+
+

चिप्लेढुंगाका बरपिपल ठुट्टै

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन २० गते १७:००

२० फागुन, पोखरा । पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा सय वर्षभन्दा पुरानो बर र पीपल चौतारो छ । साना ठूला जनप्रदर्शन र आमसभा पनि यही चौतारोमा भइरहने भएकाले यसको नाम नै ‘मानव अधिकार चोक’ राखिएको छ ।

मानवअधिकार चोक पोखरेलीहरुले आफ्नो माग राख्ने र अधिकार खोज्ने ठाउँ पनि हो । वर्षौं पुरानो रुख भएकाले बेलाबेलामा हावाहुरीले हाँगा भाँच्दा हुने दुर्घटनाले पनि कहिलेकाहीं खैलाबैला मच्चाउँथ्यो ।

त्यही मानवअधिकार चोकमा शनिबार साँझ चर्को हल्ला थियो । त्यो हल्ला आफ्नो माग सुनाउन आएका मान्छेहरुको थिएन, त्यो सयौंको संख्यामा आकाशमा फन्को मारिरहेका चराहरुको चिर्बिर थियो ।

सेता बकुल्लाले आफ्नो बासस्थान बनाएको रुख महानगरले काँटछाँटको नाममा ठुटो बनाएर काटिदिएपछि चराका बथान आत्तिएका थिए । ‘बिचरा ! बोल्ने भए त केके गुनासो गर्थे होलान् । नबोले पनि उनीहरु आफ्नो गुँड खोजेर आत्तिएको प्रष्टै थाहा हुन्थ्यो’, स्थानीय मोति भुजेलले भने, ‘रातिसम्म चराहरु आत्तिएर आकाशभरि फन्को लगाइरहे ।’

महानगरले अवैज्ञानिक ढंगले रुख काटेको पनि भुजेलको आरोप छ । ‘पुराना रुख काँटछाँट नै नगर्ने त होइन । तर, नयाँ पालुवा राख्ने, पुराना हाँगा काट्ने हो’, उनले भने, ‘तर, महानगरको न तरिका मिल्यो न समय ।’

चिप्लेढुंगाबाट विस्थापित भएका ती चराहरु तितरवित्तर भएको भुजेलले सुनाए । उनका अनुसार केही संख्यामा अझै पनि ठुटो भइसकेको रुख वरिपरि नै आफ्नो बास खोज्दैछन् । ‘यहाँबाट कता गए थाहा भएन । १–२ वटा भए पो कुनै हाँगामा बस्लान् भन्ने’, उनले भने, ‘यिनीहरु फेरि समूहमा बस्ने भएकाले ठूलै रुख चाहिन्छ ।’

मानवअधिकार चोकको रुखका हाँगा त्यसरी काटिएको पहिलो पटक भने होइन । यसअघि पनि पटकपटक छिमलिँदै आएको छ । ७ वर्षअघिमात्रै चिप्लेढुंगा–सिद्धार्थ चोक व्यवसायी समितिले रुखका हाँगा छिमलेको थियो । ‘त्यतिबेला हामीले यसरी काटेका थिएनौं । फेरि रुख छिमल्ने यो उपयुक्त बेला पनि होइन’, व्यवसायीसमेत रहेका मोति भुजेलले भने ।

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे महानगरले अमानवीय काम गरेको टिप्पणी गरे । ‘रुख ट्रिमिङ त गर्ने हो । तर, कुन, कहाँको रुख काट्दा कस्तो विधि अपनाउने भन्ने संवेदनशील हुनुपर्छ’, उनले भने, ‘ट्रिमिङ गर्ने नाममा मुठुर्‍याउनु भएन । यो एकदमै अमानवीय भयो ।’ उनले चराचुरुंगीको स्थायी बासस्थान भत्काउँदा विचार पु¥याउनुपर्ने सुझाव दिए ।

कहाँबाट आएका थिए बकुल्ला ?

स्थानीयबासिन्दाका अनुसार रुख वर्षौं पुरानो भए पनि त्यहाँ बास बस्न सेता बकुल्ला करिब ३ वर्षअघिमात्रै लेकसाइड क्षेत्रबाट बसाइँ सरेर आएका हुन् ।

लेकसाइडको बाराही चोकस्थित आर्मी क्याम्पमा रहेको बाँसघारी र रुखमा बस्दै आएका बकुल्ला तत्कालीन समयमा आर्मीले बाँसको झ्याङ काटेपछि सुरक्षित बासको खोजीमा चिप्लेढुंगा पुगेका थिए ।

‘त्यतिबेला आएका चराहरु नै यो रुख ठूलो देखेर यतै बस्न थालेका हुन् । त्यसको प्रत्यक्षर्शी मै हुँ’, भुजेलले भने ।

पोखरा पक्षी समाजका अध्यक्ष घिमिरेले पोखरा ताल छेउमा मानवीय गतिविधि हुँदा सुरक्षित बासस्थान खोज्दै अहिले पनि धेरै पक्षी बसाइ सरिरहेको सुनाए । उनले भने, ‘अहिले पनि लेकसाइडका भेरै चरा माथितिर सर्ने क्रम एकदम बढेको छ ।’

थोरै छिमल्ने भनेको धेरै काटिएछ !

पोखरा महानगरपालिकाले भने स्थानीयबासिन्दाकै आग्रहमा रुख छिमल्दा केही ‘गल्ती’ हुन गएको जनाएको छ । महानगरका प्रवत्ता मोति तिमिल्सिनाले वडाबासीकै आग्रहमा रुख छिमलिएको बताए ।

‘टोलबासीले रुख ठूलो भयो । घरमा पनि असर गर्‍यो भनेर वडामा निवेदन दिनुभएको रहेछ । त्यसपछि महानगर, वन कार्यालय सबैको समन्वयमा काँटछाँट गरिएको हो’, तिमिल्सिनाले भने, ‘अलिअलि ट्रिमिङ गर्ने भन्दा भन्दै धेरै काटिएछ कि भन्ने भएको छ । वातावरण शाखाले हेर्न जाने भन्नेछ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?