+
+

इतिहासलाई नबङ्ग्याऔं

मेरो एउटै प्रश्न छ– यदि गलत कुराले इतिहास नै गलत देखिने हामीलाई थाहा हुँदाहुँदै, मानिसहरू आफ्नो वा अरूको कुरामा किन बढाइँचढाइ गर्छन् वा अरूले गरेको कामलाई निमिट्यान्न पार्न खोज्छन् ?

अमृता लम्साल अमृता लम्साल
२०८० फागुन १४ गते ७:५०

कुरा आफैंले लेखेको पुस्तक ‘मिडिया, महिला र म’ बाटै सुरु गरौं। गत असोज २७ गते २०८० को दिन उक्त किताबको विमोचन भएको थियो। विमोचन भएको भोलिपल्ट बिहानै लेखक प्रभा कैनीको इमेल पाएँ।

उहाँले, मेरो पुस्तकमा भएका त्रुटिबारे यस्तो लेख्नुभएको थियो– ‘अर्को कुरा, २० पेजमा नै २०११ सालमा राजा त्रिभुवनबाट गठित सल्लाहकार सभामा मंगलादेवी, मायादेवी शाह, विद्यादेवी देवकोटा, पुण्यप्रभा ढुङ्गाना र प्रतिभा झा मनोनित भए लेख्नुभएको रहेछ। विद्या देवकोटा मेरी आमा हुनुहुन्छ। आमाले भनेको मलाई थाहा भएन। आमाको किताब छ एउटा त्यसमा पनि उल्लेख भए झैं लागेन। साँच्चै यो हो भने आमाको ऐेतिहासिक घटनामा थप्नुपर्ने हुन्छ। आमाको किताब म फेरि दोहोर्‍याउँछु, कतै यसको प्रसङ्ग छ कि ! तपाईं पनि यसको स्रोत मलाई उपलब्ध गराउनुहोस् न है!’

इमेल पढेपछि मेरो नाक–मुख सुक्यो। कति मिहिनेत गरेर लेखेको किताबमा ‘पहिलो गाँसमै ढुङ्गा !’ भने जस्तै लाग्यो। कुरा जे लेखेको भए पनि मैले कतै नपढी त यस्तो पक्कै लेखिनँ। तर, केमा पढें होला ? भनेर खोज्न थालें। किताब लेखनको क्रममा थुप्रै किताब तथा लेखहरू पढेकी थिएँ। अब कुनबाट यस्तो तथ्य निकालें होला भनेर सबै डकुमेन्ट थुपारें।

एउटा गल्ती के गरेछु भने, सकेसम्म हरेक स्रोतलाई पाद टिप्पणीमा उल्लेख गर्ने गरेकोमा त्यसमा स्रोत उल्लेख गर्न छुटाएछु। मैले मात्र होइन, किताब सम्पादन गर्ने पत्रकार/सम्पादक विमल आचार्य र किताब पर्फेक्ट होस् भनेर पानापिच्छे राम्रो बनाउन खटाइलाई कडाइकासाथ पालन गर्न जोड दिने अक्षर क्रिएसनकी अध्यक्ष डाक्टर अर्चना थापाको नजरबाट पनि त्यसमा स्रोत नखुलाएको कुरा चिप्लिएछ। किताब निस्कनु अगाडि प्रभा कैनी विद्यादेवी देवकोटाको छोरी भन्ने थाहा पाएको भए, त्यतिबेलाको अरू कुराहरू पनि सोध्न पुगिन्थ्यो होला।

धन्न एक घन्टाजति रुमल्लिएपछि स्रोत फेला पर्‍यो। त्यो कुरा महिला सुरक्षा दबाब समूहले २०७७ साल असोजमा प्रकाशन गरेको पुस्तक, ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी’मा प्रकाशित राजनैतिक व्यक्तित्व शशि श्रेष्ठको लेख ‘नेपालमा महिला आन्दोलन’बाट साभार गरेकी रहिछु; उक्त पुस्तकको पेज ३५ मा ती कुराहरू छापिएको रहेछ। किताबको अर्को संस्करणमा उपरोक्त कुरा पक्कै सच्याइनेछ।

आज यस्ता सन्दर्भहरूको बारेमा लेख्न लागेकोले आफ्नै किताबमा भएको गलत तथ्यबाट नै सुरु गरेकी हुँ।

अर्को सन्दर्भ– मंगलादेवी सिंहको, २०५१ मा प्रकाशित किताब, ‘नारी संघर्षका पाइलाहरू’मा नेपाली महिलाले २०१५ सालमा मात्रै पहिलो पटक भोट हालेको उल्लेख रहेछ, जबकि २०१० साल भदौ १७ गते भएको काठमाडौं नगरपालिकाको चुनावमा साधना प्रधान निर्वाचित भएकी थिइन्। यस्ता कुराहरू सच्याउँदै नजाने हो भने इतिहास नै यताउति पर्ने सम्भावना हुनसक्छ।

यो कुरा लेख्ने वा लेखाउनेले पनि भनिदिनुपर्छ। मंगलादेवी त अहिले हुनुहुन्न तर, उहाँका परिवार, हितैषी र नेपाली कांग्रेसको भ्रातृ संगठन महिला संघ त सक्रिय नै छ। त्यो सच्याउने काम उहाँहरूबाट भए पनि राम्रै हुन्थ्यो।

२०११ सालसम्म पशुपतिनाथको मन्दिरमा ‘कुकुर र अछूतलाई प्रवेश निषेध’ भनिएको रहेछ। त्यही वर्ष ‘जाततोड मण्डल’ले सिद्धिबहादुर खड्कीको संयोजकत्वमा पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न आन्दोलन गरिएको रहेछ। यसको जानकारी मैले, मिठाइदेवी विश्वकर्माबाट पाएकी हुँ।

लिन्डसे भ्यान गेल्डरले पनि ब्रा जलाएको होइन भनेर लेखेकी छन्; तर महिलाहरूलाई हियाउन त्यो कुराको प्रचार भइनैरहेको छ। अमेरिका धेरै टाढाको देश, यहाँ समेत बारम्बार त्यसको उदाहरण दिइरहिन्छ

उहाँसँग मैले ‘हजुरआमाका कथा’ लेख्ने बेलामा कुराकानी गरेकी थिएँ। मसँग अझै पनि उहाँसँग कुराकानी गरेको रेकर्ड सञ्चित छ। साथै, उहाँको कथा ‘सेतोपाटी’ अनलाइनमा २०७६ साल भदौ ९ गते प्रकाशित भएको थियो।

उहाँका अनुसार, उहाँ त्यो आन्दोलनको समयमा भारतमा सुँडेनी तालिम लिन जानुभएको कारणले, उहाँकी बहिनी लगायत परिवारका सदस्यहरू हुनुहुन्थ्यो, तर उहाँको उपस्थिति थिएन। त्यो दिन आन्दोलन चर्कियो; लाठीचार्ज समेत भयो र ७५० जना पक्राउ परे। उहाँकै मुखबाट ‘म त्यहाँ थिइनँ’ भने पनि बारम्बार उहाँ त्यहाँ हुनुहुन्थ्यो भनेर लेखिन्छ। तथ्य थाहा भइसकेपछि ऐतिहासिक कुराहरू त तोडमरोड नगरे हुन्थ्यो जस्तो लाग्छ; तर सच्याउन किन गाह्रो हुन्छ होला ?

त्यसैगरी बारम्बार नभएको कुरालाई फलानाले नै गरेकै हो भन्ने अर्को प्रसंग, योगमायाले सती प्रथा अन्त्य गर्न माग गरेको भन्नेबारे पनि हो। यसबारेमा मानिसहरूलाई अझै पनि भ्रम छ।

योगमायाले, राणा शासकहरूसँग मागेको ‘सत्य-धर्म-भिक्षा’ थियो; ‘सती प्रथा’ होइन। अर्थात्, स्थानीय स्तरमा भएको सामाजिक असमानता, अन्याय, शोषणको विरुद्धमा उनले आवाज उठाएकी थिइन्। यसबारेमा, ‘योगमाया’ उपन्यासकी लेखक नीलम कार्की ‘निहारिका’ले पनि योगमायाको माग सती प्रथा अन्त्य गर्ने नभएको भनेर पटक–पटक भन्नुभएको छ। तर, मानिसहरू यस कुरालाई ध्यान नै दिंदैनन् वा सच्याउन चाहँदैनन्।

योगमायाकै बारेमा, त्रिविका सह-प्राध्यापक राम लोहनी भन्नुहुन्छ, ‘१९२० मा सती प्रथाको अन्त्यको घोषणा भएको हो। त्यो घोषणामा योगमायाको मागको पनि असर परेको ठान्नु अस्वाभाविक त होइन। किनभने योगमायाको माग सती प्रथाको अन्त्यको पनि थियो। तर योगमायाले जलसमाधि लिएको कारण चाहिं सती प्रथाको अन्त्यको माग राखेर होइन। किनभने त्यो बेला सती प्रथा कानुनतः अन्त्य भइसकेको थियो। योगमायाले विसं १९९८ मा जलसमाधि लिएकी थिइन्। योगमायाको पछिल्लो माग ‘धर्मराज्य’ को थियो।’ जोसुकैले जेसुकै भने पनि,  मानिसहरू त्यही कुरालाई बारम्बार दोहोर्‍याइरहन्छन्।

कतिसम्म भएको छ भने, कसैले त्यो कुरा बोलिरहँदा, उनीहरूकै अगाडि, ‘त्यो त होइन है!’ भन्यो; लेखेर आउँदा त्यही नै प्रकाशित भइरहेको हुन्छ।

त्यसैगरी इतिहासले बिर्सिसक्न लागेको तथ्यमध्ये एक तथ्य, छोरीलाई पैत्रिक सम्पत्तिमा हक दिलाउन डाक्टर शान्ता थपलियाले खेल्नुभएको भूमिका पनि कतिपय ठाउँमा मेटिइसक्यो। अनुसन्धानमूलक लेखहरूमा पनि उहाँलाई विरलैले स्थान वा क्रेडिट दिन छाडिसके।

त्यो बेला, उहाँको नेतृत्वमा पछिलागेर हिंड्ने हामी जिउँदैछौं; तर मानिसहरू लाजै नमानी उहाँको देनलाई नदेखेको जसरी गायब पारिदिन्छन्। यो त धेरै अगाडिको कुरा पनि होइन; उहाँ जिउँदै हुनुभएको भए, उहाँलाई यसो गर्न गाह्रै हुन्थ्यो होला ! यसरी तथ्यलाई बङ्ग्याउँदै जाने हो भने फेरि पनि इतिहासमा केही नाम र केही कामहरू हराउँछन्/मेटिन्छन्।

धेरै अगाडिको कुरा छाडौं, इतिहास लेख्न चाहिने माध्यमहरू भनेको अन्तर्वार्ता, त्यतिबेलाको लेख, फोटो आदि हुन्। यदि कसैले ती व्यक्तिहरूलाई चिनेको, त्यो व्यक्ति वा उसले, उनले गरेको कामसँग वा घटनाहरूसँग जोडिएको थियो भने वा रेकर्ड गरेर राखेको छ भने, त्यसैमा आधारित रहेर त्यसबारेमा जान्ने अरू व्यक्तिहरूसँग सोधेर, खोजेर पनि लेख्न सकिन्छ।

तर, दोस्रो पक्षले नै पहिलो पक्षको कुरा लुकाएर आफूलाई मात्रै अगाडि ल्याउने काम गरिरहन्छ भने इतिहास कसरी तथ्यपूर्ण हुन्छ ? हाम्रो देशमा कतिपय विषयमा त्यही नै भइरहेछ भन्दा अत्युक्ति नहोला। यो त ‘फेक न्युज’ ले बजार हल्लाएको कुरा जस्तै हो।

‘फेक न्युज’ वर्षौं वर्षसम्म इतिहासमा कसरी जरा गाडेर बस्छ भन्ने कुरामा पनि एउटा उदाहरण पेश गर्न चाहन्छु।

सन् १९६८ सेप्टेम्बर ७ मा अमेरिकाको न्युजर्सी राज्यको एटलान्टिक सिटी ब्रोडवाकमा ‘मिस अमेरिका प्रोटेस्ट’ भएको थियो। त्यो दिन देशका विभिन्न भागबाट करिब २०० महिलावादीहरू जम्मा भएका थिए। उनीहरूको उद्देश्य, ‘मिस अमेरिका’को विरोध थियो। त्यसको संयोजक अमेरिकी नारीवादी महिला रबिन मोर्ग्यान थिइन्। उनी, उही रबिन थिइन्,  जो सन् १९९४ मा नेपाल समेत आएकी थिइन्। उनले आफ्नो बसाइको क्रममा यहाँका केही महिलाहरूलाई तालिम दिएकी थिइन्।

रबिन र उनको समूहले गरेको त्यो दिनको धर्ना कार्यक्रममा उनीहरूले एउटा फोहोर फाल्ने भाँडो, जसलाई ‘फ्रिडम ट्रयाश क्यान’ भनेर उल्लेख गरिएको छ। त्यसमा आफूहरूलाई मन लागेको महिलासँग सम्बन्धित वस्तुहरू जस्तै, मेकअपका सामानहरू, भुईं पुछ्ने मपहरू, नक्कली परेलाहरू, हेयर स्प्रे, ब्राहरू फालेका रहेछन्। उनीहरूले ‘विमेन्स लिबरेसन’ लेखेको ब्यानर देखाएका रहेछन्। त्यति गर्दा पनि ब्रा जलाएका थिएनन् भनेर रबिनले धेरै पटक धेरै ठाउँमा भनिसकेकी छन्।

बरु त्यहाँ, भियतनाम वारको विरुद्ध प्रदर्शन गर्नेहरूले उनीहरूको ‘ड्राफ्ट कार्ड’हरू जलाएका थिए भनिन्छ। यसबारेमा पत्रकार तथा कलेजका विद्यार्थीले पनि रबिनको अन्तर्वार्ता गरेका छन्; उनले त्यो दिन त्यसरी ब्रा जलाइएको थिएन भनेकी छन्। त्यस दिनको अर्को साक्षी तत्कालीन न्युयोर्क पोस्टको रिपोर्टर, लिन्डसे भ्यान गेल्डरले पनि ब्रा जलाएको होइन भनेर लेखेकी छन्; तर महिलाहरूलाई हियाउन त्यो कुराको प्रचार भइनैरहेको छ। अमेरिका धेरै टाढाको देश, यहाँ समेत बारम्बार त्यसको उदाहरण दिइरहिन्छ।

भ्यान गेल्डरले सन् १९९२ मा पनि ‘ब्रा बर्निङ’ इस्युबारे एउटा लेख लेखेकी रहिछन्, जुन लेखमा त्यो कुरा नसच्चिएकोमा हार खाँदै लेखेकी छन् :

“The Mother of the Myth of the Maidenform Inferno.” (Maidenform is a brand of lingerie.) In it, she reiterates that no bras were burned on the boardwalk on September 7, 1968.”

अन्त्यमा, मेरो पनि एउटै प्रश्न– यदि गलत कुराले इतिहास नै गलत देखिने हामीलाई थाहा हुँदाहुँदै, मानिसहरू आफ्नो वा अरूको कुरामा किन नभएका कुरालाई बढाइँचढाइ गर्छन् वा अरूले गरेको कामलाई निमिट्यान्न पार्न खोज्छन् ?

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?