
काठमाडौं । फिल्मकर्मीले १७५ रुपैयाँमा एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र चलचित्र संरक्षण मञ्चबीच आवधिक बीमा योजनबारे सम्झौता भएको छ ।
सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टीकाराम रखाल र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिंह भण्डारी लगायतको उपस्थिति थियो ।
यो सम्झौतासँगै चलचित्र संरक्षण मञ्चले आफ्ना सदस्य फिल्मकर्मीको बीमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिए । उनले अन्य फिल्मकर्मीलाई पनि यसबाट लाभ लिन आग्रह गरेका छन् ।
कामको क्रममा वा भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्न बीमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले बताए । न्यूनतम एक लाखदेखि अधिकतम २० लाखसम्मको आवधिक बीमा गर्ने योजना ल्याएको हो ।
यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर एक लाखसम्मको बीमा हुने व्यवस्था छ भने उमेर र बीमांक रकम अनुसार शुल्क फरक पर्न जाने उपमहासचिव गिरीले जानकारी दिए । फिल्मकर्मीको हकहित र संरक्षण गर्ने उद्देश्यले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सयभन्दा बढी सक्रिय सदस्य छन् ।
प्रतिक्रिया 4