+
+

‘सुसाइड नोट’ सालिनकै भएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १८:३८

२२ फागुन, काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले अनलाइनखबरलाई बताए । उनले भने, ‘यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवन पुगिसकेको छ ।’

सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो ।

पोखरेलको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु झुण्डिएका कारण भएको देखिएको प्रहरीको भनाइ छ ।

किशोरीको परिवारका सदस्यले बलात्कार भएको आशंका गरेपछि प्रहरीले यसमा पीडितको संवेदनशील अंगको पनि जाँच गरेको थियो । तर, त्यस्तो कुनै संकेत नदेखिएको रिपोर्टमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी श्रीराम भण्डारी बताउँछन् ।

उनका बुबा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरेलबीच सम्बन्ध विच्छेद भएपछि सालिन रत्ननगर नगरपालिका–१५, माधवपुरमा रहेको मामाघरमा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनलाई मावलीले विद्यालयको होस्टलमा राखिदिएका थिए ।

घटनापछि चितवन पुगेका सालिनका बाबु दीपेन्द्रले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । त्यसपछि विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेल पक्राउ परेका थिए ।

उनीहरु तीनै जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?