+
+

अनलाइनखबरले सार्वजनिक गर्‍यो ‘५०  प्रभावशाली महिला’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते ९:४४

२५ फागुन, काठमाडौं । ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अनलाइनखबर डटकमले नेपालका ‘५०  प्रभावशाली महिला’को सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमुलक ५० महिलाहरु छन् ।

अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको प्रारम्भिक सूची तयार गरेको थियो । यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो ।

यसरी तयार भएको १५० माथिको सूचीलाई अनलाइनखबरको समाचार कक्षले विभिन्न विधा (राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा) र स्पष्ट मापदण्ड तय गरी विवेकसम्मत तरिकाले १०० मा झारेको थियो ।

अनि तयार भएको १०० जनाको सूचीलाई स्वतन्त्र जुरीसमक्ष प्रस्तुत गरेको थियो । ८ फागुन २०८० मा बसेको जुरीको निर्णय बमोजिम ५० जनाको नाम छनोट गरिएको हो ।

यसरी अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा, पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए ।

जुरीले ५० जनाको नाम छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा कसैले अनिच्छा देखाएमा वैकल्पिक सूचीका नाम मध्येबाट छनोट गर्न पाउने गरी ५ जनाको वैकल्पिक सूची पनि छनोट गरेको थियो । जुरीले छनोट गरेका ५० जनामध्ये २ जनालाई हामीले सम्पर्क गर्न सकेनौं भने एक जनाले आफ्नो अनिच्छा जाहेर गरेकी थिइन् ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५०  प्रभावशाली महिला’ छनौटको उद्देश्य हो ।

‘नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिँदै समाजमा केही भइरहेको छ र थुप्रैले आ-आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । यो सूची त्यसैको एक प्रतिविम्ब हो,’ अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँलेले भने ।

५० प्रभावशाली महिला छनोटका लागि विभिन्न मापदण्ड बनाइएको थियो । ती मापदण्ड यस्ता छन्–

१. पछिल्ला एक वर्षमा समाज रूपान्तरणका लागि विशिष्ट काम गरेका महिला । (पहिलो पटक भएकाले यो भन्दा अगाडिको पृष्ठभूमि पनि छनौटको आधार बन्न सक्छ ।)

२. समाजलाई प्रोत्साहन गरिरहेका, आफ्नो कर्म/सोचद्वारा प्रेरित र तरङ्गित गरिरहेका, जसको कथाले समाजको उल्लेख्य हिस्सालाई ठूलो मात्रामा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता महिला ।

३. कुनै खास क्षेत्रमा उल्लेखनीय काम र निरन्तर संघर्षद्वारा समाज र समुदायमा अद्वितीय/विशिष्ट योगदानकर्ता महिला ।

४. प्रचलित कुरीति र हानिकारक परम्परागत मान्यतालाई चुनौती दिएर समाजलाई लाभ पुर्याएका महिला ।

५. समाजमा इन्नोभेटिभ आइडिया दिएका, असल अभ्यासकर्ता जसको योग्य कामले पनि मूलप्रवाहको ध्यानाकर्षण गर्न सकेको छैन, त्यस्ता महिला ।

६ नेपाली समाजको विविधता झल्किने, उमेर र भूगोल समेतलाई ख्याल गरेर छनौटमा परेका महिला ।

अनलाइनखबर डटकमले थालेको यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो ।

यो हाम्रो पहिलो प्रयास हो, जहाँ कतिपय प्रयासका बीच महत्वपूर्ण योगदानकर्ता महिलाहरू छुट्न पुग्नुभएको छ । कतिपय व्यक्तिसमक्ष हामी समयमै पुग्ने कोसिस गर्दा पनि उहाँहरूको अनुपलब्धता आदिका कारण पुग्न सकेनौं ।

संरचनागत लाभांशमा छुटेका थुप्रै महिला, जो आफ्नो योगदान र संघर्षका बीच पनि यस सूचीमा अटाउन सकेनन्, उनीहरूका योगदानहरू यसपल्टको सूचीमा समेट्न नसकिए पनि तिनको महत्व अवश्य कम छैन ।

हामी प्रत्येक संघर्षशील महिलाले खेलेको भूमिकाको कदर पनि गर्न चाहन्छौं । हाम्रा समाचार सामग्री, वैचारिक आलेख, अन्तर्वार्ता इत्यादिमा त्यस्ता नामहरू आगामी दिनमा पनि समेटिंदै जानेछन् । हामी यसमा रचनात्मक सुझाव, प्रतिक्रिया, आलोचनाहरूलाई खुला स्वागत गर्नेछौं ।

अनलाइनखबरको ५० प्रभावशाली महिलाको खोजी सूची आगामी वर्षहरूमा पनि जारी रहनेछ । समानता र सहअस्तित्वको यात्रामा सँगै अघि बढौं, ताकि हाम्रा हरेक दिनहरू ८ मार्च बन्न सकुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?