
२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतले नियम, कानुन र मर्यादाको ख्याल नगरी घमण्ड देखाएको टिप्पणी गरेका छन् ।
आइतबार संघीय संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले अर्थमन्त्रीले २०४८ सालमा नै असफल भइसकेको सिद्धान्त दोहोर्याउन खोजेर अर्थतन्त्र ओरालो लगाएको आरोप लगाए ।
‘अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ, त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ’, ओलीले भने ।
उनले अगाडि भने, ‘…देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्याउन खोजिएको छ ।’
ओलीले कांग्रेसले सरकारी उद्योग निजीकरण गर्ने नाममा नेपाली उद्योगी व्यवसायीलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको पनि टिप्पणी गरे ।
‘निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो । निजी क्षेत्रलाई पनि सिध्याइदियो । हाम्रा जो उद्योगहरु थिए तिनलाई भ्रष्ट बनाइदियो, उनीहरुले पनि (उद्योग) चलाउनका लागि किनेनन्’, उनले भने, ‘बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन् । हेटौंडा कागज कारखाना चलाउनका लागि किनेनन् । अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो ।’
प्रतिक्रिया 4