
८ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च नेताको पदवी दिनुपर्ने प्रस्ताव राखेका छन् ।
केन्द्रीय मुख्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा बुढाले अध्यक्ष ओलीलाई सर्वोच्च नेताको पदवी दिनुपर्ने प्रस्ताव ल्याएका हुन् ।
उनले एमालेले अगाडि सारेको मिसन-०८४ को उद्देश्य पूरा गर्न पनि अध्यक्ष ओलीलाई एउटा सर्वोच्च नेताको पदवी दिइनुपर्ने तर्क गरेका छन् ।
‘जनतामा आधारित कार्यकर्ताको पार्टी भनेर हामी वडादेखि केन्द्रसम्म कार्यकर्ताको पिलर सिर्जना गर्दैछौं । त्यसो भने मास्टर पिलरका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई घोषणा गरेर जाने विषय अगाडि बढाऔं भनेको हुँ’ बुढाले अनलाइनखबरसँग भने ।
यो विषयअघि कर्णालीका केन्द्रीय सदस्यहरुसँग ओलीले केन्द्रीय कार्यालय च्यासलमा गरेको छलफलमा पनि उठाएको बताए । त्यही प्रस्ताव पार्टीको केन्द्रीय कमिटी बैठकमा राखेको उनले बताए ।
‘समकालीन राजनीतिमा अध्यक्षको जुन उचाइ छ, त्यसकारणले पनि राष्ट्रवादी नेता अथवा सर्वोच्च नेता अथवा राजनेताको पदवी दिएर जाने कुरा विषय बनाउनुपर्छ भनेको हुँ’, उनले भने ।
कर्णालीका केन्द्रीय सदस्यहरुको समूहगत छलफलमा बुढाले ओलीलाई सर्वोच्च पदवी दिएर जानुपर्ने मत राखेका थिए । ‘यो कुरा छलफलको विषय बन्दा कम्युनिष्ट आन्दोलन बलियो हुन्छ, पार्टीको उचाइ बढ्छ र मिसन-०८४ मा एउटा तरंग ल्याउन सकिन्छ’, बुढाले भने ।
यसअघिको तस्वीर र नाम अन्यथा भएकोमा सच्याइएको छ -स .
प्रतिक्रिया 4