+
+

दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते २१:४८

३० फागुन, जनकपुरधाम । क्रसर व्यवसायीबाट मारिएका युवक दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवारले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर परिवारका सदस्यहरुले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले शहीद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग गरेका छन् ।

घटनाका मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नआएकाले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने, दिलिपको हत्या भएको क्रसरसहित देशभरका अवैधानिक क्रसर उद्योग बन्द गराउनुपर्ने उनीहरुको माग छ ।

यस्तै चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐन बनाउन, दिलीपको परिवारलाई राहत र कम्तीमा परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री लामिछानेले मागहरुप्रति आफू सकारात्मक रहेको जवाफ दिएको दिलीपकी बहिनी लक्ष्मीकुमारी महतोले बताइन् ।

ज्ञापनपत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोइरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदीबहिनीहरु संगीता, लक्ष्मी, सिर्जना, भाइ ख्वाइस र भाञ्जा शुभम गृह मन्त्रालय पुगेका थिए ।

घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दा धनुषाको मिथिला नगरपालिका– ५ का दिलिप महतोको ५ पुस २०७६ मा टिपरले किचेर हत्या गरिएको थियो ।

यो मुद्दामा जिल्ला अदालत धनुषाले आरोपित ७ जनामध्ये ३ जनालाई दोषी ठहर गरेको छ । सरकारी वकिलले दिएको पुनरावेदनमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?