
११ फागुन, काठमाडौं । कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका १९ वर्षीय युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत, काठमाडौंको आदेशले रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरी वृत्त, कीर्तिपुरले जनाएको छ । उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जाहेरीमा सामान्य चिनेका शर्माले आफ्नो जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएको उल्लेख छ । साथी रितिककुमार यादव समेत बस्ने गरेको कोठामा राखेर उनले ३ दिनसम्म पटकपटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ ।
छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले दिएको जाहेरीमा उल्लेख छ । रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् । तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ ।
कोठामा पीडितको बहिनी समेतलाई राखेर दिदीलाई बलात्कार गरेको दाबी जाहेरीमा छ । आरोपित शर्माले चाहिँ पीडितले ‘सञ्चो छैन भनेपछि त्यो दिन औषधि दिएको’ बताएका छन् ।
‘रात पनि परिसकेकाले आज यतै बस भोलि बिहानै घरमा जाउँला भनेको थिएँ, त्यसपछि सबैले खाना खाएर साथी रितिककुमार, उनको बहिनी र म चारै जना एउटै खाटमा सुतेका हौं’, उनले भनेका छन्, ‘भोलिपल्ट घर जान डर लाग्यो, हिजो घरमा गइन अब मलाई गाली गर्छन् भनेपछि मैले अब यतै बस भनेर भनेको हो ।’
प्रहरीका अनुसार, शर्माविरुद्ध यसअघि जिल्ला अदालत, भक्तपुरमा समेत बलात्कार मुद्दा चलेको थियो । पीडित भनिएकी किशोरीको परिवारले नै दिएको जाहेरीका आधारमा जिल्ला अदालत, भक्तपुरबाट चलेको मुद्दामा उनलाई चार महिना कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला भएको थियो ।
अहिले फेरि पीडित नाबालिग भएको भन्दै जबरजस्ती करणीको मुद्दा अदालतमा दर्ता भएको छ ।
प्रतिक्रिया 4