+
+
ब्लग :

आफ्नै आँखा-कानले देख्नु-सुन्नुभयो ? तर नपत्याउनुस् !

डिपफेकको जमानामा असत्यलाई पनि सत्यको मुखौटा लगाइदिन सकिने भइसकेपछि, के झुटो र के साँचो भन्ने कुरा छुट्याउन अब पहिला जस्तो सरल रहेन।

सारांश पाण्डे सारांश पाण्डे
२०८० चैत १ गते १४:४२

यदि परिवर्तन मात्रै मानव जीवनको एक्लो स्थायी सत्य हो भने त्यसले सत्यको प्रभुत्व, जोसको परिभाषा नै अपरिवर्तनीयसँग जोडिने गरिन्छ, त्यसलाई कसरी असर गर्छ? सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघले प्लुटोलाई ग्रहबाट बौना ग्रहमा पुन: वर्गीकृत गर्‍यो। सन् २००६ अगाडि जुन तथ्यलाई विज्ञानका प्रश्नपत्र र पुस्तकहरूले सत्य मानी उद्धृत गर्थे, त्यही अहिले गलत ठहरिन्छ।

यसको मतलब यो हैन कि पहिला स्वीकार गरिएको तथ्य नै गलत थियो। केवल यो मात्र हो कि नयाँ मापदण्ड अनुसार तथ्य र फलस्वरूप ‘सत्य’, समयसँगै फेरिन पुग्यो। यदि विज्ञान जस्तो वस्तुपरक विधामा त सत्य अपरिवर्तनीय हुँदैन भने कुनै व्यक्तिपरक विश्लेषण र अनुभवमा प्रयोग गरिने ‘सत्य’मा कतिको लचकता निहित हुन्छ होला?

हालको सामाजिक परिस्थितिलाई नियाल्ने हो भने अक्सफोर्ड डिक्सनरीले सन् २०१६ मा छनोट गरेको ‘वर्ड अफ द इयर’ पोस्ट-ट्रुथ अहिले झन्–झन् उपयुक्त हुँदै गइरहेको देखिन्छ। डिपफेकको जमानामा असत्यलाई पनि सत्यको मुखौटा लगाइदिन सकिने भइसकेपछि, के झुटो र के साँचो भन्ने कुरा छुट्याउन अब पहिला जस्तो सरल रहेन।

यदि आफ्नै आँखाले देखेको र कानले सुनेको कुरालाई पनि पत्याउन नमिल्ने हो भने, आखिर व्यक्तिगत जीवनमा सत्य निर्धारणको नयाँ मापदण्ड के? चलिआएको सत्य निर्धारण प्रक्रियामा कमजोरी देखिएकाले एक प्रकारको अन्योल छाएको छ। तर सायद यो एउटा अवसर पनि हो जसबाट हामीले ‘सत्य’को सामाजिक व्याख्या र त्यसले तर्क निर्माणमा खेल्ने भूमिकाको बारे केही जरुरी आत्मसमीक्षा गर्न सक्छौं।

पहिला चर्चा गरौं मानव स्वभाव बारेमा। के हामी मनुष्य जाति साँच्चिकै नै हर अवस्थामा तर्कसंगत रूपले कुनै परिस्थितिको व्याख्या गर्न सक्छौं? कि हाम्रा धारणाहरूलाई निजी अनुभव र त्यसबाट नि:सृत भावनाले डोर्‍याइरहेको हुन्छ?

कान्टियनको दृष्टिकोण अनुसार यो संसार बारे हाम्रा धारणा मूलत: अनुभवात्मक हुन्छन्। भन्नाले हामीले जे चिजलाई वास्तविक मानेका हुन्छौं ती खासमा हाम्रा व्यक्तिपरक अनुभवले निर्धारण गरेको हुन्छ। र त्यसरी निर्धारण गरिने सत्यले केवल फेनोमेनल रियालिटीलाई चित्रण गर्छ।

उदाहरणको लागि, यदि कोही व्यक्ति शहर ‘क’ जान्छ र आफू अहिलेसम्म नपरेको लामो ट्राफिक जाममा पर्छ भने उसको नजरमा शहर ‘क’ धेरै ट्राफिक हुने शहर ठहरिन्छ। जब उसले यो अनुभव आफ्नो साथीहरूसमक्ष पेश गर्छ, त्यो तथ्यगत हिसाबले सही नै हुन्छ। लामो ट्राफिकमा त उ परेकै हो नि !

तर तथ्यगत हिसाबले के पनि सही हुनसक्छ कि, कुनै अर्को हप्ता त्यही दिन त्यही शहरमा त्यही टाइममा कोही अर्को व्यक्ति जाँदा त्यहाँ न्यून ट्राफिक होस्। यदि यी अनुभवहरूलाई दाँज्ने हो भने, दुवै निष्कर्ष छुट्टै भएतापनि सही नै हुन्छन्। तर यीमध्ये कुनै पनि एक अनुभवलाई लिएर त्यस शहरको ट्राफिक अवस्थाको ‘सत्य’ बारे धारणा निर्माण गर्नु सम्भवत: भ्रामक हुन्छ।

६० को दशकमा संज्ञानात्मक मनोवैज्ञानिक पिटर क्याथकार्ट वासनले गरेका केही परीक्षणको शृंखलाले के देखाउँछ भने मान्छेले प्राय: त्यही सूचना ग्रहण गर्छ जुन उसको विद्यमान विश्वाससँग मिलेको हुन्छ। यसलाई कन्फर्मेसन बायस भनिन्छ। भएका सूचनाहरू मध्ये आफूलाई अनुकूल हुने सूचना मात्रै ग्रहण गर्दा, प्राय:ले ती सूचना बेवास्ता गर्छन् जसले वैकल्पिक तर्कलाई मजबुत तुल्याइरहेको हुन्छ।

यसमा थप जटिलता तब आउँछ जब हामी एकअर्काप्रतिको निर्भरतालाई नजरअन्दाज गर्छौं। युवल नोवा हरारीले आफ्नो किताब ‘ट्वेन्टी वन लेसन्स फर द ट्वेन्टी फर्स्ट सेन्चुरी’ मा एउटा विचारणीय कुरा उद्धृत गरेका छन्– ‘हामीलाई लाग्छ कि हामी धेरै जान्दछौं, जबकि व्यक्तिगत रूपमा हामीलाई धेरै कम थाहा हुन्छ। यो यस कारणले हो, किनभने हामीले अरुको दिमागमा भएको ज्ञानलाई आफ्नै जसरी प्रस्तुत गरिरहेका हुन्छौं।’ सलोमन र फर्नबाखले यो प्रवृत्तिलाई ‘इलुजन अफ इक्प्लानेसनरी डेप्ट’ भनेका छन्।

सहकार्य समाजमा बस्ने हर मान्छेको स्वाभाविक गुण र आवश्यकता हो। हामीले जिन्दगीमा कैयौं निर्णय लिने बेला अर्काको अभिव्यक्ति, अनुभव वा विशेषज्ञतामा निर्भर हुनै पर्ने हुन्छ। अरुबाट सिक्ने प्रक्रियामा पाएको सूचनाको हकमा पनि यो लागू हुन्छ। तर जब हामी कोही अरुले दिएको सूचनामा विना शर्त निर्भर हुन्छौं र त्यसलाई नै प्रमाणको रूपमा लिएर आफ्नो सत्य निर्धारण गर्छौं, तब समस्या उत्पन्न हुन्छ।

सकेसम्म बढी अनुभवहरू समाविष्ट भएको एउटा रेप्रेजेन्टेटिभ अध्ययनको निष्कर्षलाई चाहिं आधार मानेर केही चिज बारे प्रक्षेपण गर्दा, मापन गरिएको तथ्य, सत्यको नजिक पुग्ने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ। तर त्यो भन्दैमा कुनै पनि केन्द्रीय प्रवृत्तिको मापन सबै सरोकारवालाहरूका लागि उत्तिकै सान्दर्भिक र सही हुन्छ भन्ने चाहिं हैन।

एउटा देशको उदाहरण लिऔं, जसले पछिल्ला केही वर्षहरूमा राम्रो आर्थिक वृद्धि हासिल गर्न सकेको छ। त्यस देशमा आर्थिक वृद्धि भइरहेको छ भन्ने कुरा तथ्यांकको हिसाबले निर्विवादित हो। तर त्यो तथ्यसंगत औसत आर्थिक विकासको सत्यले त्यही देशको एउटा गरिब नागरिकको निजी जीवनमा के अर्थ राख्छ यदि उसले भनिएकै सो अवधिमा गुजारा चलाउन एउटा जागिरदेखि अर्को जागिर विना तलब वृद्धि सरिरहन परेको थियो?

आर्थिक उन्नतिको तथ्यले कहिलेकाहीं सीमान्तीकृत वर्गको निजी सत्यलाई ओगट्न सकेको हुँदैन। सामाजिक विज्ञानको परिधि भित्र गरिएको कुनै पनि अध्ययनमा यस्ता बाहिरिया (आउटलाइयर) ग्रुपहरू हुन्छन् जसको निम्ति केन्द्रीय प्रवृत्तिको मापन- जसले औसत नतिजा दिन्छ- खासै अर्थपूर्ण हुँदैन। यो समूहमा पर्नेले आफ्नो निजी अनुभवलाई केन्द्रमा राखी सत्य बारे धारणा निर्माण गर्ने गर्छन्। जुन चाहिं स्वाभाविक हो।

यसमा हामीले कन्फर्मेसन बायसको अवधारणा जोड्यौं भने किन कसै कसैलाई चुनाव नजिक कुनै उम्मेदवारले दिएको वचन तथ्यसंगत लाग्ने र कसैलाई बेकार लाग्ने भन्ने कुरा बुझ्न सक्छौं। जुन समूहको अनुभव औसत तथ्य भन्दा टाढा हुन्छ, त्यो समूहलाई भावनात्मक अभिव्यक्तिले बढी तान्दछ।

गलत धारणा अँगाल्ने प्रवृत्ति सुरु हुन्छ निर्भरताबाट। तर अस्तित्वको एक विरोधाभास के हो भने, निर्भरता विना सामाजिक जीवन सम्भव छैन। अस्पताल गएपछि हामी चिकित्सकमाथि निर्भर हुनुपर्छ। घर बनाउँदा इन्जिनियर, मजदुर र अन्य मान्छेहरूको आवश्यकता हुन्छ।

यही निर्भरता, जुन हाम्रो भौतिक समस्याहरूको वैज्ञानिक समाधान निकाल्ने प्रक्रियाबाट नि:सृत हुन्छ, यसलाई हामीले व्यक्तिपरक विचारमा आधारित अन्तरक्रियामा प्रयोग गर्‍यौं भने यसले समाजमा तिक्तता र द्वन्द्व निम्त्याउने खतरा हुन्छ। तिक्तता र द्वन्द्व यसै पनि नहुने होइन। तर जब हामी सत्यको लागि भनेर लड्छौं तर सत्य नभई भ्रमको संरक्षण गर्न पुग्छौं, तब त्यो लडाइँको औचित्य बारेमा आफूलाई प्रश्न गर्नुपर्ने हुन्छ।

कैयौं परिस्थितिमा के देखिन्छ भने, एउटा मानिस अर्काको अनुभवमा आधारित तथ्यलाई सत्य मानी त्यसको निम्ति मर्न र मार्न समेत तयार हुन्छन्।हामीले यो कुरा स्वीकार्नुपर्छ कि सत्य एक प्रक्रिया हो। र सत्यसम्म पुग्न सोचे जस्तो सजिलो हुँदैन, खासगरी अहिलेको संसारमा। आर्टिफिसियल इन्टेलिजेन्सले सतही अवलोकनबाट ठम्याइने र दैनिक जीवनमा प्रयोग गरिने ‘सत्य’को त्रुटिहरू छर्लङ्ग परिदिएको छ।

यी त्रुटिहरू अस्वीकार गर्ने हो भने सत्यप्रतिको आस्था पनि एक प्रकारको अन्धविश्वास नै हुनेछ। आफूलाई अनुकूल हुने सूचना लिनु स्वाभाविक हो, यस लेखमा पनि त्यो उपस्थित छ। तर यदि हामीले आफ्नो ‘सत्य’मा निहित हुने कमजोरीहरू स्वीकार गर्‍यौं भने सायद बल्ल अर्को पक्षको सुनुवाइ हुन सम्भव हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?