+
+

बागमतीमा विदेश भ्रमणमा रहेका २ मन्त्री कुर्दै कांग्रेस

नयाँ गठबन्धन अलमलमा, मुख्यमन्त्री काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १६:४२
विदेश भ्रमणमा रहेका कांग्रेसका मन्त्रीहरु बहादुर सिंह लामा र तीर्थ लामा ।

२२ फागुन, हेटौंडा । नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशमा कसरी नयाँ सरकार गठन गर्ने भन्नेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा अन्योलमा परेका छन् ।

सरकार र प्रतिपक्षमा रहँदा यी दुई दलबीच हाल हार्दिक सम्बन्ध पनि छैन । बजेटमा आफ्ना योजना नसमेटेको भन्दै एमाले माओवादी नेतृत्वको सरकारसँग रुष्ट छ, त्यसैले केन्द्रमा नयाँ समीकरण बने पनि यी दुई दलबीच छलफल सुरु भएको छैन ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल पार्टी अध्यक्ष तथा प्रधानमनत्ती पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न काठमाडौं गएका छन् । बागमतीका एमाले नेताहरु पनि काठमाडौंमा छलफलमा जुटेका छन् । ‘केन्द्रको स्पष्ट निर्णय आएमा काठमाडौंमै छलफल हुन सक्छ’, एमालेका एक प्रदेशसभाा सदस्यले भने ।

एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले माओवादीसँग संवाद अगाडि नबढेको र केन्द्रको निर्णयपछि मात्रै छलफल सुरु हुने बताए ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा विपक्षी दलका सांसदका योजना समावेश नगरेको भन्दै एमाले सरकारसँग रिसाएको छ । एमालेले संसदमा अवरोध गर्ने तयारी गरेपछि १७ फागुनमा बजेट विवाद सुल्झाउन संसदीय विशेष समिति गठन गरिएको छ । गठबन्धनमा फेरबदल आएसँगै एमाले प्रतिपक्षबाट सत्तापक्षको कित्तामा आएपछि परिस्थिति फेरिएको छ ।

एमाले–माओवादीको मात्र पुग्दैन बहुमत

केन्द्रमा नयाँ समीकरणमा रहेका एमाले, माअ‍ोवाद्यी राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमध्ये बागमती प्रदेशसभामा एमाले र माओवादी मात्र छन् । प्रदेशसभामा यी दुई दलको मात्र बहुमत पुग्दैन ।

अब कुन–कुन दललाई गठबन्धनमा सामेल गर्ने भन्नेबारे चर्चा सुरु भएको हो । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन् ।

एमाले र माओवादीको कुल सांसद संख्या ४८ छन्, प्रदेशसभामा बहुमत पुर्‍याउन उनीहरुलाई थप ८ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउँदा पनि आवश्यक बहुमत पुग्दैन । त्यसपछि पनि उनीहरुले कम्तीमा हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन खोज्नुपर्छ ।

कांग्रेसका दुई मन्त्री विदेशमा

सत्ता समीकरण फेरबदल हुँदा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा र खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा बिदेशमा छन् ।

पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी हुन उनीहरु सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँगै १३ फागुनमा विदेश भ्रमणमा गएका उद्योग, वाणिज्य, भुमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिएका छन् । उनीहरु स्पेन, फ्रान्स, पोर्चुगलसहित ५ देशको भ्रमणपछि स्वदेश फर्किनेछन् ।

‘उहाँहरु एकदुई दिनमै आउनु हुन्छ’, उनले भने । कांग्रेस संसदीय दलका नेता लामा फर्किए लगत्तै बागमतीमा कांग्रेसले छलफल गरेर निर्णय लिने मन्त्री चित्रकारको भनाइ छ । प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?