
२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका व्यवसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर दिएको स्वीकार गरेका छन् ।
चलाउनेले उच्चस्तरीय जाँचबुझ आयोग समक्ष २९ फागुन २०८० मा इमेलमार्फत पठाएको बयानमा सुबुलाई ३० हजार अमेरिकी डलर दिएको उल्लेख गरेका छन् ।
तर उनले उक्त रकम सुन कारोबार वापतको रकम नभई सापटी दिएको दाबी गरेका छन् । बयानको दोस्रोे बुँदामा चलाउनेले उल्लेख गरेका छन्, ‘सुबुप्रताप केसीलाई व्यक्तिगत रुपमा चिन्दिन तर निजलाई २०–३० हजार डलर तत्काल आवश्यकता पर्यो कुनै उपाय छ कि भनी पेम्बाले मलाई सोधेको हुँदा मैले मेरो चिनजानको साथीमार्फत ३० हजार डलर सापटी पठाइदिएको थिएँ ।’
चलाउनेले पेम्बालाई दावा छिरिङमार्फत चिनेको बताएका छन् । आफूलाई पैसा चाहिएका बेला पेम्बाले सहयोग गर्ने गरेको र पेम्बाले नै सुबुलाई सहयोग गर्नुपर्छ भनेपछि चिनजानका साथीमार्फत पैसा दिएको उनको दाबी छ ।
सुबु केसी र सुमन खरेल नाम गरेका व्यक्तिको खातामा रकम पठाएको पुष्टि हुने म्यासेज समेत दावाको मोबाइलमा भेटिएको थियो ।
पैसा पठाएको प्रमाणको फोटो खिचेर राखेको पनि चलाउनेले बयानमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4