
काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्ने एक्सन फिल्म ‘पिताम्बर’को छायांकन शुक्रबारदेखि नवलपरासीको त्रिवेणीधाममा सुरु भएको छ ।
पहिलो चरणको तालिका अनुसार नवलपरासीमा छायांकन सुरु भएको हो । त्यसपछि बुटवल र नेपालगञ्जमा छायांकन हुने निर्मात्री समेत रहेकी चौलागार्ईंले बताइन् । पहिलो चरणमा कलाकारहरु सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी र गौरव बिष्टका दृश्यहरु छायांकन गरिनेछ ।
प्रदीप खड्का र सौगात मल्ल दोस्रो चरणमा जोडिने जनाइएको छ । ‘ऐंचो पैंचो’पछि निर्देशक चौलागाईंको यो दोस्रो कथानक फिल्म हो । आँचल शर्मा पनि फिल्मको महत्वपूर्ण भूमिकामा छिन् ।
फिल्म निर्माणमा केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको छ । प्रधानले फिल्मसमेत खिच्नेछन् । तीन चरणमा फिल्म छायांकन हुने जनाइएको छ । बाँकी छायांकन वैशाख, असार र साउनमा हुनेछ ।
फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्मको बजेट पाँच करोड रुपैयाँ अनुमान गरिएको छ ।
प्रतिक्रिया 4