+
+

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ८:५४

३० फागुन, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।

पवित्रता र पूण्यको पर्व

मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ ।

यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब-दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित । त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।

रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ ।

रमजानको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले यो पर्वले मुुलुकको आन्तरिक राष्ट्रियता सुदृढ र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत् आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सदैव प्रतिबद्ध रहेको उल्लेखसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?