेको थिएँ, ४५ लाख भारु तिरे एक हप्तामै अमेरिका पुग्छस् भनेपछि हिँडेको थिएँ’, उनले सुनाए, ‘तर २ फेब्रुअरीमा काठमाडौं ओर्लिएदेखि नै मेरो दुःख सुरु भयो ।’

उनलाई यातना दिँदै घरपरिवारसँग पैसा माग्न लगाइयो । परिवारलाई विश्वास दिलाउने फोटोसपबाट एडिट गरिएका विभिन्न मुलुकमा उनी भएको तस्वीर पठाइयो ।
‘हरियो पृष्ठभूमिमा फोटो र भिडियो खिच्थ्यो, पछि आफू अनुकूल एडिट गर्दो रहेछन्’, उनले भने, ‘बाटोमा अलपत्र परेको छ भनेपछि परिवारलाई जसरी पनि पैसा नपठाइ धरै हुन्नथ्यो ।’
गुरुप्रितले अघि भने, ‘हमे तो ज्यान हि प्यारी थी (मेरो लागि ज्यान नै प्यारो थ्यो) ।’
गुरुप्रितले आफ्नो ठाउँकै बलजित कुँवर नामक महिलामार्फत गिरोहका सदस्यलाई पैसा बुझाएका थिए । ‘मेडमसँग उनीहरुको लिंक थियो, त्यसपछि सबै नगद बुझाएका थियौं’, उनले भने, ‘एक हप्तामा पुग्छस् भनेका थिए, तर सबै फ्रण्ड रहेछ ।’
कोठामा झ्यालको पर्दा समेत आफूहरुलाई खोल्न नदिएको उनी बताउँछन् । ‘केही साथीहरु चुरोट खान्थे, उनीहरुलाई पनि बाथरुमबाट जान्छ भनेका थिए’, गुरुप्रितले सम्झिए, ‘खान त दिन्थ्यो, तर यत्रो ठगियौं भनेपछि केही मुखमै छिर्दैन्थ्यो ।’

पञ्जाबको होसियारपुरका मन्बिर सिंहका अनुसार, बन्धक बनाएर राख्नेहरुले दुई/तीन वटा हरियो पाइप लिएर बसेका थिए ।
‘हर समय साथमा राखेर बस्थे, केही बोल्यो, पर्दा हटाउन खोज्यो भने हानिहाल्थे’, उनले सुनाए, ‘दिउँसो रुँघ्ने ३ जना राति सुत्थे भने दिउँसो सुतेका ३ जनाले रातभर रुँघ्थे ।’
एजेन्टले उनीसँग ४८ लाख रुपैयाँ लिएका थिए । काठमाडौंबाट दुबई, साउदी अरब, ब्राजिल हुँदै मेक्सिको लैजाने उनलाई भनिएको थियो । एजेन्टको कुरा सुनेपछि इलेन्ट्रिसियन उनले पसल छाडेर अमेरिका जाने अवैध बाटो रोजेका थिए ।
‘तर काठमाडौं आएको दुई दिनपछि थाहा भयो, म लुटिएँ’, उनले अनलाइनखबरसँग भने, ‘परिवारलाई म मेक्सिको पुग्न लागेँ भन्ने थियो, म चाहिँ काठमाडौंमै अलपत्र थिएँ । दुई/चार दिनमा हाम्रो मृत्यु तय छ भन्ने मलाई लागेको थियो ।’
तर प्रहरीले ‘कसरी थाहा पायो, कसरी दिमाग लगायो’ भन्ने आफूलाई अनौठो लागेको उनी बताउँछन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, विशेष सूचनाका आधारमा काठमाडौं प्रहरीको टोलीले ‘अपरेशन डंकी’ चलाएर ११ जना भारतीय नागरिकलाई उद्दार गरेको हो ।
‘भारतीय मानवतस्करहरुले भारतीयलाई नै प्रलोभन देखाएर काठमाडौंसम्म ल्याएर बन्धक बनाएको सूचना थियो’, उनले भने ।
उनीहरुलाई बन्धक बनाउने ९ जना पनि पक्राउ परेका छन् । एसएसपी खत्रीले अनलाइनखबरसँग भने, ‘धोबीखोला करिडोर नजिक रहेको घरमा राखेको थाहा पाएपछि छापा मारेको थियौं, यसक्रममा ९ जना पक्राउ परेका छन् ।’

पक्राउ पर्नेमा भारतको मध्यप्रदेशका इन्दुसिंह यादव, रवी मेवाडे, पन्जाबको लुधियानाका अरुण सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, नयाँ दिल्लीको विष्णु गार्डेनका चरणजित सिंह, महिपालपुरका अब्दुल रहिम र राजस्तानका रामचन्द्र शर्मा छन् । उनीहरुलाई नक्कली कागजात बनाउन सहयोग गरेको आरोपमा एक नेपाली नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
एसएसपी खत्रीका अनुसार, पक्राउ परेकाहरुविरुद्ध मुलुकुी अपराध संहिता, २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।
नेपालीस्थित भारतीय दूतावास, अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल), भारतीय प्रहरी र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर थप अनुसन्धान अघि बढाइने एसएसपी खत्रीले बताए ।
प्रतिक्रिया 4