+
+

यौनजन्य हिंसाका पीडितलाई किन विश्वास गरिनुपर्छ ?

संजिता तिम्सिना संजिता तिम्सिना
२०८० फागुन १३ गते १४:५०

यौनजन्य हिंसाका घटनामा प्रभावितको कुनै पनि प्रकारको दोष हुँदैन । यस्ता घटनाका दोषी र कारक दुवै केवल पीडक हुन् । तर अपशोच; परिवार, समाज र कानुन कार्यान्वयनकर्ताहरूले प्रभावितलाई विश्वास गर्न नसक्दा, यौनजन्य हिंसा जस्तो जघन्य अपराधका प्रभावितले विभिन्न किसिमको क्षतिको सामना गरेका ज्वलन्त उदाहरण हाम्रासामु प्रशस्त छन् ।

यौनजन्य हिंसाका अधिकांश प्रभावितलाई समाजले आरोपित तवरले व्यवहार गर्छ । यहाँसम्म कि यस्तो निन्दनीय अपराध गर्ने व्यक्ति सार्वजनिक भएपछि, ऊ गुमनाम हुनुपर्ने हो । तर दुर्भाग्य, हाम्रो अवस्था उल्टो छ । प्रभावित नै लुक्नु र गुमनाम हुनुपर्ने अवस्था सिर्जना गरिन्छ । यहाँसम्म कि, अदालतले पीडितको पक्षमा फैसला गरेको घटनामा समेत पीडित र उसका परिवारलाई, उनीहरू बसिरहेको स्थानबाट विस्थापन हुनुपर्ने अवस्था सिर्जना गरिन्छ ।

नेपालको कानुनमा कस्ता घटनालाई यौनजन्य हिंसा मान्ने भन्ने स्पष्ट परिभाषा दिएको छ । तर जब–जब हाई प्रोफाइल (शक्ति केन्द्रित) व्यक्तिबाट भएका घटनाहरू बाहिर आउँछन् । प्रत्येक पटक चियापसलदेखि संसद् भवनसम्म लामो बहस सुरु हुन्छ । तर दुःखको कुरा, ती बहसहरू प्रभावितलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले होइन बरु प्रभावितलाई नै दोषी ठहर गर्नका लागि केन्द्रित हुन्छन् । यस प्रकारको छलफल र बहसले अपराधीलाई सुरक्षित महसुस गराउँछ र प्रभावितहरूले जोखिमयुक्त अवस्थाको महसुस गर्ने र न्यायप्रतिको आशा गुमाउने गर्दछन् ।

प्रभावित दोषारोपणको संस्कृति

यौनजन्य घटना मानवअधिकारको हनन्का साथै हिंस्रक र निन्दनीय अपराध हो । यस्ता अपराधका लागि कुनै पनि पीडितले अनुमति दिंदैनन् । तर पितृसत्तात्मक मानसिकता लिएर बसेका आम नागरिक हुन् वा सांसद, शिक्षित हुन् वा अशिक्षित जो–कोहीले पीडितलाई दोषी देख्छन् । यतिसम्म कि सामन्ती पितृसत्तात्मक मनोवृत्ति धारकहरू ‘यौनजन्य हिंसाका लागि पीडितले नै उक्साएको हुनुपर्छ’ भनी पीडितलाई नै दोषी करार गर्न समेत पछि पर्दैनन् ।

हालसम्म भएका अनुसन्धान अनुसार ८० देखि ९० प्रतिशत यौनहिंसा पीडितले चिनेका व्यक्तिबाट हुने गरेको छ । नेपाल प्रहरीको लैंगिक हिंसाको वार्षिक तथ्यपत्र (फ्याक्टशीट) ले पनि यो तथ्यलाई पुष्टि गर्दछ । आर्थिक वर्ष २०७९÷८० को साउनदेखि असार मसान्तमा प्रहरीमा उजुरी परेका २ हजार ३८७ बलात्कारका घटनामध्ये ८८.२ प्रतिशत पीडितले चिनेका वा कुनै न कुनै सम्बन्ध भएका अभियुक्तहरू रहेका छन् ।

तर, समाजमा प्रभावितलाई बारम्बार दोषी सावित गर्न तुच्छ प्रश्न गरिन्छ । जस्तो त्यो मान्छेसँग किन गएको ? हिजोसम्म एउटै मोटरसाइकल र कारमा बसेर उसँगै हिंड्ने अनि उसैलाई आरोप लगाउने ? उनीसँग हाँस्दै म्यासेज गरेर च्याट गरिरहेकी थिइन्, एउटै स्टेजमा उनीहरूसँगै नाच्दै, गीत गाउँदै थिए । यस्तो अवस्थामा, यो घटना कसरी सत्य हुनसक्छ ? अझ मन मिले चमत्कार नत्र बलात्कार जस्ता भ्रामक उखान टुक्काले नेपाली समाजमा चर्चा पाएको छ ।

समाजमा प्रभावितलाई बारम्बर दोषी सावित गर्न तुच्छ प्रश्न गरिन्छ । जस्तो त्यो मान्छेसँग किन गएको ? हिजोसम्म एउटै मोटरसाइकल र कारमा बसेर उसँगै हिंड्ने अनि उसैलाई आरोप लगाउने ?

एकपटक हामीले आफूलाई पीडितको ठाउँमा राखेर सोचौं त ! यस्ता आरोपित प्रश्नहरू, अस्वीकार र घृणाले प्रभावितमा कस्तो असरहरूको सिर्जना गर्दछ ? जब, ८० प्रतिशतभन्दा बढी यौनजन्य अपराध चिनजानका व्यक्ति, त्यसमा पनि प्रायःजसो पीडितले विश्वास गरेका वा रोल मोडल मानेका व्यक्तिबाट हुने गर्दछन् । यस्तो अवस्थामा पीडितले सामना गर्ने मनोसामाजिक आघातको प्रभाव कुन स्तरको हुन्छ ? यौनजन्य हिंसाका प्रभावितहरूको अनुभवमा आधारित अनुसन्धानहरूले, एकपटक बलात्कारको घटना भएतापनि प्रभावितले सहयोग लिन खोज्दा वा न्यायिक प्रक्रियामा जाँदा बारम्बार बलात्कार भएको पीडा अनुभूति गर्ने देखाउँछ । जसले प्रभावितलाई पुनः प्रभावित (भिक्टिमाइज) हुने गर्दछन् ।

समाजमा पीडितलाई नै दोषारोपण गर्ने संस्कृति स्थापित भएको छ । यौनजन्य हिंसाका प्रभावितहरूले आफूले भनेको कुरा अरूले नपत्याउने, आफू र आफ्नो परिवारले सामाजिक, आर्थिक लगायत थप चुनौती व्यहोर्नुपर्ने, आफ्नो र परिवारका अन्य सदस्यहरूको बेइज्जत हुने डरका कारण यस्ता घटना विरुद्ध बोल्न निरुत्साहित हुने गर्दछन् । जसका कारण धेरैजसो यौनजन्य हिंसाका घटनाहरू उजुरी हुँदैनन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ देखि ४९ वर्ष उमेर समूहका शारीरिक र यौनजन्य हिंसाको सामना गर्ने महिलाहरूमध्ये ६६ प्रतिशतले कुनै पनि औपचारिक निकायमा हिंसा विरुद्ध सहयोग नलिने गरेको तथ्य सार्वजनिक गरेको छ ।

घटनाहरू उजुरी भइहाले भने पनि विभिन्न, डर, धम्की र सामाजिक लाञ्छनाका कारण होस्टाइल हुने दर उच्च छ । जसको परिणामस्वरूप, यस्ता यौनजन्य हिंसाका घटनाहरू समाजमा दिनप्रतिदिन बढ्दै गइरहेका छन् । नेपाल प्रहरीमा उजुरी भएको बलात्कारका घटनाहरूलाई मात्र आधार मान्ने हो भने पनि गएको १० वर्षमा बलात्कारका घटनाको उजुरी दर १६२ प्रतिशतले वृद्धि भएको छ (आ.व. २०७०÷७१ मा ९१२ वटा बलात्कारको घटना उजुरी भएकोमा आ.व. २०७९÷८० मा २ हजार ३८७ घटना उजुरी भएका छन् ।)

सहमति वा अपराध ?
जब ८० प्रतिशतभन्दा बढी यौनजन्य हिंसा चिनजानका व्यक्तिबाट हुन्छ भन्ने तथ्य स्थापित छ, हामीले किन यो कुरा स्वीकार गर्न सकिरहेका छैनौं कि, कुनै व्यक्तिसँग हिंड्नु, बोल्नु, सँगै गीत गाउनु, नाँच्नु, सँगै बस्नु उसलाई हिंसा गर्न स्वीकृति दिनु हैन ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ ले करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन र १८ वर्षभन्दा कम उमेरका व्यक्तिको मञ्जुरीलाई मञ्जुरी नमानिने विषयमा स्पष्ट पारेको छ । नेपालको कानुनले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा समेत वैवाहिक बलात्कार ठहरिने व्यवस्था गरेको छ । एउटै घरमा सँगै बस्ने वा एउटै बेडमा सुत्ने व्यक्तिबाट समेत बलात्कार हुन्छ भन्ने सत्य स्थापित छ । तर, पुरुषप्रधान मानसिकताधारीहरू यो यथार्थ मान्न तयार छैनन् । उनीहरू त केवल पीडितलाई कसरी अपराधी प्रमाणित गर्ने र अपराधीलाई कसरी उन्मुक्ति दिने भन्ने बहसको नेतृत्व गर्न तत्पर रहन्छन् ।

हालसम्मको अनुभवमा, यौनजन्य हिंसाका अधिकांश घटनामा प्रभावित र उनीहरूको परिवारलाई विभिन्न प्रलोभन, डर, त्रास देखाएर घटना लुकाउन दबाब सिर्जना गरिन्छ । यस्ता घटनाहरूमा सुरुमा त प्रभावितको चरित्रमाथि आक्रमण गरिन्छ र घटना बाहिर आउन नदिन विभिन्न षड्यन्त्र गरिन्छ । यदि यी सबै प्रयासहरू असफल भए र घटना रिपोर्ट भयो भने, पीडकको पहिलो प्रयास प्रभावित नाबालिग होइन वा प्रभावित र पीडक कुनै प्रकारको सम्बन्धमा थिए भनेर प्रमाणित गर्ने प्रयास गरिन्छ । यसले प्रभावितको चरित्रमा प्रहार गर्न, समाजमा अर्काे तहको बहस सुरुवात गर्न प्रेरित गर्छ । पितृसत्ताले उन्मत्त भएको समाजमा यौनजन्य हिंसाका घटनाहरूमा यी नियमित परिदृश्य जस्तै भइसकेको छ ।

किन प्रभावितलाई सहयोग र सशक्त गर्न महत्वपूर्ण छ ?
प्रत्येक प्रभावितको आत्मसम्मानका साथ न्याय पाउने अधिकार छ । तर समाजमा प्रभावितप्रति रहेको पूर्वग्रही सोच, उनीहरूले समाजमा अनुभव गर्ने लाञ्छना र नकारात्मक परिणामका कारण, प्रभावित स्वयंले पनि आफूलाई नै घटनाको दोषी मान्ने, लज्जित हुने र हीनताबोधको महसुस गर्ने गर्दछन् । जसका कारण, प्रभावितलाई, आफूमाथि भएको अन्याय विरुद्ध लड्न निर्णय लिन र आत्मबल जुटाउन समेत गाह्रो पर्दछ ।

प्रभावितलाई सुरक्षित महसुस गराउन र न्यायको सधैं जित हुन्छ भनेर विश्वास दिलाउन, परिवारका सदस्य, समाज र कानुन कार्यान्वयनकर्ताले सामूहिक रूपमा काम गर्नुपर्दछ । जसका लागि प्रभावितलाई गोप्य, सुरक्षित र विभेदरहित वातावरणमा सहयोग प्राप्त गर्ने वातावरण सिर्जना गर्नु अति महत्वपूर्ण हुन्छ ।

यसका लागि सर्वप्रथम, प्रभावितलाई विश्वास गरिनुपर्दछ र उनीहरूमाथि जे भयो त्यसमा उनीहरूको दोष छैन र उनीहरूमाथि भएको अन्याय विरुद्धको लडाइँमा उनीहरू एक्लो छैनन् भनेर विश्वास दिलाउनु आवश्यक छ । जसले प्रत्येक नागरिकको मनमा हाम्रो देशमा न्याय सम्भव छ भनेर अनुभूति गराउँछ, कुनै पनि हिंसाका घटना सहज रूपमा उजुरी हुने र प्रभावितले न्याय प्राप्त गर्ने वातावरणको सिर्जना हुन्छ ।

(तिम्सिना महिला अधिकारकर्मी तथा लैंगिक समानता र सामाजिक न्याय अभियन्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?