
२ चैत, काठमाडौं । गणितलाई जीवनसँग जोड्न र गणित विषय गाह्रो हुन्छ भन्ने भाष्यलाई परिवर्तन गर्न दुई दिने सिर्जनात्मक प्रदर्शनी र कार्यशाला काठमाडौंमा सुरु भएको छ ।
बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर प्रदर्शनी तथा गणित सम्मेलन गरेको हो ।
विहीबारदेखि सुरु दुई दिने सम्मेलनमा विद्यार्थीहरूले गणित विषयसँग सम्बन्धित विषयमा निर्माण गरिएका सामग्रीहरुसहित जानकारी दिने गर्दछन् ।
स्कुलकी प्रिन्सिपल जुनिता कार्कीले विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न र गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइन् ।
गणित सम्मेलनले विद्यालय शिक्षामा गणितमा रूपान्तरण, प्रभावकारी सिकाई र गणितको महत्त्व उजागर गर्न मद्दत मिल्ने स्कुलका संस्थापक निर्देशक कुमार कार्कीले बताए ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक विनोद पन्तले गणित गाह्रो हुन्छ भन्ने अवधारणामा परिवर्तन ल्याउन गणितबारे छलफल, कलात्मक ढङ्गले सिक्ने र सिकाउने अभ्यास आवश्यक रहेको बताए ।
स्कुलले गत नै म्याथ पार्कको निर्माण गरेको थियो । त्यही पार्कमा पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा प्रदर्शनी तथा गणित सम्मेलन गरेको हो ।
प्रतिक्रिया 4