+
+

सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

सरकारमा जानैपर्ने अवस्थाबारे स्वर्णिमको ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते २०:४१
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको फाइल तस्वीर

२८ फागुन, काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए ।

‘शत प्रतिशत सन्तुष्टि र स्वीकार्यता कहीँ पनि हुँदैन । अलि अलि असन्तुष्टि गर्ने कुरालाई सकारात्मक नै लिन्छौं’, उनले अनलाइनखबरसँग भने, ‘सरकारमा जान नहुने मत लगभग थिएन । छलफल गरेर निर्णय गरेको भए हुन्थियो भन्ने मत थिए ।’

उपसभापति स्वर्णिम वाग्लेले सरकारमा जाने निर्णय सुविचारित भएको जवाफ दिएका थिए । उनले सरकारमा जानुपर्नाको कारण लामो व्याख्यासहित केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए । वाग्लेले सन् १९९६ को भारतको राजनीतिको प्रसंग उठाउँदै सरकारमा सहभागिता ठीक भएको बताएका थिए । ‘चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन’, उनले भनेका थिए ।

महामन्त्री मुकुल ढकालले सरकारमा सहभागिताको क्रममा राजनीतिक गतिविधि तीव्र गतिमा विकास भएकाले छलफल हुन नसकेको स्पष्टीकरण दिएका थिए ।

‘राजनीतिक घटनाक्रम यसरी विकास भयो कि सबैसँग परामर्श लिन बैठक गर्न भ्याइएन’, बैठकमा ढकालले भने । पार्टीको सचिवालय बैठकले सरकारमा जाने निर्णय लिनका लागि सभापति रवि लामिछानेलाई सर्वाधिकार दिइएको पनि उनले बताएका थिए ।

२०८४ सालको आम चुनावलाई मिसन बनाएको दलले त्यसअघि केही काम गरेर सन्देश दिनुपर्ने भएकाले सरकारमा गएको नेताहरुको तर्क थियो ।

केन्द्रीय सदस्य अनिलकेशरी शाहले रास्वपाले पाएका सबै मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएका र काम गरेर देखाउन सकिने खालका भएको बैठकमा बताए ।

‘यसलाई अवसरका रुपमा लिनुपर्दछ । प्रभावकारिता देखाउन सकिने मन्त्रालय रास्वपाले पाएको छ’, बैठकमा शाहको भनाइ उधृत गर्दै एक नेताले भने, ‘बाहिर रहेका हामीहरुले साथ दिन्छौं ।’

अर्का केन्द्रीय सदस्य गणेश पराजुलीले अब रास्वपा जवाफ दिने ठाउँमा पुगेको बताए । उनले बैठकमा भनेका थिए, ‘हिजो प्रतिपक्ष हुँदा हामीले सत्ता पक्षलाई प्रश्न गर्‍यौं । हाम्रो भूमिका जवाफ दिनेमा फेरिएको छ ।’

सरकारमा सहभागिता ऐतिहासिक अवसर भएकाले सबैले सहयोग गर्ने र सफल बनाउन सिंगो केन्द्रीय समिति एकढिक्का रहेर निणएय गरिएको महामन्त्री ढकालले जानकारी गराए ।

बैठकमा उपनिर्वाचनको बारेमा पनि छलफल भएको छ । इलाम–२ को उपनिर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने निर्णय रास्ववाले गरेको छ ।

१५ वैशाखमा प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ (१) मा निर्वाचन हुन लागेको छ । प्रदेश सभातर्फ बझाङमा रास्वपाले भाग नलिने निर्णय गरिएको महामन्त्री ढकालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?