
‘छोराछोरी जे भए पनि हामी खुसी छौं’ भन्ने कथन हामी अहिलेको नेपाली समाजमा सुनिरहेका हुन्छौं। यस्तो कथन सुन्दा समाज साँच्चै परिवर्तन भएछ भनी मन फुरुङ्ग तथा प्रफुल्लित हुनसक्छ तर वास्तवमा सत्यता अर्कै रहेको पाइन्छ।
छोराछोरी बराबर हुन् भन्ने धारणालाई नेपाली समाजले अवलम्बन गर्दै आएको भएतापनि वास्तवमा नै उक्त धारणा व्यवहारमा झल्किएको पाइन्छ त ? के नेपाली पुरुषप्रधान समाजले छोरालाई दिएजत्ति हक तथा अधिकार सोही मात्रामा छोरीलाई दिएको छ त ?
बाँचुन्जेलको सहारा, मर्दाको लाश उठाउने काँध, मृत्युपश्चात् पिण्डदान दिने एक मात्र आश, वंश धान्ने भन्ने भाष्यको आधारमा वर्णन गरिएको छोरालाई हाम्रो समाजले महत्वपूर्ण स्थान दिएको छ। शायद त्यसैले होला समाजमा राम्रै परिवर्तन भएतापनि छोरो पाउने आशमा कैयौं नजन्मिएका छोरीहरुको भ्रूणमै हत्या हुँदै आएको क्रूर वास्तविकता हामीले भोग्दै आइरहेका छौं।
मेरो घर नजिकै बसोबास गर्ने उच्च शिक्षा हासिल गरी सरकारी पेशामा लागेका एक अङ्कलकै घरमा बुहारीलाई छोरी जन्माएकै कारण यातना दिई छोरा पाउ भनी दिएको दबाबले गर्दा नै तीन पटकसम्म भ्रूण हत्या गराउने अवस्था सिर्जना भयो। यसै समाजको एक पात्र म जसले उक्त घटनालाई ट्वाल–ट्वाल्ती हेर्न बाहेक केही गर्न सकिनँ।
अन्तर्राष्ट्रियस्तरका कानुनहरुले मानवअधिकारको संरक्षण तथा महिला पुरुषबीचको भेदभावलाई उन्मूलन गर्दै आएको छ र नेपालले पनि उक्त कानुनहरु अनुमोदन गरी कानुन निर्माण गर्दै समाजमा उचित व्यवस्थापन गराउँदै आइरहेको छ। मानव भएर जन्म लिन पाउने अधिकार सम्पूर्ण भ्रूणको बराबर भएतापनि नेपालको सन्दर्भमा कतिपय छोरीहरूले वास्तविक संसार के हो भनी देख्न नपाउँदै आमाको गर्भमा मात्र उनीहरुको जीवन सीमित हुने गरेको मन कुँड्याउने सत्य सर्वविदितै छ। एक्काइसौं शताब्दीमा समाज तीव्र गतिमा परिवर्तनतर्फ लम्कँदै गएको भएतापनि केही कुरामा भने हामी पितृसत्तात्मक सोचको डोरी समातेर अड्किएर बसेका छौं।
अर्काको घरमा जाने जात, सन्तान जन्माउने साधन, चुलो फुक्ने जात इत्यादि व्याख्यात्मक रुपले चिनिने छोरीको पहिचानमा अहिलेको समयमा केही सकारात्मक परिवर्तन पक्कै भएको छ। तर कस्तो विडम्बना प्रकृतिको संरचना अनुरुप सन्तान जन्माउने क्रममा भने नेपाली समाजमा अझै पनि छोरा नै भइदिए हुने भन्ने सस्तो मनसाय स्पष्ट झल्कने गर्दछ जसको चर्चाले हाम्रो मन ढुङ्गासरह भारी भएर भावविभोर हुन्छ।
पहिलो सन्तान छोरा भयो भने परिवार सम्पन्न हुने भन्ने दरिद्र सोचाइ राख्ने हाम्रो यस पितृसत्तात्मक सोचले चलेको समाजले पहिलो सन्तान छोरी जन्मिए अझै एउटा छोरा जन्माउनुपर्छ अनि मात्र परिवार सम्पन्न हुन्छ भन्ने जस्तो अपरिपक्व मानसिकता बोकेको स्पष्ट रुपमा देख्न सकिन्छ। यस अपरिपक्व मानसिकताका कारणले गर्दा नै नेपालमा कैयौं नेपाली छोरीले असुरक्षित गर्भपतन गराउनु परेको क्रूर सत्यको हामी साक्षी छौं।
दुई सन्तान ईश्वरको वरदान भन्ने नारालाई हाम्रो समाजले राम्रैसँग आत्मसात् गरेको भएतापनि छोरा प्राप्त नहुन्जेलसम्म दम्पतीहरु कि त निरन्तर लागिपरी पाँचदेखि ६ वटासम्म सन्तान जन्माउने क्रमलाई जारी राख्छन् कि त गर्भ तुहाउने क्रूर प्रथालाई निरन्तरता दिन्छन्। यस्ता विसङ्गति बोकेका सामाजिक यथार्थ चित्रण गर्ने अनगिन्ती तितो सत्य घटनाहरु यही समाजमा भेटिन्छन्।
नेपाल एक विकासशील देश हो र यहाँको भूगोलको बनोट, संस्कृति, परम्परा, साक्षरताको अभावले गर्दा पनि समाजमा गर्भको पहिचान गरी भ्रूण हत्या जस्ता मार्मिक घटनाहरु मौलाउने र दह्रो जरा गाड्ने गर्दछन्। सामान्य अर्थमा हेर्ने हो भने नेपाल विकासशील देश भएकै कारण विभिन्न क्षेत्रमा अझ भनौं दुर्गम ठाउँहरु जहाँ शिक्षाको अभाव भएको कारणले नै छोरी भएको गर्भ फाल्ने गरिन्छ भन्ने हामी नेपालीको धारणा रहेको पाइन्छ। तर यथार्थलाई केलाउने हो भने दुर्गम क्षेत्रभन्दा बढी विकसित कहलिएका शहरी क्षेत्रहरुमा गर्भ पहिचान गरी गर्भपतन गराउने घटनाले कतै शिक्षाको अभावमा पो गर्भपतन भएको हो कि भन्ने धारणालाई नै चुनौती दिएको देख्न सकिन्छ।
स्वास्थ्य संस्थाहरुले वर्तमान अवस्थामा गर्भमा छोरा वा छोरी रहेको कुरा खुलाउँदै आउने गरेकाले होला शहरी क्षेत्रमा अहिले चर्को दरले गर्भको पहिचान गर्दै गुलाबी र नीलो रङ्गको प्रयोग गरी बेबी सावर (महिला गर्भवती हुँदा गरिने समारोह) भव्य तरिकाले मनाइने सामाजिक अभ्यास देख्न सकिन्छ। कसैलाई लिङ्ग पहिचान बेबी सावर गरी रहर पूरा गर्ने बहाना त कसैलाई छोरा नभएकै कारण भ्रूण हत्या गर्ने माध्यम बनेको छ।
यसरी भ्रूणको पहिचान गर्न कानुनले रोक लगाउँदै गर्दा पनि समाजमा भ्रूण हत्या बढेकाले ३१ जेठ २०७० मा सरकारी निजी तथा सामाजिक स्वास्थ्य संस्थाहरुलाई लिङ्गको पहिचान गराउन कानुन सङ्गत नहुने हुँदा उक्त कार्य नगर्नु भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशन गरेको थियो।
छोरा होस् वा छोरी हामीलाई मुक्ति पाउनुअघि तिमीहरुको सन्तानको मुख हेर्न पाए पुग्यो भन्ने परिवारले नै अब एउटा छोरा पाइदेउ त्यति भए सहजै प्राण जानेथियो भनी पटक–पटक छोरीबुहारीलाई मानसिक दबाब र यातनाको सिकार बनाएका थुप्रै घटना हामीले आफ्नै परिवार, आफन्तजन, समाजमा भेट्न सक्छौं।
छोरा पाउन त्यै छोरी नै चाहिन्छ भन्ने सत्यको हेक्का नराख्ने यस समाजले महिलालाई सन्तान जन्माउने मेसिनको नजरले नियाल्छ। एक्काइसौं शताब्दीमा जति नै प्रगतिपथमा लम्किए पनि हाम्रो समाजले गर्भपतन गरेकै कारण तथा पटक–पटक गर्भधारण गर्दा महिलाले भोग्नुपर्ने शारीरिक असहजता तथा जटिलताको पीडा बुझ्दैन भने हाम्रो समाज अझै पनि रूढीवादी पितृसत्तात्मक सोचले ग्रस्त रहेको कुरा बुझ्न सक्छौं।
नेपालमा गर्भ पहिचान गरी भ्रूण हत्या गर्न–गराउन प्रतिबन्ध लगाइएको छ भने आमाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भ तथा आमा र बच्चाको ज्यान नै जोखिममा पर्ने अवस्था रहे–भएमा चिकित्सकको राय बमोजिम सुरक्षित गर्भपतन गराउन सकिने भनी मुलुकी फौजदारी संहिता, २०७४ को दफा १८९ मा उल्लेख गरिएको छ।
सोही संहिताको दफा १८८ को उपदफा ८ बमोजिम र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ ले भ्रूणको लिङ्ग पहिचान गराउन रोक लगाई लिङ्ग पहिचान गरी गर्भपतन गराए कानुन बमोजिम सजाय हुने भनी उल्लेख गरेको छ। हाल विश्वमा महिलाको जनसंख्या ४९.५ प्रतिशत रहेको छ। नेपालको सन्दर्भमा राष्ट्रिय जनगणना २०५८ अनुसार महिलाको जनसंख्या १,१५,८७,५०२ (५०.०५ प्रतिशत) रहेको थियो भने राष्ट्रिय जनगणना २०६८ बमोजिम महिलाको जनसंख्या (५१.५० प्रतिशत) रहेको थियो।
राष्ट्रिय जनगणना २०७८ बमोजिम कुल जनसंख्यामा महिलाको संख्या १,४९,११,०२७ (५१.१३ प्रतिशत) रहेको छ। नेपालमा विगतदेखिको जनसंख्या नियाल्ने हो भने महिलाहरुको संख्या बढ्दो देखिन्छ। महिलाको संख्या बढ्दो भएतापनि भ्रूणको पहिचान गरी गर्भ फाल्ने क्रम तीव्र गतिमा गइरहेको छ। तथ्याङ्कलाई हेर्ने हो भने जनगणना अनुसार कुल ४,१२,९३५ नवजात शिशुमध्ये २,१८,०७४ (५२.८ प्रतिशत) केटा र १,९४,८६१ (४७.३ प्रतिशत) केटी रहेको छ।
कानुनले असुरक्षित गर्भपतनलाई अवैध भनी उक्त कसुर गर्नेलाई कानुन बमोजिम कारबाही हुने गराएको भएतापनि प्रत्येक दिन नेपाली समाजको कुना–कुनामा छोरा पाउने आशामा छोरी नजन्मिंदै उसको अस्तित्व मेटाइँदैछ। मेरा औंलाले छोरीको अधिकारको आवाज उठाउने विषयमा कलम चलाउँदै गर्दा पनि कुनै भ्रूण छोरी भएकै कारणले मानव भएर जन्माउन पाउने उसको अधिकार तुहिंदै होलान्।
छोरा सरह आइलाग्ने माथि जाइलाग्न सक्ने सामर्थ्य राख्ने छोरीको महत्व नबुझेको यस पितृसत्तात्मक सोचबाट ग्रसित बिरामी समाजलाई साँच्चै नै राम्रो चिकित्सकद्वारा रोगको निवारण गर्नका निम्ति सोच परिवर्तनको क्याप्सुल ख्वाउन अत्यन्तै जरूरी छ।
अधिकारी अधिवक्ता हुन्।
प्रतिक्रिया 4