+
+

द इकोनोमिस्ट म्यागजिनको नयाँ अंकमा नेपाली कलाकारको आवरणचित्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १७:२४

१८ फागुन, काठमाडौं । बेलायतबाट प्रकाशित हुने १८० वर्ष पुरानो द इकोनोमिस्ट साप्ताहिक म्यागजिनको आवरणमा नेपाली कलाकारको स्केच छापिएको छ ।

विश्वभरिकै अर्थराजनीतिक मुद्दा तथा नीति निर्माणमा रुचि राख्नेको पहिलो रोजाईमा पर्ने गरेको द इकोनोमिस्ट म्यागजिनको शुक्रबार सार्वजनिक भारतसम्बन्धी आवरण-कथामा अनुज श्रेष्ठको इलुस्ट्रेसन छापिएको हो ।

काठमाडौंबाट अमेरिका पुगेका अनुज हाल फिलाडेल्फियामा बस्ने गरेका छन् । उनको वेबसाइटमा प्राप्त जानकारी अनुसार यसअघि अर्को प्रख्यात म्यागजिन द न्युयोर्कर सहित न्युयोर्क टाइम्स, वासिङटन  पोस्ट, एनबिसी युनिभर्सल, पपअप आर्ट आदिमा पनि उनको स्केच छापिइसकेको छ । तर इकोनोमिस्टको आवरणमै अनुजको इलुस्ट्रेशन छापिनु आफैंमा ठूलो उपलब्धि हो ।

अनुजको स्केचसहित आवरण कथा छापेको द इकोनोमिस्टले सम्पादकीय पृष्ठ मानिने ‘द लिडर्स’ मा लेखेको छ, ‘भारतको भविष्य बुझ्न ग्लोबल साउथलाई अब बुझ्न थाल्नुपर्छ । मान्छेहरुले यसलाई उदाउँदो आर्थिक शक्ति मान्ने गर्छन्, जबकि भारत अहिल्यै संसारको पाँचौ आर्थिक शक्ति भइसक्यो । हिन्दु कट्टरपन्थी बहुसंख्यकवादी राजनीतिको आडमा उदाएजस्तो देखिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विकास र पहिचान राजनीतिसँगै तेस्रो नयाँ कुरा थप्न खोजेका छन् :  विश्वलाई उत्तरी विश्व र दक्षिणी विश्वको नाममा विभाजन रेखा कोरेर ।’

रोचक के छ भने सिंगो पत्रिकाभरि लेखक, रिपोर्टरको अक्सर बाइलाइन अर्थात् नाम नछाप्ने चलन बसाएको द इकोनोमिस्टले अनुजको नाम भने प्रकाशित गरेको छ ।

अनुजले विश्वप्रसिद्ध प्रकाशन गृह पेन्गुइन र्‍यान्डम हाउसका लागि स्केच गरिसकेका छन् । त्यस्तै अर्को प्रख्यात विजनेश म्यागजिन हार्वड बिजनेस रिभ्युमा पनि उनका कला प्रकाशित छन् ।

उनका कार्टुनसम्बन्धी केही स्केच किताबसमेत प्रकाशित छन् । फरेन पलिसी, पपुलर साइन्स, प्लेब्वाई, हलिउड रिपोर्टर लगायत पत्रिकामा पनि अनुजका कला प्रकाशित भइसकेको उनको वेबसाइटमा राखिएको विवरण तथा छापिएका स्केचले जानकारी दिलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?