+
+

स्रोत कक्षाले दिएको खुसी

उषा नेपाल उषा नेपाल
२०८० फागुन २० गते १२:३६

२० फागुन, चितवन । कक्षा कोठाका भित्ता रंगीचंगी चित्रले सजिएका छन् । खेल सामग्रीहरु लहरै मिलाएर राखिएका छन् । केही बालबालिकाहरु कुर्सी टेबलमा बसेर पढिरहेका छन् । केही वाकरको सहायतामा हिँड्ने कोसिस गरिरहेका छन् । यो दृष्य हो चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा रहेको बालकुमारी माध्यमिक विद्यालयमा जटिल प्रकारका अपांगता भएका बालबालिकाका लागि सन्चालित स्रोत कक्षाको ।

भरतपुर-६ देवनगरकी शोभा सुवेदी हरेक बिहान छोरी रोनिशालाई लिएर सोही स्रोत कक्षामा पुग्ने गर्छिन् । रोनिशा जन्मजात अपांगता भएकी ९ वर्षीया बालिका हुन् । अपांगता भएकै कारण उनी ९ वर्षसम्म विद्यालय जान पाएकी थिइनन् । उनकोलाई विद्यालयहरुले भर्ना लिनै मानेन् । छोरीको पढ्ने रहर पुरा गर्न शोभा भरतपुरका सबैजसो विद्यालय चहारेकी थिइन् । त्यही क्रममा राष्ट्रिय बहिरा महासंघले क्षेत्रपुरको बालकुमारी माविमा सन्चालन गरेको स्रोत कक्षामा उनी पुगेकी थिइन् । केही समय घरमा नै आधारभूत कुरा सिकेपछि रोनिशा गत जेठ १० गतेबाट स्रोत कक्षामा पढ्न जान थालेकी हुन् ।

मस्तिष्क पक्षघात भएकी रोनिशाको कम्मर मुनिको भाग राम्रोसँग चल्दैन । बस्न र हिँड्न नसक्ने उनी स्रोत कक्षामा आउन थालेदेखि आफैं बस्न र वाकर समातेर हिँड्न सक्ने भएकी छन् । नेपाली र अंग्रेजी अक्षर पढ्न र लेख्न सक्छिन् । आफूले जानेका कुरा साथीहरुलाई पढाउन र बुझाउन पनि सक्छिन् । छोरीमा भएको सुधार देखेर शोभा दंग छिन् ।

शोभामात्र होइन भरतपुरकी सीता तामाङलाई पनि आफ्नो १८ वर्षीय छोरा अमृतलाई स्कुल पुर्याउन उत्तिकै चटारो छ । भरतपुर-२ आँपटारीमा चिया पसल गरेर बसेकी उनलाई चिया बेच्दा र छोराको स्याहार सुसार गर्दा बस्ने फुर्सद हुँदैन । तर पनि छोराको भविष्यको चिन्ताले उनलाई हरेक बिहान स्रोत कक्षाको दैलोसम्म पुर्याउँछ ।

दिनको दुई सय रुपैयाँ खर्च गरेर उनी अमृतलाई अटोमा राखेर सधैं विद्यालय पुर्याउँछिन् र घर ल्याउँछिन् । अमृत राम्रोसँग बोल्न सक्दैनन् । हिँड्न र हात चलाउन पनि उनलाई सहज छैन । शारीरिक रुपमा कमजोर भए पनि उनी पढ्न र लेख्न भने अब्बल छन् । मुखले बोल्न नसक्ने उनी भनेका कुरा बुझ्न र प्रतिक्रिया जनाउन सक्छन् । राम्रा अक्षरमा लेख्न सक्छन् । औपचारीक कक्षामा पढिरहेका विद्यार्थीसँगै प्रतिस्पर्धा गर्न सक्ने क्षमता अमृतमा छ ।

गत असोज महिनाबाट स्रोत कक्षामा जान थालेका उनले छोटो समयमा नै नसोचेको प्रगति गरेका छन् । अमृतमा देखिएको परिवर्तनले उनकी आमामा खुसीको सीमा छैन । उनी भन्छिन्, ‘१८ वर्षसम्म नपढेको छोराले यसरी पढ्ला भनेर मैले सोचेकी थिइनँ । अहिलेसम्म कलम नसमातेको छोरा अहिले राम्रो अक्षर लेख्छ । पहिले कपडामै दिसापिसाब गर्ने ऊ अहिले शौचालयसम्म पुर्‍याउन सहयोग माग्छ । वाकर समातेर मन लागेको ठाउँसम्म पुग्ने कोसिस गर्छ । मेरो लागि यो सब स्रोत कक्षाले दिएको खुसी हो ।’

रोनिशा र अमृत जस्तै भरतपुरकी सुहानी शाह पनि बालकुमारी माविमा सन्चालित सोही स्रोत कक्षामा पढ्छिन् । उनी ९ वर्षकी भइन् । पूर्ण शारीरिक अपांगता भएकी उनी नेपाली तथा अंग्रेजी अक्षर र शब्द पढ्न लेख्न सक्छिन् । उनका बाबा अर्जुन शाह भन्छन्- यस्तै राम्रो गर्दै जाने हो भने छोरीले एकदिन हाम्रो नाम राख्नेछिन् ।

सात जना बालक र आठ जना बालिका गरी स्रोत कक्षामा हाल १५ जना छन् । ४ देखि १८ वर्षसम्मका बालबालिका पढ्न सक्ने सो कक्षामा बालबालिकाका सिकाइका लागि एक शिक्षक र एक आया दिनभर खटिन्छन् । बालबालिकाको अवस्था अनुसार अनुकूल हुने गरी खुवाउने र विशेष स्याहार सुसार गर्ने गरेको स्रोत कक्षाकी आया बृन्दा गुरुङ बताउँछिन् ।

प्रधानाध्यापक आनन्दराज सापकोटाका अनुसार स्रोत कक्षामा बालबालिकाको रुचि अनुसार खेल विधिमार्फत हरेक दिन फरक खालका सामग्री प्रयोग गरी सिकाइ क्षमताको विकास गर्ने प्रयास गरिन्छ । फिजियो थेरापिष्टद्वारा बालबालिकालाई थेरापी पनि गराइन्छ । अभिभावकलाई पनि आफ्ना बालबालिकालाई कसरी थेरापी गराउने भनेर सिकाउने गरिन्छ ।

राष्ट्रिय बहिरा महासंघ नेपाल, भरतपुर महानगरपालिका र विद्यालयको त्रिपक्षीय सम्झौतामा गत वर्षदेखि जटिल अपांगता भएका बालबालिकाहरुका लागि बालकुमारी माध्यमिक विद्यालयमा स्रोत कक्षा सन्चालनमा छ । स्रोत कक्षामा १८ किलोमिटर टाढाबाटसमेत विद्यार्थीहरु पढ्न आउने गरेका छन् । उनीहरुका लागि संस्थाले दैनिक ३० रुपैयाँको दरले दिवा खाजाको व्यवस्था गरेको छ ।

महासंघले हाल भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा गरी २ वटा स्रोत कक्षा सन्चालन गरेको छ । संघको सर्वेक्षणमा भरतपुर महानगरपालिका भित्रमात्रै विद्यालय जाने उमेर पुगेका अपांगता भएका २४० जना बालबालीका भेटिएका थिए । तीमध्ये ७० जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको पाएपछि तिनै बालबालिकालाई लक्षित गरी स्रोत कक्षा सन्चालन गरिएको हो । महासंघले स्रोत कक्षासम्म आउन नसक्ने बालबालिकाका लागि घरमा आधारित शिक्षा कार्यक्रम पनि सन्चालन गरेको छ ।

अपांगता भएका बालबालिकामा छोटो समयमा देखिएको सकारात्मक परिवर्तनपछि विद्यालयले उनीहरुलाई समावेशी कक्षामा सामेल गराउन अभ्यास सुरु गरिसकेको छ । समावेशी कक्षामा अपांगता भएका र नभएका बालबालिकाहरु सँगै बसेर पढ्ने र सिक्ने गर्दछन् ।

गत पुसदेखि नै साताको तीन दिन १ घण्टाका दरले स्रोत कक्षाका २ जना विद्यार्थी मूल धारको शिक्षामा पढ्न जान सुरु गरिसकेका छन् । उनीहरु अन्य विद्यार्थीसँग घुलमिल भएर पढ्न अभ्यास गरिरहेको विद्यालयका प्रधानाध्यापक सापकोटा बताउँछन् । सापकोटा भन्छन्, ‘उनीहरु एउटै कक्षाकोठामा मिलेर एकैसाथ पढ्छन् । खेल्छन् र रमाइलो गर्छन् । एकले अर्कोलाई सहयोग गर्छन् । नजानेका कुरा सिक्छन् र सिकाउँछन् पनि । यो देख्दा खुसी लाग्छ ।’ अपांगता भएका बालबालिकालाई अन्य बालबालिकासँगै राखेर पढाउनु चुनौतिको कुरा भएकाले पछि अप्ठेरो नहोस् भनी अहिलेदेखि नै यो अभ्यासमा लागेको सापकोटाको भनाइ छ ।

भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन अधिकारी महेन्द्र प्रसाद पौडेल बालबालिकाको सिकाइको क्षमता अनुसार उनीहरुलाई व्यवस्थापन गर्ने कुरामा जोड दिन्छन् । समावेशीकरणको विषय महत्वपूर्ण भएकाले कसरी समावेशी कक्षामा व्यबस्थापन गर्ने भन्ने कुराका लागि अझै छलफल आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रिय बहिरा महासंघका परियोजना व्यवस्थापक सानु खिम्बाजा विद्यालय आउन नसकेका बालबालिकाका लागि स्रोत कक्षा पहिलो प्रवेशद्वार रहेको बताउँछन् । स्रोत कक्षासम्म आएका बालबालिकाको कार्यगत सीमितता र आवश्यकताको पहिचान गरेपछि मात्र शिक्षामा कसरी जोड्ने भन्ने विषयमा थप छलफल गर्न सकिने उनको भनाइ छ ।

सिकाइ सामग्रीको व्यवस्था, सहयोगी सामग्रीहरुको विकास र शिक्षकलाई तालिम प्रदान गरी गरी आवश्यकताका आधारमा केही समयका लागि सहयोगी शिक्षककोे व्यवस्थापन गरेर अपांगता भएका बालबालिकालाई समावेशी कक्षामा पठाउने संघको योजना रहेको खुम्बाजा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?