
माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा एक युवकले न्याय मागिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनीसँग अझै विश्वास छ, माओवादी केन्द्र भुइँमान्छेको कुरा सुन्ने पार्टी हो ।
वैदेशिक रोजगारीबाट फर्किएका सिन्धुलीका ती युवकको जीवन बर्बादी माओवादीकै नेतासँग जोडिएकाले पनि उनी माओवादी केन्द्रकै पार्टी कार्यालयमा निवेदन लिएर पुगेका रहेछन् ।
ती युवकले आफ्नो पीडा सुनाइरहेका छन्, ‘मैले जुन परिवारका निम्ति ५५ डिग्रीको तातो सहेर विदेशमा काम गरे, यहाँ सबै बर्वाद भयो ।’
भविष्य सुरक्षित गर्न विदेश गएका ती युवकको पत्नीसँग बागमती प्रदेशकै एक माओवादी नेताले सम्बन्ध बनाए । यस्तो सूचना पाए पछि स्वेदश फर्किएका उनलाई आफ्नी पत्नीसँग सम्बन्ध बनाउने ती माओवादी नेताले (जो जनप्रतिनिधि समेत छन्) कुटपिट गरे ।
नाबालिग छोरी र आफूलाई मार्ने धम्की दिइएपछि ती युवक माओवादी केन्द्रकै कार्यालयमा न्यायको आशा लिएर पुगेका छन् । तर आफ्नो सम्पत्ति र छोरीको सुरक्षा माग दुई वर्षदेखि गरिरहेका छन् ।
सरकारी अड्डा र पार्टीका नेताहरुसँग गरिरहेको अनुनय सुनुवाइ नभए अनशनकै चेतावनी दिइरहेका छन् ।
उनको कुरा सुन्ने कसैले न्याय पाउनु हुन्न भनेका छैनन्, तर न्याय पाएका पनि छैनन् । तैपनि हामीजस्ता भुइँमान्छेलाई न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्दै यो पार्टीप्रति अगाध विश्वास र दृढता दोहोर्याइरहेका छन् ।
तर ती युवकले हिजो सोचेको जस्तो माओवादी आज छैन । जसले उनको श्रीमतीसहित सम्पत्ति हडप्न जालसाजी कागज बनाएको छ, उनलाई घर आँगनमा गएर निर्घात कुटेको छ, उनी र नावालिग छोरीलाई मार्ने धम्की दिइएको छ । अनि ती पीडक पार्टीकै शक्ति र राजकीय पदमा छ ।
न्याय दिने ठाउँमा निकै बलियो बनेर पीडक नै ढस्समस्स बसेको छ । निर्भीकतापूर्वक ती युवालाई गिज्याउँदै, तर्साउँदै हिँडेको छ । भुइँमान्छेको न्यायका लागि जीवनमरण लडेका धेरै माओवादी नेताहरू आज त्यही भुइँमान्छेको पीडामा प्रतिक्रियाविहीन, संवेदनहीन जस्तै बनेका छन् ।
संघमा माओवादी नेतृत्वको सरकार छ । प्रदेशहरूमा कतै नेतृत्व नै त कतै सहभागिता सहितका सरकार छन् । एक सय २० जति पालिकामा त माओवादीका प्रमुख वा अध्यक्ष नै छन् । हजार वडाअध्यक्ष छन् ।
तर भुइँमान्छेहरूको न्याय हराएको छ । सामाजिक हिंसा र ब्यभिचारीविरुद्ध लड्नु त कता हो कता, सम्पत्तिको र बाहुबलको प्रभाव हेरेर व्यभिचारीलाई नै पार्टी र सरकारी तहको जिम्मेवारीमा लगिएको छ ।
लघुवित्त र सहकारी पीडितले न्यायको हारगुहार गरेको गर्यै छ । कतिले आत्महत्या नै गरिसके । सडक र विभिन्न कार्यालय धाउनु उनीहरूको दिनचर्या छ । फुटपाथमा सामान बेचेर जीविकोपार्जन गर्ने साना व्यापारीहरू काम र माम नखोसियोस् भन्दै आन्दोलित छन् ।
शोषित, पीडित र बहिष्कृतहरू न्यायका लागि सबैतिर भौंतारिइरहेको र तड्पिइरहेको अवस्था छ । सडकमा उठेका आवाजले सचेतहरूको मनमस्तिष्क हल्लाइदिएको छ । तर जसले यो पुकारलाई सुन्नु र जवाफ दिनुपर्ने हो, उनीहरुले आफ्नो कान बन्द गरेका छन् । कतिपयले मध्ययुगीन क्रूरता प्रदर्शन गरिरहेका छन् ।
इतिहासका अनुभव र एक्काइसौं शताब्दीको जनवादको विकासको कार्यान्वयनको त कुरै छाडौं, त्यसलाई व्यवहारतः उल्ट्याइएको छ ।
जनयुद्धकालमै पारित गरिएको यो विषय माओवादीको मात्र पुँजी थिएन, बरु समाजको वैज्ञानिक विकासको न्यायिक चिन्तन थियो । उत्पीडित, उपेक्षित वर्गको आन्दोलनलाई निरन्तर लैजाने दृढ प्रतिबद्धता थियो ।
त्यसमा लेखिएको छः ‘अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ता राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तीब्र र प्रबल बनेर जानेछ । त्यस खतराको तीब्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जानेछ । त्यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रुपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ ।
प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नका लागि दुई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यता अझै विकास गर्न जरुरी छ ।
यसका लागि पार्टीभित्र चल्ने दुई लाइन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने र निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्नु विशेष आवश्यक छ ।’
माओवादी पार्टीकै आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ मा स्पष्ट लेखिएको छः
‘‘जनताले आज हाम्रो पार्टी र अन्य पार्टीमा खासै भिन्नता देखिरहेको छैन । कमिशन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः साँस्कृतिक रुपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीति, संगठन र आचरणको तहबाट गम्भीर बहस–छलफलसहित साझा निश्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्ने योजनाबद्ध पहल गर्नुपर्छ ।’
यही दस्तावेजले साँस्कृतिक रुपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य शर्त हो भनेको छ । त्यसैले माओवादी स्वयं रुपान्तरण हुनुपर्ने र आफूलाई सच्याउनुपर्ने सन्दर्भ आज पहिलो प्राथमिकता र चुनौतीका रूपमा खडा भएको छ । अर्थात्, आफ्नो वर्ग पक्षधरतातिर दृढतापूर्वक उभिने चुनौती खडा भएको छ ।
समाजका र सडकका आम मुद्दालाई उपेक्षा गरेर होइन सही समाधान गरेर जान आफ्नै विगत संकल्पप्रति माओवादी जिम्मेवार हुनुपर्छ ।यथास्थितिलाई लात्तीले हान्ने र त्यसमा उथलपुथल गर्ने सन्दर्भ चुनाव जित्न, आफू वा आसेपासेलाई पद लिन–दिन होइन, समाजलाई रुपान्तरण गर्ने बोल्सेभिक क्रान्तिको जस्तै ध्येयका लागि खर्चिनुपर्छ ।
माओवादीलाई विश्वास गर्ने, तर माओवादीबाटै ती युवकमाथि भएको अन्यायलाई गम्भीरतापूर्वक लिएर र पीडकलाई बिना शर्त कार्वाही–जिम्मेवारीमुक्त गरेर भुइँमान्छेको विश्वास पक्रिन सक्दा नै जनताको मुद्दा बोक्ने पार्टी माओवादी मात्रै हो भन्ने विश्वास जागृत हुन्छ ।
यसरी मात्रै वहुसंख्यक उत्पीडित जनताको भरोसाको केन्द्र फेरि माओवादी केन्द्र बन्नेछ ।
प्रतिक्रिया 4