+
+

रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारले मागे लालपुर्जा र रोजगारी 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १४:१३

२४ फागुन, गुल्मी । गुल्मीको रेसुङ्‍गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायत समस्या समाधान गर्न माग गरेका छन् । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरिएको थियो ।

विमानस्थल निर्माण क्रममा विस्थापित भएका घर परिवारलाई प्रदान गरिएको जग्गाको लालपुर्जा उनीहरूले हालसम्म पनि पाएका छैनन् । लालपुर्जा, रोजगारी लगायतका माग गर्दैै विमानस्थलबाट विस्थापित संघर्ष समितिले रेसुङ्‍गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीसँग ज्ञापन पत्र बुझाएका छन् ।

गुल्मीको रेसुङ्‍गा नगरपालिका–१० मा रहेको रेसुङ्‍गा विमानस्थलमा गत वैशाखदेखि नियमित उडान हुँदै आएको छ ।

विमानस्थलबाट नियमित उडान भएपनि विस्थापित परिवारले विमानस्थल निर्माण समितिले निर्माणको क्रममा देखाएको प्रलोभन पूरा नगरेको स्थानीय रेनुकला अयालले बताइन् ।

उनले हालसम्म लालपुर्जा पनि नआएको रोजगारी पनि नदिएको दुखेसो गरिन् । विकास भएपनि भएभरको घरसम्पत्ति छोडेर सुकुमबासी बनेर जग्गा दिएर अहिले विभिन्न समस्या हुँदा निर्माण समितिले ध्यान नदिएको बताइन् ।

उनले विमानस्थल निर्माणका लागि घर सहित १४ रोपनी जग्गा उपलब्ध गराएकी थिइन् । संघर्ष समितिले नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवार बसोवास गरेको जग्गाको लालपुर्जा दिने, स्थानीयलाई रोजगारी दिने, खानेपानी, विद्युत् लगायत निःशुल्क उपलब्ध गराउने निर्माण समितिले भनेपनि हालसम केहि पनि सुनुवाई नभएको उल्लेख छ।

त्यस्तै विमानस्थल निर्माण गर्ने क्रममा विस्थापित परिवारका एक घरका एक सदस्यलाई रोजगारी दिने भनिए पनि हालसम्म रोजगारी नदिएको स्थानीय कमला पुन गुनासो गरिन् ।

विस्थापित व्यक्तिहरु बसेको ठाउँमा विमानस्थल निर्माणको क्रममा बनाइएको ढलले केही घरहरु जोखिखमा परेको बताएका छन् ।

चक्र पथ सहितको बाटोको स्तरोन्नति, खानेपानीको व्यवस्था, विमानस्थल निर्माण गर्दा भत्काइएको मन्दिरको पुनः निर्माण लगायत माग विमानस्थल निर्माणका विस्थापित परिवारको रहेको छ ।

विमानस्थल सार्वजनिक र निजी गरी कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणको क्रममा गरिएका प्रतिवद्धताहरु पूरा नभएको भन्दै उनीहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विभिन्न माग सहितको ज्ञापन पत्र बुझदै रेसुङ्‍गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले निर्माण समितिले के कसरी सम्झौता गरेर हटाएको भन्ने बारे अध्ययन गरेर अगाडि बढने बताए ।

विमानस्थल निर्माण कार्य सम्पन्न भएर नियमित उडान भइसकेपछि विस्थापित परिवारको समस्याबारे कसैले ध्यान नदिइएको पन्थीले गुनासो गरे ।

उनले विस्थापित परिवारको समस्या समधानमा नगरपालिका गम्भीर रहेको बताए । निर्माण समितिले तत्कालीन समयमा विभिन्न आशाहरु देखाएर निकै सस्तो मूल्यमा जग्गाको मूल्यांकन गरेर विमानस्थलबाट हटाएको थियो ।

रेसुङ्‍गा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले विस्थापित परिवारलाई खुसी पारेर जग्गा अतिक्रमण गरिएको बताए । लालपुर्जा दिने र रोजगारी लगायतका कुराहरु राखिएको उनले बताए ।

लालपुर्जा दिनको लागि भूमि आयोगबाट प्रक्रिया अगाडि बढिसकेको पन्तले बताए । अन्य कुराहरु उनीहरुसँग गरिएको सम्झौता हेरेर मात्रै भन्न सकिने पन्तको भनाइ छ ।

२०६३ सालमा तत्कालीन संस्कृति पर्यटनमन्त्री प्रदीप ज्ञवालीले रेसुङ्‍गा विमानस्थलको निर्माणको काम थालनी गरिए पनि २०७२ पछि मात्रै निर्माणले गति लिएको थियो ।

करिब एक दशक लामो निर्माण कार्यपछि मात्रै गएको वैशाखदेखि नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक हप्ताको बुधबार र शुक्रबार नियमित उडान गर्दै आएको छ ।

नियमित उडानसँगै काठमाडौं आउ–जाउ गर्न सहज भएको छ । अहिले गुल्मीबाट जहाजमा ४५ मिनेटमा काठमाडौं पुग्न सकिन्छ ।

रेसुङ्‍गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । यहाँबाट १८ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ । विमानस्थल निर्माणमा ३५ करोड बढी खर्च भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?