+
+

गठबन्धन फेरिएपछि समाजवादी मोर्चाको औचित्यमा प्रश्न

मोर्चाका नेताहरु मुलुकका प्रमुख कम्युनिस्ट पार्टी एकै ठाउँमा रहेकाले छुट्टै मोर्चाको आवश्यकता अब नरहेको बताउन थालेका छन् ।

दिपेश शाही दिपेश शाही
२०८० चैत २ गते ९:००

२ चैत, काठमाडौं । वामपन्थी पार्टीहरूले निर्माण गरेको समाजवादी मोर्चा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन बनाएसँगै संकटमा परेको छ ।

सडक, सदन र सरकार तीनै क्षेत्रबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गत असारमा समाजवादी मोर्चा बनाएका थिए ।

मोर्चाले ३ चैतमा काठमाडौंमा ‘नेपाली विशेषताको समाजवाद’ नामक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कार्यक्रम स्थगित भएको छ । मोर्चाको संयोजक रहेको नेकपाका नेता अनिल शर्मा तयारी नभएकाले कार्यक्रम नहुने सम्भावना रहेको बताउँछन् ।

‘हाम्रो पार्टीका महासचिव आन्तरिक कार्यक्रमका लागि कर्णालीतिर हुनुहुन्छ । म पनि बाहिर छु । अरूले तयारी गर्नु भएको छ भने हुन्छ होला, होइन भने अर्को मिति तोकिन्छ होला’, शर्माले अनलाइनखबरसँग भने ।

मोर्चाको १४ फागुनमा बसेको बैठकले ३ चैतमा ‘नेपाली विशेषताको समाजवाद’ कार्यक्रम गर्ने र सोही नाममा एउटा प्रकाशनको पनि सुरुवात गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले कार्यक्रम स्थगित भइसकेको बताए । ‘अहिलेलाई कार्यक्रम स्थगित भएको छ । बाँकी छलफल गरेर अघि बढ्ने होला’, गुरुङले अनलाइनखबरसँग भने ।

असारमा मोर्चा गठन भएयता दुई कार्यकाल निरन्तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्व गरेका थिए । आलोपालो प्रणाली बनाइएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्वमा भएकाले नेपालले नै दोहोरिएर नेतृत्व गरेका थिए । नेपालको कार्यकालमा मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गरेको थियो ।

गत ५ फागुनबाट नेकपाका महासचिव विप्लवले यसको नेतृत्व पाएका छन् । उनी नेतृत्वमा आएपछिको पहिलो कार्यक्रम नै ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकमा अन्तर्क्रिया गर्ने र सोही नामको प्रकाशन पनि सुरु गर्ने भन्ने थियो । तर यस बीचमा अकस्मात सत्ता गठबन्धनमा देखिएको फेरबदलले मोर्चाको कार्यक्रम नै अलपत्र परेको छ ।

एमालेसँगको गठबन्धनपछि मोर्चा संकटमा

असार पहिलो साता मोर्चाको घोषणा गर्दा चार दलले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना प्रमुख उद्देश्य रहेको बताएका थिए ।

यी उद्देश्य प्राप्तिका लागि मोर्चाले १५ बुँदे वैचारिक–राजनीतिक प्रतिबद्धता समेत सार्वजनिक गरेका थिए । जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै समाजवादको नेपाली बाटो तय गर्नेलगायतका उद्देश्य समेटिएका थिए ।

नेताहरूले जे भने पनि मोर्चाको मूल उद्देश्य भने त्यतिबेला गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेससँग बार्गेनिङ क्षमता बढाउनु थियो ।

पुरानो गठबन्धनमा कांग्रेससँग संसदमा ८८ सिट थियो भने मोर्चामा आवद्ध दलहरूसँगको सिट जोड्दा ५४ पुग्थ्यो । संसद बाहिर रहेको नेकपाले बेलाबेलामा सडकमा दबाबमूलक कार्यक्रम गरिरहन्थ्यो । मोर्चाका कारण प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आफ्नो शक्ति बढेको ठानेका थिए ।

बृहत्त वाम एकताको पक्षमा वकालत गरिरहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा घोषणा भएकै दिन यो सत्ता टिकाउने साधन हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

‘यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा नबनोस् । साँचो अर्थमा आमुल परिवर्तन गर्ने खालको बनोस् । यो मोर्चा सम्पूर्ण बामपन्थीलाई एकतावद्ध गर्ने मोर्चा बनोस्’, खनालले मोर्चाबारे टिप्पणी गरेका थिए, ‘यस्तो किसिमको समाजवादी मोर्चाको औचित्य छैन । पुँजीवादी शक्तिको काखमा बसेर हामीले कहिल्यै समाजवादी क्रान्ति गर्न सक्दैनौं ।’

एकीकृत समाजवादीका नेताहरु अहिलेकै अवस्थामा मोर्चाको औचित्य नहुने प्रतिक्रिया दिएका छन् । ‘एउटा परिस्थितिमा बनेको मोर्चा हो । अहिले पनि काम गर्न सक्दा त राम्रै हुन्छ, तर परिस्थिति नै नयाँ बनिसकेको छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । नयाँ गठबन्धन बनेपछि समाजवादी मोर्चाका विषयमा पनि नयाँ ढंगले सोच्नुपर्ने ती नेताको भनाइ छ ।

नेकपाका नेता अनिल शर्मा पनि यस तर्कसँग सहमत छन् । एमाले पनि देशको ठूलो कम्युनिस्ट पार्टी भएकाले उससँगै गठबन्धन बनाइरहँदा मोर्चामा ऊ नरहने कुरा उचित नदेखिने उनको भनाइ छ ।

यसबाहेक मोर्चामा जसपाको भूमिकामा पहिलेदेखि नै प्रश्न उठेको छ । अन्य दलले आयोजना गरेका मोर्चाको कार्यक्रममा सहभागी भए पनि जसपा र अध्यक्ष उपेन्द्र यादवले मोर्चाबारे खासै चासो नदेखाएको अरु पार्टीका नेताहरु बताउँछन् ।

मोर्चाले अन्य दलहरूसँग सहकार्यको प्रयास गर्ने उल्लेख गरेको थियो । तर गठन भएको नौ महिनासम्म अन्य दल समावेश भएका छैनन् ।

यद्यपि गत फागुनमा जिम्मेवारी पाएलगत्तै विप्लवले एमाले र नेकपा मसालका नेताहरुसँग छलफल गरेका नेता शर्माले बताए । एमालेबाट कुनै प्रतिक्रिया नआएको र मसालले सहमति जनाए पनि घोषणा नभएको उनको भनाइ छ ।

मोर्चाका नेताहरु भने मुलुकका प्रमुख कम्युनिस्ट पार्टी एकै ठाउँमा रहेकाले छुट्टै मोर्चाको आवश्यकता अब नरहेको बताउन थालेका छन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य थिएन । एमाले आउँदा त्यही औचित्यहीनताको विस्तार हुनेमात्रै हो’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?