+

नामिबियासँग नेपालको दोस्रो हार

२०८० फागुन  ९ गते १५:०१ २०८० फागुन ९ गते १५:०१
नामिबियासँग नेपालको दोस्रो हार

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए ।

आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए । दुवैले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्‍याए । त्यसक्रममा आसिफले अर्धशतक पनि पूरा गरे ।

तर २०औं ओभरको पाँचौ बलमा स्कोल्जले नै आसिफलाई एलबीडब्लू धरापमा पारे । कप्तान रोहितकुमार पौडेल ९ बल खेलेर शून्यमै आउट भए । भीम सार्की र कुशल मल्लले साझेदारीको संकेत देखाएका थिए, तर २७औं ओभरको तेस्रो बलमा लेगमा सर्ट खेल्ने क्रममा फाइन लेगमा क्याच आउट भए ।

थप ४४ रन जोड्दा नेपालले बाँकी ४ विकेट गुमायो र ३७.१ ओभरमा १६८ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका स्कोल्ज र निकोल लेफ्टी–इटनले समान ४–४ विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसको नाममा १–१ विकेट रह्यो ।

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाकाे पनि सुरुवात राम्रो रहेन । मात्र १० रन जोड्दा ओपनर निको डाभिन (८) रनआउट भए भने थप ७ रन जोड्दा रोहितकुमार पौडेलले जेपी कोट्जेको विकेट लिए । तर माइकल भान लिंगेन र जेराल्ड एरास्मसले तेस्रो विकेटका लागि महत्वपूर्ण ५२ रनको साझेदारी गरे । १३औं ओभरको पहिलो बलमा कुशल मल्लले लिंगेनको विकेट लिए ।

त्यसपछि एरास्मसले ठूलो साझेदारी त गर्न सकेनन्, तर २२औं ओभरको अन्तिम बलमा आउट हुनुअघि अर्धशतक पूरा गरे । ५६ बल खेलेका उनले ८ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाएका थिए ।

नेपालले थप ३ विकेट लियो, तर छैटौं नम्बरमा आएका जेजे स्मिथले अविजित ३४ रनको महत्वपूर्ण पारी खेलेपछि नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र कुशल मल्लको नाममा एक–एक विकेट रह्यो ।

त्रिदेशीय सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँगै ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । अब नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

नामिविया नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय