
काठमाडौं । नेपाल जेनरल मार्केटिङ प्रालिले हिरो मोटरसाइकल र स्कुटरको वारेन्टी सुविधा बेहोर्न नसक्ने जनाएको छ ।
नेपाल जेनरल मार्केटिङ प्रालिले एक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकलाई यस्तो जानकारी गराएको हो ।
हिरो मोटोकर्प कम्पनीले विगत २ वर्षदेखि स्पेयर पार्टस्को आपूर्ति आंशिक रुपमा गर्दै आएको र विगत १ वर्ष यता आपूर्ति नै बन्द गरेका कारण समस्या भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि भारतबाट उत्पादित मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई हिरो मोटोकर्पले वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको थियो । तर हाल स्पेयर पार्टको आपूर्ति रोकेको कारण वारेन्टी अवधिमा पाउने वारेन्टी सुविधा उपलब्ध गराउन नसकिएको विज्ञप्तिमा उल्लेख छ ।
वारेन्टी दिने दायित्व उत्पादक कम्पनी हिरो मोटोकर्पको भएको नेपाल जेनरल मार्केटिङ प्रालिले बताएको छ ।
ग्राहकलाई वारेन्टी सुविधा उपलब्ध गराएवापत विगत २ वर्षदेखिको वारेन्टी दाबी भुक्तानी आफूहरूले नपाएको जेनरल मार्केटिङले बताएको छ ।
प्रतिक्रिया 4