+
+

लगानीको वातावरण नबन्नु अर्थतन्त्रका लागि मुख्य चुनौती : चेम्बर अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १४:५५
फाइल तस्वीर

६ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण बन्न नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

लगानी योग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको उनको भनाइ छ ।

राष्ट्रिय व्यापार संघको साधारणसभालाई सम्बोधन गर्दै मल्लले भने, ‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन ।’

सरकारको पूँजीगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए ।

बैंक वित्तीय संस्थामा उच्च ब्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाइ छ ।

अर्थतन्त्रको वाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उनले पूँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए ।

पूँजीगत खर्च समयमै हुनेगरी समयबद्ध तालिका निर्धारण गर्नुपर्ने उनले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको ७ महिना पूरा भइसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सीमित छ । सुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्ने गरी नेपाल राष्ट्र बैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा चालु आर्थिक वर्षमा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ,’ मल्लले भने, ‘मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्न कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्बन गर्न आवश्यक छ ।’

उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?