+
+

रविको एक्सन प्लान : ‘सीआईबीको छानबिनमा गम्भीर त्रुटि छ, सुन तस्करीको पुनः छानबिन गराउँछु’

बसन्त बस्नेत गौरव पोखरेल बसन्त बस्नेत, गौरव पोखरेल
२०८० चैत १ गते २१:१६

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको छानबिनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालेका छन् । उनले सुन तस्करी प्रकरण फेरि छानबिन गराउने बताएका छन् ।

‘अनुसन्धानका क्रममा गम्भीर त्रुटि भएको रिपोर्ट पढ्दा छर्लंग हुन्छ, गहिरो ढंगले अनुसन्धान गर्नुपर्नेलाई सहजै उन्मुक्ति दिएको, कतिपयलाई मुद्दा नै चलाउन नखोजेको समेत स्पष्ट देखिन्छ’, गृहमन्त्री लामिछानेले अनलाइनखबरसँग भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई यी सबै कुरा जानकारी गराएको छु । म यो प्रकरणको पुनः छानबिन गराउँछु ।’

सुन तस्करी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित जाँचबुझ आयोगबाट बिहीबार प्राप्त ४८५ पृष्ठ लामो प्रतिवेदन पढेसँगै गृहमन्त्री रवि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

आधा घन्टा प्रधानमन्त्रीसँग एक्लाएक्लै कुरा गरेका गृहमन्त्रीले आफ्नो सम्भावित कारबाहीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले आफूलाई जाँचबुझ आयोगको प्रतिवेदन अनुसार निर्धक्क अघि बढ्न भनेको उनले सुनाए ।

‘निर्दोषहरु नफसुन्, बाँकी तपाईं आफ्नो योजना अनुसार अघि बढ्नुहोस्,’ प्रधानमन्त्रीले आफूलाई भनेको उद्धृत गर्दै रविले सुनाए ।

बालुवाटारबाट फर्केलगत्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएर छलफल गरेका गृहमन्त्रीले तत्कालै एक्सनका लागि तयारी हालतमा रहन निर्देशन दिएका हुन् । बिहीबारै गृहमन्त्रीले गृहसचिव एकनारायण अर्याल लगायतसँग आफ्नो योजना सुनाउँदै आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार रविले शुक्रबार नै कतिपय बहालवाला उच्च पदस्थमाथि एक्सन लिनेछन् । त्यो एक्सन कोमाथि कुन प्रकारको हुनेछ भन्नेमा गृहमन्त्रीले विस्तृत खुलाउन मानेनन् । ‘कतिपय राजनीतिक व्यक्ति, कर्मचारी र सुरक्षा निकायको माथिल्लो तहमा रहेका व्यक्ति पनि त्यस एक्सन्मा पर्नेछन्,’ गृह स्रोतले भन्यो ।

१४ असोजमा गठित जाँचबुझ आयोगले इलेक्ट्रिक सिगरेट (भेप), ब्रेक प्याडमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको सुन तस्करी लगायतबारे छानबिन गर्ने जिम्मेवारी पाएको थियो । आयोगलाई प्रहरीले गरेको अनुसन्धानमा भएको त्रुटि औंल्याउने जिम्मेवारी समेत दिइएको थियो ।

प्रहरी अनुसन्धानमा शंका गर्दै त्यसबेला प्रतिपक्षमा रहेको नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि सरकार छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन तयार भएको थियो ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा १४ साउन २०८० मा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग प्रहरी उच्च अधिकृत, विचौलिया, सरकारी कर्मचारी लगायतको सम्पर्क र सम्बन्ध देखिएको थियो ।

तर, ब्यूरोले ती शंकास्पद व्यक्तिहरुमाथि गम्भीरतापूर्वक अनुसन्धान हुन नसकेको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष छ । कतिसम्म भने ब्यूरोले दावा छिरिङसँग निकट सम्बन्ध भएका जीवन चलाउनेलाई कार्यालयमा ल्याएर समेत छाडेको पाइएको समितिका सदस्यहरु बताउँछन् ।

चलाउनेलाई ब्यूरोमा लगेर बयान कागज गराएर छाडिएको पाइएको गृह मन्त्रालयका एक अधिकृत बताउँछन् ।अनुसन्धान अधिकृतभन्दा बाहिरको अधिकारीले कागज गराएर मिसिलमा संलग्न गराउन लगाएको पाइएको गृह स्रोतको दाबी छ ।

यद्यपि, यो विषय बाहिर सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले प्रतिवादी बनाउन निर्देशन दिएको स्रोतको दाबी छ । त्यसपछि पहिले ब्यूरोका अधिकृतहरुको सम्पर्कमा भएका चलाउनेलाई प्रतिवादी बनाइएको अधिकृतहरु बताउँछन् ।

जीवन चलाउने ।

चलाउनेले दावासँग सुन कारोबारबारे कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टबाट देखिएको थियो ।सीआईबीमा भएको डीएफएल रिपोर्टमा समावेश पत्रमा दावा छिरिङले चलाउनेसँग ‘सुन ल्याउने चिनियाँ समूहसँग विजनेस गर्ने’ प्रस्ताव गरेको विवरण छ । जवाफमा छिरिङले ‘हुन्छ दाइ, मैले सबै काम मिलाएको छु, दाइ’ भनेका छन् ।

दावाले चलाउनेको ह्वाट्सएपमा ‘यो महिना ८० किलो’ भन्दै सन्देश पठाएको पनि देखिन्छ । चलाउनेले उनलाई ‘दाइ, अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नुस्’ भनेर समेत म्यासेज गरेका छन् ।

ब्यूरोमा हाजिर भएका चलाउनेलाई छाडेको विषयमा आयोगले सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्य, डीएसपी दुर्गा दाहाल, रुगम कुँवर लगायतसँग बयान लिएको थियो ।

अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी राजश्व अनुसन्धान विभागमा हुँदा दावाले गरेको संवाद समेत डीएफएल रिपोर्टमा समावेश थियो ।

त्यसमा छावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क (ठूलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ)’ भनेका छन् । त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरु पठाएको फेला परेको थियो ।

पानी तान्ने मेसिनमा समेत लुकाएर सुन तस्करी भएको हुनसक्ने आशंका गरिएको थियो । तर, सीआईबीले उनीबारे पनि गम्भीरतापूर्वक अनुसन्धान नगरेको गृह स्रोतको दाबी छ ।

मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको पनि भनेका छन् । त्यसतर्फ पनि गम्भीरतापूर्वक अनुसन्धान नभएको सीआईबीमाथि आरोप छ । केसी पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साथी र साझेदार समेत हुन् ।

थप केही पूर्वप्रहरी उच्च अधिकृतसँग पनि दावाको सम्पर्क देखिएको थियो । तर, त्यसबारे पनि ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान गरेको नदेखिएको पाइएको आयोगका अधिकृतहरु बताउँछन् । आयोगका एक सदस्यले भने, ‘ब्यूरोबाट गम्भीर त्रुटि भएको देखिएको छ, त्यसका लागि विभागीय कारबाहीको सिफारिस गरेका छौं ।’

भेपमार्फत भएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख कृष्णबहादुर महराको समेत सम्बन्ध देखिएको थियो । उनका छोरा राहुल महरा व्यापक दबाबपछि पक्राउ समेत परेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार भएर बाहिरिएको ६० किलो सुन २ साउनमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । बा २ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुनसहितको ब्रेक प्याण्ड लैजान लाग्दा विभागले भन्सारबाहिरबाट गाडी नियन्त्रणमा लिएको थियो । जाँचका क्रममा त्यहाँभित्र सुन भएको पुष्टि भएको थियो ।

सुरुमा यसमा कम्तिमा ८० देखि १०० किलो सुन भएको विभागले दाबी गरेपनि पछि जाँच गर्दा ६० किलो सुन मात्र फेला परेको थियो । १९ दिनसम्म विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा दिइएको थियो ।

ब्यूरोले अनुसन्धान सकेपछि यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ब्यूरोका तत्कालीन डीआईजी यज्ञविनोद पोखरेलले बाहिर आएका नामहरुमाथि तत्काल अभियोजन गर्नुपर्ने अवस्था नरहेको प्रष्टीकरण दिएका थिए ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?