
काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ स्वीडेनको प्रतिष्ठत एसिया टिस्का फिल्म फेस्टिभलमा छनोट भएको छ । स्वीडेन सरकारले आयोजना गर्ने यो महोत्सवमा अन्य एसियाली फिल्म पनि छनोट भएका छन् ।
यसैवर्ष क्यानडाको टोरन्टोमा विश्व प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, मुम्बई, गोटेबर्ग, पुने र केरला फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ ।
छनोटपछि निर्माण टिमले जारी गरेको प्रेस विज्ञप्तिमा फेस्टिभलमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको जनाएको छ । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियकरणमा टेवा पुर्याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
उक्त फेस्टिभल मार्चको अन्त्य र अप्रिलको सुरुवातमा स्वीडेनमा आयोजना हुने जनाइएको छ ।
निर्माता आमोद राईले आठौं फेस्टिभलमा फिल्म छनोट हुनुले आफूलाई उत्साह मिलेको बताए । यो फिल्मको नेपाल थिएट्रिकल मिति चाहिं जेठ १८ गते तोकिएको छ ।
दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।
अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ । फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लीको संगीत र किशोर आचार्यको ध्वनि रहेको छ ।
प्रतिक्रिया 4