
१३ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सचिवलाई दबाब दिएका छन् ।
राष्ट्रपतिका भतिज चितवन रत्ननगरका अनिलराज पौडेललाई उपाध्यक्ष नियुक्त गर्न मन्त्री आचार्यले मन्त्रालयका सचिव सुमनराज अर्याललाई तोक आदेश दिएका हुन् ।
२६ माघमा मन्त्री आचार्य समक्ष परिषदमा राष्ट्रपति पौडेलका भतिज अनिलले ‘नियुक्ति दिलाई पाउँ’ भन्दै निवेदन दिएका थिए । पौडेलले पत्र लेखेको तीन दिनपछि २९ माघमा मन्त्री आचार्यले ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भनी तोक आदेश दिएका छन् ।
मन्त्री आचार्य राष्ट्रपति पौडेलका भाञ्जा हुन् ।
मन्त्री आचार्यले तोक आदेश दिएपनि सचिव सुमनराज अर्यालले पौडेलको नियुक्ति प्रक्रिया अघि नबढाएको मन्त्रालय स्रोतको दाबी छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री आचार्यले भने समाजकल्याण परिषदको उपाध्यक्ष बन्न योग्यता पुगेका जोसुकैले निवेदन दिन सक्ने बताए । ‘उपाध्यक्ष हुन पाउँ भनेर निवेदन योग्यता पुगेका सबैले दिन पाउने भए । मैले उपाध्यक्ष बनाउने होइन । मन्त्रिपरिषद्ले नियुक्त गर्ने हो’, उनले भने ।
मन्त्री आचार्यले आफूले पौडेललाई नियुक्तिका लागि सचिवलाई तोकआदेश नदिएको पनि दाबी गरे ।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनका भतिज अनिलले सहकारी विकास बोर्डको अधिकृत तहको जागिरबाट स्वेच्छिक अवकाश लिएका थिए ।
यसअघिकी समाजकल्याण मन्त्री उमा रेग्मीले अमेरिकाको स्थायी बसोबास अनुमति प्राप्त बुहारी मोनिका भट्टराई अधिकारीलाई उपाध्यक्षमा नियुक्त गरेकी थिइन् । विवाद भएपछि मोनिकाले १४ माघमा राजीनामा गरेकी थिइन् ।
समाज कल्याण परिषद्को उपाध्यक्षको सेवा अवधि ४ वर्षको हुन्छ भने सेवा सुविधा सचिवसरह हुन्छ । परिषद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सूचीकरण तथा अनुगमन गर्ने निकाय हो ।
हेर्नुहोस् पत्र :
प्रतिक्रिया 4