
१ चैत, काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम तय गर्न बनेको कार्यदलको बैठक भोलि पुनः बस्ने भएको छ । बिहीबार अर्थमन्त्रालयमा बसेको बैठक अनौपचारिक रूपमा छलफल गरी भोलि पुनः बस्ने गरी सकिएको हो ।
अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि कार्यदलको बैठक अनौपचारिक रूपमा मात्रै बसेर सरेको हो ।
‘अर्थमन्त्री संसदमा व्यस्त रहेका कारण कार्यदलको बैठक औपचारिक रूपमा बसेन । अनौपचारिक रूपमा छलफल गरेर भोलि पुनः बैठक बस्ने निर्णय गरिएको छ’, कार्यदल सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले भने, ‘शुक्रबार बिहान ९ बजे बैठक बसेर मस्यौदलाई अन्तिम रूप दिने निर्णय भएको छ ।’
नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।
प्रतिक्रिया 4